सर्वसाधारणबाट साढे ४८ अर्ब उठाउँदै ७७ कम्पनी « Arthapath.com
१९ असार २०८२, बिहीबार

सर्वसाधारणबाट साढे ४८ अर्ब उठाउँदै ७७ कम्पनी



काठमाडौं । विभिन्न ७७ कम्पनीले सर्वसाधारणबाट साढे ४८ अर्ब पुँजी उठाउने भएका छन् ।  यी कम्पनीले प्राथमिक सेयर (आईपीओ) मार्फत उक्त रकम उठाउने भएका हुन् । हाल नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका ७७ कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५९६ रुपैयाँ बराबर ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता आईपीओ निष्काशन गर्दैछन् ।

बोर्डको अनुमति पाएपश्चात यी कम्पनीहरूले आईपीओ जारी गर्नेछन् । बोर्डको अनुमतिको पर्खाइमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत समूहका छन् । हाल ३८ जलविद्युत कम्पनी बोर्डको पाइपलाइनमा छन् । यी कम्पनीहरूले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता सेयर जारी गर्दैछन् । यी सबै कम्पनीले अंकित मूल्य (एक सय रुपैयाँ) कै दरमा आईपीओ जारी गर्न लागेका हुन् ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनी बोर्डको अनुमतिको पर्खाइमा छन् । यी कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६९६ रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६८४ कित्ता सेयर जारी गर्दैछन् । जसमध्ये ५ कम्पनीले अंकित मूल्यमा प्रिमियम थप गरी आईपीओ जारी गर्न लागेका हुन् ।

अन्य समूहका १० कम्पनीले पनि २ करोड ६५ लाख ६ हजार ४३५ कित्ता आईपीओ ल्याउँदैछन् । जसको मूल्य ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५०० रुपैयाँ रहेको छन् । जसमा ३ कम्पनीले प्रिमियम र एक कम्पनीले ५० रुपैयाँ प्रतिकित्ताका दरमा आईपीओ जारी गर्दैछन् । बाँकी अन्य कम्पनीले भने अंकित मूल्यमा नै आईपीओ जारी गर्दैछन् ।

त्यस्तै, होटल एण्ड पर्यटन समूहका ७ कम्पनी पनि आईपीओ निष्काशनका लागि बोर्डको अनुमति पर्खिरहेका छन् । यी ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दैछन् । ६ कम्पनीले अंकित मूल्यमा र एक कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

लगानी समूह अन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आईपीओ आउँदैछ । जसमा २ कम्पनीले अंकित मूल्यमा र एक कम्पनीले प्रिमियम थप गरेर आईपीओ ल्याउँदैछन् ।

लघु बीमा कम्पनीहरू पनि आईपीओ जारी गर्ने तर्खरमा छन् । ३ लघु बीमा कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएका छन् ।

त्यसैगरी, एक लघुवित्त कम्पनी पनि बोर्डको पाइपलाइन छ । स्वस्तिक लघुवित्त ८० हजार कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरिरहेको छ । 

अब धमाधम निष्काशनमा आउँछ : अध्यक्ष

बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अब रोकिएका आईपीओ धमाधम निष्काशनमा आउने बताएका छन् । बुधबारदेखि कार्यभार सम्हालेका श्रेष्ठले नेतृत्वको अभावमा अड्किएका कामहरू धमाधम सुरू गरिने बताएका हुन् । ‘आइपीओ निस्कासनको विषयमा वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो, प्रक्रियाबाट अगाडि बढ्छ’ कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने प्रतिबद्धता जनाए ।

करीब एक वर्षसम्म बोर्ड नेतृत्वबिहिन हुँदा आईपीओ निष्काशनको काम ठप्प बनेको थियो । यसले धेरै ठाउँमा असर परेको थियो ।  विशेषत: कम्पनीहरूले पुँजी वृद्धि र व्यवसाय विस्तारका लागि सेयर जारी गर्ने गर्छन् ।  झन्डै एक वर्ष आईपीओ रोकिँदा ती कम्पनीलाई पुँजी जुटाउन समस्या परेको थियो ।

सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) का अनुसार १२ कात्तिकसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ६४ लाख ५१ हजार १२ छ । तर, तीमध्ये सक्रिय मेरो सेयर प्रयोगकर्ता भने ३६ लाख ६८ हजार ७३७  मात्रै छन् ।

यसलाई आधार मान्दा २७ लाख ४२ हजार खाता निष्क्रिय अवस्थामा पुगेको छ । लामो समयसम्म आईपीओ नखुल्दा अधिकांशले डिम्याट खाता नवीकरण गराएका छैनन् । आईपीओ निष्काशन नहुँदाको प्रभाव राजश्व संकलनमा समेत परेको छ । नयाँ अध्यक्ष नियुक्ति सँगै यी बाटाहरू खुल्दै जानेमा लगानीकर्ताहरू विश्वस्त छन् ।


प्रतिक्रिया दिनुहोस्