अझै पाँच बैंकसहित १५ कम्पनीको सेयर किन्दा लाभांश पाइने, कसले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । एक दर्जन बढी कम्पनीहरुको सेयर किन्दा लाभांश पाइने भएको छ । अझै १५ वटा बैंक तथा वित्त कम्पनीहरुको सेयर खरिद गर्दा लाभांश पाइने भएको हो ।
ती कम्पनीहरुले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तर, बुक क्लोजका लागि भने मिति तय गरेका छैनन् । त्यसैले पाँ वाणिज्य बैंकसहित १५ वटा कम्पनीको सेयर किन्दा लाभांश पाइने भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका सानिमा बैंक, ग्लोलब आइएमई, नबिल, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर खरिदमा लाभांश पाइनेछ ।
यो वर्ष सानिमा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले मंसिर ४ गते साधारण सभा डोकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक २१ गतेसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस्तै, यो वर्ष ग्लोलब आइएमईले ५.५ प्रतिशत बोनस सेयर मात्रै, नबिलले १० प्रतिशत प्रतिशत नगद मात्रै, प्राइमले ५ प्रतिशत नगद मात्रै र स्ट्याण्डर्डले ६.५ प्रतिशत बोनस र १९ प्रतिशत नगद गरि कुल २५.५ प्रतिशत लाभांश दिने भएको छ । यी चारै वटा बैंकले भने हालसम्म साधारण सभा र बुक क्लोज मिति तय गरेका छैनन् । यी बैंकहरुको सेयर खरिद गर्नेले पनि लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस्तै, नेशनल लघुवित्त, सर्पोट, फरवार्ड, आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर खरिद गर्न पनि लाभांश पाइनेछन् । यी कम्पनीहरुले यो वर्ष क्रमशः १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश, १४.७७ प्रतिशत बोनस र कर प्रयोजनका लगि ०.७२५ प्रतिशत नगद, १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद, ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद र ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिने भएको छन् ।
यता, सुपरमाइ, सगरमाथा र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर खरिद गर्नेले पनि लाभांश पाउनेछन् । यी कम्पनीले लाभांश घोषणा गरेता पनि हालसम्म साधारण सभा र बुक क्लोज मिति तय गरेका छैनन् । यी कम्पनीले गत आवको मुनाफा आफ्ना सेयरधनीलाई क्रमशः ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद, ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् ।
त्यसैगरि यो वर्ष सोल्टी होटलले पनि ३६.८४ प्रतिशत लाभांश दिने भएको छ । सो लाभांश पारित गर्न होटेलले आगामी पुस ४ गते साधारण सभा गर्ने भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।