२० वटै बैंकले घटाए बेस रेट, ऋण लिँदा कुन बैंकमा पर्छ सस्तो ब्याज ? « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

२० वटै बैंकले घटाए बेस रेट, ऋण लिँदा कुन बैंकमा पर्छ सस्तो ब्याज ?



काठमाडौं । बैंकहरुको आधार दर (बेस रेट) महिनैपिच्छे घटीरहेको छ । हाल वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुको लाइनमा आइपुगेको छ ।

२० वटै बैंकका आधार दर निरन्तर घटी रहेको छ । मंसिर महिनाका लागि बैंकहरुले प्रकाशन गरेको ब्याजदर अनुसार औसत आधार ०.२० प्रतिशत बिन्दु घटेको हो । गत कात्तिकमा बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत रहेको थियो । तर, मंसिरमा पनि थप घटेर ७.२४ प्रतिशत कायम भएको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, आर्थिक शिथिलताको कारण कर्जाको माग न्युन हुँदा निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ ।

कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६.१८ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, मंसिर महिनाका लागि भने ०.२१७४ प्रतिशत बिन्दु घटाएका छन् । मंसिर महिनामामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ब्याज ५.९७०३ प्रतिशत तोकेका छन् । यसरी निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर घटेको हो ।

बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ, आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । आधार दर घट्दा पुराना ऋणी र नयाँ ऋण लिने ग्राहकलाई कर्जाको ब्याजभार कम हुन्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

मंसिर महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ। हाल बैंकको आधार दर ५.५३ प्रतिशत छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.०१ प्रतिशत, एभरेष्टको ६.४९ प्रतिशत, नेपाल एसबिआईको ६.६२ प्रतिशत र नबिल बैंकको ६.७६ प्रतिशत छ । तुलनात्मक रुपमा यी बैंकहरुबाट ऋण लिँदा ब्याज सस्तो पर्नेछ । यद्यपि, हाल सबै बैंकहरुले चाहेको खण्डमा एकल अंकको ब्याजदरमै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छन् ।

यस्तै, हाल कृषि विकास बैंकको आधार दर ७.०६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०७ प्रतिशत, ग्लोबल आइएमईको ७.२४, सानिमाको ७.२६, एनएमबि ७.३९, सिद्धार्थको ७.४९, नेपाल एसबिआईको ७.५३, माछापुच्छ्रेको ७.५४ र प्रभूको ७.५८ प्रतिशत छ । यता, हिमालयन बैंकको आधार दर पनि ७.५९ प्रतिशत, कुमारीको ७.६४ प्रतिशत, लक्ष्मी सनराइजको ७.७६, प्राइमको ७.९२, सिटिजनको ७.९५ र एनआइसी एशियाको ८.४३ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्