खराब कर्जाको भूमरीमा फाइनान्स कम्पनी: औसत नै साढे १० प्रतिशत, कसरी बढ्यो अचाक्ली नाफा ? « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

खराब कर्जाको भूमरीमा फाइनान्स कम्पनी: औसत नै साढे १० प्रतिशत, कसरी बढ्यो अचाक्ली नाफा ?



काठमाडौं । फाइनान्स कम्पनीहरु झनझन खराब कर्जाको चेपुवामा देखिएका छन् । हाल कम्पनीहरुको औसत खराब कर्जा नै १०.५६ प्रतिशत छ ।

हाल संचालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा नाफामा व्यापाक रुपमा सुधार गरेको देखिएता पनि कम्पनीहरुको खराब कर्जा भने थप चुलिएको छ । अधिकांश कम्पनीहरुको खराब कर्जा नियन्त्रणभन्दा बाहिर देखिएको छ । कम्पनीको खराब कर्जा ३५ प्रतिशतसम्म पुगेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको पहिलो त्रैमासको तुलनामा तीन वटा फाइनान्सले मात्रै खराब कर्जा घटाएका छन् । तर, अन्य कम्पनीको भने बढेको देखिन्छ ।

गत आवको पहिलो त्रैमासमा फाइनान्स कम्पनीको औसत खराब कर्जा ६.३७ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ४.१९ प्रतिशत बिन्दुले वृद्धि भएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलताले पनि कम्पनीहरको खराब कर्जा चुलिदो छ । कम्पनीहरुको कर्जा समयमा उठ्न नसक नै कम्पनीहरुको खराब कर्जा बढ्को बताइन्छ । आर्थिक मन्दीकै कारण उपभोक्ता अर्थात् ऋणिको आम्दानीमा ह्रास आएको छ, त्यसले उनीहरुको ऋण तिर्ने क्षमता पनि घटेको छ, यसले पनि थप समस्या बनाइरहेको कम्पनीहरु बताउँछन् ।

समिक्षा अवधिमा ९ वटा कम्पनीहरुको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । सबैभन्दा धेरै जानकी फाइनान्सको खराब कर्जा ३४.६४ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीले यस्तो कर्जा १७.६ प्रतिशत रहेको थियो ।

यस्तै, समृद्धि फाइनान्सको २३.४७ प्रतिशत, पोखराको १४.४४ प्रतिशत, गुहेश्वरी मर्चेन्टको १३.५६ प्रतिशत, गोर्खाज फाइनान्सको १३.४५ प्रतिशत, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रलको ८.७१, रिलायन्सको ८.५८, प्रोग्रेसिभको ७.४७ प्रतिशत रहेको छ । गत आवको तुलनामा नेपाल फाइनान्स, प्रोग्रेसिभ र बेष्ट फाइनान्सले भने घटाएका छन् ।

यता, मल्टीपर्पसको खराब कर्जा ४.९७ प्रतिशत, गुडविलको ४.९१, बेष्टको ३.९८, आइसीएफसीको ३.६६, श्री इन्भेष्टमेन्टको ३.१९ र मञ्जुश्रीको ३.१२ प्रतिशत रहेको छ ।

तर, कसरी बढ्यो अचाक्ली नाफा ?

खराब कर्जाको चापमा परेका फाइनान्स कम्पनीहरुले नाफामा चमत्कारिक सुधार गरेका छन् । गत आवको पहिलो त्रैमासमा कम्पनीहरु समग्रमा ५६ करोड ३० लाख ४५ हजार रुपैयाँ नोक्सानीमा थिए ।

तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २० करोड २६ लाख रुपैयाँ नाफा बढाएका छन् । समिक्षा अवधिमा गत आवमा नोक्सानीमा रहेको केही कम्पनीको नाफामा पनि धनात्मक छ । विशेष गरि नेपाल राष्ट्र बैंकले दिएको सहुलियतको प्रभाव नाफामा देखिएको हो ।

खुद ब्याज आम्दानी लगायतका अन्य सूचकहरुमा देखिएको सकरात्मक सुधारले नै फाइनान्सको नाफा वृद्धि भएको हो । सो अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी पनि १२.२३ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स पहिलो सूचीमा छ । कम्पनीको ९ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा भने १३.८३ प्रतिशत बढी हो ।

यस्तै, गत आवको पहिलो त्रैमासमा ६ करोड ११ लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको प्रोग्रेसिभ फाइनान्सले पनि ८ करोड ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समिक्षा अवधिमा जानकी फाइनान्सको नाफामा चामत्कारिक सुधार (१५८.३८ गुणा वृद्धि) देखिएको छ । गत आवको पहिलो त्रैमासमा ४ लाख मात्रै नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा भने ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, गत आवको पहिलो त्रैमासमा ३ करोड ५० लाख १७ हजार नोक्सानीमा रहेको गुडविल फाइनान्स र २ करोड ६१ लाख ८० हजार रुपैयाँ नोक्सानीमा रहेको सेन्ट्रल फाइनान्सको नाफा पनि उल्लेख्य बढेको छ । हाल यी दुई कम्पनीको नाफा क्रमशः ४ करोड ९५ हजार १३ हजार र ४ करोड ९५ लाख १२ हजार नाफा कमाएका छन् ।

समिक्षा अवधिमा आइसीएफसी फाइनान्सको नाफा पनि ६३३.७१ प्रतिशत वृद्धि भई ६ करोड ८८ लाख रुपैयाँ कायम भएको छ।

यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा पनि १३२६.४६ प्रतिशत वृद्धि भई ४१ लाख ५१ हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सको नाफामा पनि १२४.५३ प्रतिशत बढेर १ करोड ४७ लाख र गोखार्ज फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

तर, समिक्षा अवधिमा गुहेश्वरी मर्चेन्ट ११ करोड ३३ लाख, रिलायन्स फाइनान्स ५ करोड ७५ लाख, पोखरा ४ करोड ९० लाख, नेपाल फाइनान्स २ करोड ४० लाख र बेष्ट फाइनान्स ८६ लाख रुपैयाँ घाटामा छन् ।


प्रतिक्रिया दिनुहोस्