९.७८ प्रतिशत बढ्यो घरजग्गा कारोबार, महँगो मूल्यका घरघडेरी किनबेच नहुँदा राजश्व भने दबाबमा « Arthapath.com
२० असार २०८२, शुक्रबार

९.७८ प्रतिशत बढ्यो घरजग्गा कारोबार, महँगो मूल्यका घरघडेरी किनबेच नहुँदा राजश्व भने दबाबमा



काठमाडौं । कात्तिकमा घरजग्गा कारोबार केही सुधारिएको छ । देशभर कात्तिक महिनामा ३३ हजार बढी घरजग्गा खरिदबिक्री भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको कात्तिक महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । सो महिनामा देशभरको घरजग्गा कारोबार ९.७८ प्रतिशत बढेको छ । विभागका अनुसार कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित भएको छ । यो गत असोज महिनाको तुलनामा २ हजार ९८७ वटा बढी हो । असोज महिनामा ३० हजार ५२७ वटा घरजग्गा किनेबच भएको थियो ।

गत वर्षको कात्तिक महिनाको तुलनामा भने कारोबार २८.६७ प्रतिशत बढेको हो । गत वर्षको समिक्षा महिनामा देशभर २६ हजार ४६ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

अब घरजग्गा कारोबारको सिजन भएकाले विस्तार बढ्ने व्यवसायीहरुको भनाई छ । घरजग्गा कारोबारका लागि प्रत्येक वर्षको साउनदेखि असोज सम्मको तीन महिनालाई अफसिजना मानिन्छ । अन्य महिनाको तुलनामा सो अवधिमा कम कारोबार हुने गरेको छ ।

तर, अहिले नेपालीहरुको मुख्य ठुला चाडपर्वहरु पनि सकिएका छन् । ठुला चाडपर्वसकिएसँगै आर्थिक गतिविधि पनि बढ्ने भएकाले विस्तारै घरजग्गा कारोबारमा बढोत्तरी आउने उनीहरुको भनाई छ । अर्को तर्फ बैंकहरुको ब्याजदर पनि निरन्तर घट्दो क्रममा नै छ ।यसले पनि कारोबार बढाउन टेवा पुग्ने बताइन्छ ।

कात्तिकमा समग्र कारोबार बढेको देखिएता पनि राजश्व भने दोहोरो अंकमा घटेको छ । गत असोजमा देशभरको कारोबारबाट सरकारले ३ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ राजश्व सकंकलन भएको थियो । तर, कात्तिकमा भने १२.२४ प्रतिशत घटेको छ । कात्तिकमा भने २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । सो महिनामा सहरी क्षेत्रका महँगा मूल्यका घरघडेरी किनबेचमा कमी हुँदा नै राजश्व घटेको विभागले जनाएको छ । कात्तिकमा ग्रामिण क्षेत्र आसपासका तुलनात्मक रुपमा सस्ता मूल्यका घरजग्गा धेरै खरिदबिक्री भएको छ । कम मूल्यका घरजग्गा किनबेच हुँदा राजश्व पनि कम उठ्ने गरेको विभागले जनाएको छ ।

कात्तिकमा कहाँ कहाँ कति बिक्री भयो घरजग्गा ?

विभागका अनुसार कात्तिकमा सबैभन्दा धेरै घरजग्गा सुनसरीमा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा मार्फत एक महिनामा १ हजार २४६ वटा लिखत पारित भएको छ । दोस्रो स्थानमा रहेको मोरङमा पनि १ हजार ११२ वटा घरजग्गा किनबेच भएका छन् ।

विभागका अनुसार धुनषमा १ हजार २४, सप्तरीमा १ हजार २२, भद्रपुर झापामा ९९८, धनगढी कैलालीमा ८६३ वटा घरजग्गा किनबेच भएको छ ।

यस्तै, मलंगावा सर्लाहीमा पनि ७४७, सिराहा ७१२, बाँकेमा ७०४, तौलिहवामा ६८४, रुपन्देही ६८१, भक्तपुरमा ६७७, घोराही दाङमा ६५५, तुलसी पुरमा ६३२, लाहानमा ६२१, पर्सामा ६१७, चितवनमा ६१६, कोहपुरमा ६०९, विराटनगरमा ५९९, महोत्तरीमा ५५०, लगनखेल ललितपुरमा ५३६, कलैला बारामा ५१९, दमक झापामा ५१६ वटा घरजग्गा किनबेच भएका छन् ।

यी हुन् धेरै राजश्व संकलन भएका क्षेत्रहरु

राजश्व भने काठमाडौं उपत्यकाबाट धेरै उठ्ने गरेको छ । महँगो मूल्यमा घर घडेरी किनबेच हुनेभएकाले सो क्षेत्रबाट राजश्व पनि धेरै संकलन हुने गरेको छ ।

विभागका अनुसार सबैभन्दा धेरै राजश्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरबाट २४ करोड ५७ लाख ५४ हजार रुपैयाँ संकलन भएको छ।

यस्तै, चावहिल काठामाडौंबाट २१ करोड ४२ लाख ४६ हजार, भक्तपुरबाट १७ करोड ६८९ लाख, कलंकी काठमाडौंबामट १७ करोड ८ लाख, डिल्लीबजार काठामाडौंबाट १५ करोड ७७ लाख र कास्कीबाट ११ करोड ७९ लाख रुपैयाँ राजश्व उठेको छ ।

यी बाहेकका मालपोत कार्यालय मार्फत भने १० करोड भन्दा कम राजश्व संकलन भएको छ । विभागका अनुसार चितवनबाट ७ करोड ९८ लाख, सुनसरीबाट ७ करोड ८९ लाख, कैलालीबाट ७ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ।

यता, रुपन्देही मार्फत पनि ६ करोड ७४ लाख, बुटवलबाट ६ करोड ६ लाख, मनमैजुबाट ५ करोड ५० लाख र विराटनगर मोरङबाट ५ करोड ८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्