यो हिउँदमा नबन्ने भो माथिल्लो तामाकोशी, ८ वर्षपछि ‘लोडशेडिङ’ दोहोरिने जोखिम « Arthapath.com
१७ असार २०८२, मंगलबार

यो हिउँदमा नबन्ने भो माथिल्लो तामाकोशी, ८ वर्षपछि ‘लोडशेडिङ’ दोहोरिने जोखिम



काठमाडौँ । बाढीले क्षति पुर्याएको देशकै ठूलो जलविद्युत् आयोजना बन्ने छाँटकाँट नदेखिएपछि यो हिउँदमा पुनः ‘लोडसेडिङ’ फर्किने जोखिम बढेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीबाट पछाडि हटेसँगै यस्तो अवस्था आएको हो ।

प्राधिकरणले ८ वर्षअघि नै ‘लोडशेडिङ’ अन्त्य गरेको भए पनि पुनः त्यही अवस्था दोहोरिन लागेको हो । प्राधिकरणले वि.सं. २०७३ सालको लक्ष्मी पूजाकै दिनबाट सर्वसाधारण उपभोक्ताका लागि र २०७५ सालबाट औद्योगिक क्षेत्रमा ‘लोडशेडिङ’ अन्त्य भएको घोषणा गरेको थियो।

तर त्यसपछि पनि खासगरी औद्योगिक ग्राहकको हकमा बारम्बार र घण्टौँसम्म बिजुली काटिने अवस्था भोग्नु परेको थियो । यद्यपि, त्यसलाई प्राधिकरणले नियमित तालिका नै बनाएर ‘लोडशेडिङ’ घोषणा गरेको थिएन । अब भने मुख्य विद्युत् आयोजनाबाट बेलैमा बिजुली बाल्न नसके ८ वर्षअघिको घटना दोहोरिने जोखिम बढेको हो ।

नेपालकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट अझै लामो समय बिजुली उत्पादन नहुने देखिएको प्राधिरणका अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार यो आयोजनाबाट असाध्यै चाँडो बिजुली उत्पादन सुर भए पनि जेठ वा असार लाग्ने अवस्था छ ।

यसै कारण यो हिउँदमा केही क्षेत्रमा विजुली आपूर्ति अपुग हुने र ‘लोडशेडिङ’ ब्यूँताउनुपर्ने बाध्यता आउने भन्दै प्राधिकरणका अधिकारीहरुले सचेत गराएका छन् ।

उक्त जलविद्युत् केन्द्रले अबको एक महिनाभित्रै मर्मत सक्ने दाबी गर्दै आएको थियो । तर मर्मतका लागि आवश्यक सामग्रीको खरिद र ठेक्का प्रक्रिया अझै अघि बढ्न सकेको छैन । यही कारण ‘सोचेजस्तो’ छिटोचाँडो आयोजनाको मर्मत सम्पन्न हुने संभावना नरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिए ।

त्यसैले यो हिउँदमा औद्योगिक ग्राहकका लागि बिजुली अभाव हुने पक्का भएको छ । देशैभरि बिजुलीको माग उच्च हुने समयमा उद्योगधन्दामा त विद्युत् कटौती हुन्छ नै, गार्हस्थ ग्राहकका लागि पनि बिजुली कटौतिको रफ्तार बढ्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्