हाइड्रोपावरमै महँगो कुथेली बुखरीको वित्तीय अवस्था छैन सन्तोषजनक, किन आकाशियो मूल्य ? « Arthapath.com
२८ कार्तिक २०८१, बुधबार

हाइड्रोपावरमै महँगो कुथेली बुखरीको वित्तीय अवस्था छैन सन्तोषजनक, किन आकाशियो मूल्य ?



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर धितोपत्र दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । मंगलबार मात्रै कम्पनीको सेयर मूल्य हाइड्रोपावरमध्येकै सर्वाधिक महँगो बन्यो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ९९ रुपैयाँ पुग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांश हाइड्रोपावरको सेयर मूल्य २ देखि ४ सय रुपैयाँको हाराहारीमा सीमित छ । तर कुथेली बुखरीको सेयर मूल्यले आकाश चुमेको छ ।

कम्पनीको मूल्य आकाशिनुमा कुनै खास कारण छैन । नेप्सेमा यो कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत छ । जसमा ८० प्रतिशत सेयरको हिस्सा संस्थापकले ओगटेको छ । बाँकी २० प्रतिशत अर्थात् २ लाख ४३ हजार ७३५ कित्ता सेयरमा मात्र सर्वसाधारणको हिस्सा छ । लो क्याप अर्थात् कम पुँजी भएका कारण नै चलखेल भएको आशंका गरिएको छ ।

उक्त कम्पनीले आज मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खासै प्रगति गरेको देखिँदैन । कम्पनीको नाफामा गिरावट आएको देखिन्छ । चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.८२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नाफामा दबाब परेको देखिन्छ । सो अवधिसम्म कम्पनीले विद्युत बेचेर १ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड १० लाख कमाएको थियो।

कम्पतीको वित्तीय खर्च भने १८ लाख ७८ हजारबाट घटेर १० लाख रुपैयाँ कायम भएको छ । १२ करोड १८ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले बैंकबाट ४ करोड ६ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १० लाख र कुल चालु दायित्व १५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ रहेको छ । यो कम्पनीको सेयर २०८० भदौ ४ गतेबाट दोस्रो बजारमा कारोबार आएको हो । प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार ९९ रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय विवरण सन्तोषजनक नभएपनि मूल्य भने आकाशिएको छ ।


प्रतिक्रिया दिनुहोस्