एकै महिना ३७.७३ प्रतिशत बढ्यो बैंकको नाफाः नबिल र ग्लोबलबीच कडा टक्कर, घाटामा कृषि विकास « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

एकै महिना ३७.७३ प्रतिशत बढ्यो बैंकको नाफाः नबिल र ग्लोबलबीच कडा टक्कर, घाटामा कृषि विकास



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । एक महिनामै बैंकहरुको नाफा साढे ३७ प्रतिशत वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो नाफा गत असोज मसान्तसम्मको तुलनामा ३७.७३ प्रतिशत बढी हो । गत असोज मसान्तसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

कात्तिक मसान्तसम्मको आँकडाअनुसार कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । कृषि विकास बाहेकका सबै बैंकहरुको नाफामा बढोत्तरी देखिएको छ ।

नाफामा नबिल बैंककै वर्चश्व देखिएको छ । चार महिनामा नबिलले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो असोजसम्मको तुलनामा भने ६.३४ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफाका आधारमा दोस्रो सूचीमा रहेको ग्लोबल आइएमईले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ । कात्तिकमा मात्रै बैंकले ६० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो ।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । कात्तिकमा मात्रै बैंकले ३५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।

यस्तै, चौंथो सूचीमा रहेको प्राइमले पनि चार महिनामा १ अर्ब ६२ करोड ६४ करोड कमाएको छ । यता, कुमारीले पनि १ अर्ब ५९ करोड ४ लाख, एभरेष्टले १ अर्ब ५० करोड ९३ लाख, एनएमबिले १ अर्ब ४८ करोड ३२ लाख, प्रभूले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआईले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यी बाहेकका अन्य बैंकको नाफा भने अर्ब भन्दा तल छ । चालु आवको पहिलो चार महिनामा नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंक ९१ करोड ८८ लाख, माछापुच्छ्रे ६८ करोड ९७ लाख, सिद्धार्थले ६६ करोड ७८ लाख, सानिमाले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्यले ५५ करोड २७ लाख, सिटिजनले ४३ करोड ८६ लाख र एनआइसी एशियाले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

कसले कति कमाए नाफा ?


प्रतिक्रिया दिनुहोस्