अधिकांश बैंकहरूको ब्याजदर स्थिर : कुनले बढाए, कुनले घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। पुस १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । केही बैंकहरुले ब्याजदर बढाएका छन्, केहीले भने घटाएका छन् ।
२० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरुले मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरुले यस्तो ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन्।
ब्याजदर बढाउने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्। नेपाल बैंक र एनआईसी एशिया बैंक रहेले भने ब्याजदर घटाएका छन् ।
लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकेको छ ।
एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ ।
कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ यथावत राखेको छ ।
नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।
सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिनेछ।