नेपाल-बंगलादेश विद्युत व्यापार: नेपालबाट भोलि नै ४० मेगावाट विजुली निर्यात हुँदै

काठमाडौं । नेपालले भोलि कात्तिक ३० गतेदेखि बंगलादेश विद्युत निर्यात गर्ने भएको छ । नेपालले ४० मेगावाट विद्युत बंगलादेश तर्फ निर्यात गर्न लागेको हो । भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विजुली पठाइनेछ ।
विद्युत निर्यातका लागि गत असोज १७ गते नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सम्झौता भएको थियो । सो सम्झौता पाँच वर्षका लागि मान्य हुने उल्लेख छ ।
भारतबाट अनुमति लिएपछि मात्रै बंगलादेश बिजुली निर्यात गर्नुपर्छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भारतबाट अन्तिम स्वीकृति गरेसँगै ४० मेगावाट विजुली निर्यात गर्न लागिएको हो ।
बिहीबार नै भारतले स्वीकृत पत्र पठाइसकेको छ । प्राधिकरणले २५ मेगावाटको त्रिशुली र २२ मेगावाटको चिलिमे परियोजनाबाट विद्युत बिक्री गर्ने प्रस्ताव गरेको थियो ।
विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन हुँदै बंगलादेश पुग्नेछ । सो प्रसारणलाइन मार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म पुर्याइनेछ । त्यसपछि बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् पुग्नेछ ।
विद्युतको मिटर मुजफ्फरपुरमै रहनेछ, यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउने प्राधिरकण जनाएको छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ ।
सम्झौता अनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बंगलादेश विद्युत निर्यात गर्न पाउने उल्लेख छ । पाँच महिनामा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता छ । सोही अनुसार शुक्रबार एक मात्रै बंगलादेश विजुली पठाउन लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ५ महिनाको अवधमिा १ लाख ४४ हजार मेगावाट आवरको विद्युत निर्यात हुनेछ । विजुली निर्यातबाट प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त हुने प्राधिकरणले जनाएको छ । त्यसबापत ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुनेछ ।