ऋण लिएर ‘घर-घडेरी’ किन्ने लहर : अधिकांश बैंकले बढाए लगानी, पुरानै कर्जा असुलीमा एनआइसी सहित ६ बैंक
काठमाडौं । पछिल्लो समय बैंकबाट ऋण लिएर घरघडेरी खरिद गर्नेहरु बढी रहेका छन ।
ब्याजदर निरन्तर सस्तिएपछि बैंकबाट ऋण लिएर व्यक्तिगत घरघडेरी बनाउनेहरु बढेका हुन् । एकै महिना वाणिज्य बैंकहरुले मात्रै व्यक्तिगत आवासीय घर कर्जा अन्तर्गत डेढ अर्ब लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको गत असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । अन्य क्षेत्रहरुबाट कर्जाको माग न्युन रहेता पनि सेयर कर्जा र व्यक्तिगत आवासीय घर कर्जाको माग भने तुलनात्मक बढी रहेको बैंकरहरु बताउँछन् । हाल बैंकहरुले व्यक्तिगत आवसीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाउँछन् । पहिलो पटक घर निर्माण, खरिद गर्नका लागि बैंकबाटसो बराबरको सीमा ऋण लिन पाउने नियामकीय व्यवस्था छ ।
असोजमा अधिकांश बैंकहरुले यस्तो शीर्षकको कर्जा लगानी बढाएका हुन् । असोजमा आधा दर्जन बाहेकका बैंकहरुले यस्तो कर्जा वृद्धि भएको छ । असोजमा बैंकहरुले १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका छन् ।
गत भदौ मसान्तसम्म २० वटा बैंकहरुले कुल ३ खर्ब १७ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, असोज मसान्तसम्म आइपुग्दा भने ०.५० प्रतिशत बढेर ३ अर्ब १९ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
व्यक्तिगत आवसीय घर कर्जामा ग्लोबल आइएमई बैंकले धेरै लगानी गरेको छ । बैंकले एक महिनामा ९४ करोड २३ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ । असोज मसान्तसम्म आइपुग्दा भने बैंकको यस्तो शीर्षकको कर्जा ३५ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, असोजमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । बैंकबाट एकै महिना घरघडेरी खरिदका लागि ग्राहककले ४१ करोड ७७ लाख रुपैयाँ कर्जा लगेका छन् । यता, राष्ट्रिय वाणिज्य बैंकको यस्तो शीर्षकको कर्जा पनि ४० करोड २१ लाख रुपैयाँ कायम भएको छ ।
असोज महिनामा सिद्धार्थ बैंकले पनि यस्तो शीर्षकमा २७ करोड ७० लाख, कृषि विकासले २४ करोड १५ लाख, कुमारीले २३ करोड २२ लाख, सानिमाले १२ करोड ९७ लाख र सिटिजन बैंकले १० करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले पनि एकै महिना ९ करोड ७५ लाख, प्राइम बैंकले ५ करोड २१ लाख, माछापुच्छ्रेले ४ करोड ९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ९५ लाख, एभरेष्टले १ करोड ७ लाख र लक्ष्मी सनराइजले ५२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पुरानै कर्जा असुलीमा एनआइसी एशिया, प्रभूसहित आधा दर्जन बैंक
बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा बढाए पनि आधा दर्जन बैंकहरुले भने घटाएका छन् । व्यक्तिगत आवासीय घर कर्जामा सबैभन्दा ठुलो लगानी रहेको एनआइसी एशिया बैंकसहित ६ वटाले भने पुरानै कर्जा असुलीमा केन्द्रित छन् ।
गत भदौ मसान्तसम्मको तुलनामा एनआइसी एशियाको यस्तो शीर्षकको कर्जा १ अर्ब १५ करोड ८२ लाख रुपैयाँ घटेको छ ।
हालसम्म अर्थात् असोज मसान्तसम्म आइपुग्दा बैंक व्यक्तिगत आवासीय घर कर्जामा ५६ अर्ब ३ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । तर, यो गत भदौमसान्तसम्मको तुलनामा भने २.०२ प्रतिशत कमी हो । भदौ अन्तसम्म बैंकको यस्तो शीर्षकको कर्जा लगानी ५७ अर्ब १९ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, प्रभ बैंकले पनि यस्तो कर्जा घटाएको छ । एकै महिना बैंकले १२ करोड २५ लाख रुपैयाँ घटाएको छ । असोज मसान्तसम्म प्रभूले व्यक्तिगत आवसीय घर कर्जामा १३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।
यता, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन, नेपाल बैंक र नेपाल एसबिआई बैंकले पनि यस्तो शीर्षकको कर्जा घटाएका छन् । असोजमा मात्रै यी बैंकहरुको यस्तो कर्जा क्रमशः ६ करोड २ करोड ६ लाख, ५२ लाख र ३१ लाख रुपैयाँ घटेको देखिन्छ ।