घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदरले कति लैजान्छन् ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदरले कति लैजान्छन् ?



काठमाडौं । नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स झन्डै ३५ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा देखिएता पनि यहाँबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स भने घट्न थालेको छ ।

चालु आवको चार महिनामा नेपालबाट २ अर्ब ५ करोड ५४ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने ३४.८८ प्रतिशत कमी हो । गत आवको साउनदेखि कात्तिकसम्म नेपालबाट ३ अर्ब १५ करोड ६७ लाख बढी रेमिट्यान्स नेपालबाट औपचारिक रुपमा बाहिरिएको छ ।

चालु आवको चार महिनामा १ करोड ५२ लाख अमेरिकी डलर रेमिट्यान्स नेपालबाट बाहिरिएको छ । गत आवको सोही अवधिमा पनि यस्तो रकम २ करोड ३८ लाख अमेरिकी डलरमा बाहिरिएको थियो ।

नेपालमा विश्वका विभिन्न मुलुकबाट नेपालमा पनि काम गर्न आउँछन् । उनीहरुले श्रम स्वीकृति लिएर काम गर्न आउने गरेका छन्, विदेशी कामदारहरुले आफ्नो मुलुकमा पैसा पठाउने गरेका छन् । विदेशी कामदार आफ्नो कुल कमाइएको २५ प्रतिशत भने नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । तर, ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । सोही प्रावधान अनुसार नै उनीहरु आफ्ना मुलुकहरुमा औपचारिक रुपमा रेमिट्यान्स पठाइरहेका हुन्छन् ।

हाल नेपालका ठुला ठुला आयोजना तथा विदेशी लगानीका कम्पनीहरुमा विदेशी नै कर्मचारीहरु छन् । विशेषगरि जलविद्युत आयोजनाहरुमा ठुलो संख्या विदेशी कर्मचारी आउने गरेका छन् । अधिकांश जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । ती कामदारहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् ।

हाल नेपालमा ठुलो संख्यामा भारतीय कामदारहरु छन् । साना खुद्रा व्यापार देखि ठुला ठुला आयोजना निर्माणमा भारतीय मजदुरहरु नै बढी देखिन्छन् । खुला सीमाका कारण उनीहरुले कमाएको रकम सिँधै आफ्नो देशमा लैजाने गरेका छन् । उनीहरुले सोझै लैजाने रकमको भने नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्समा समावेश छैन ।

नेपालबाट वर्षेनि अरबौं रकम बाहिरिने गरेको छ । गत वर्ष मात्रै ६ अर्ब ६ करोड बढी रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । अघिल्लो आवमा पनि ६ अर्ब ६१ करोड २८ लाख बढी रेमिट्यान्स बाहिरिएको थियो ।

अघिल्ला वर्षहरुमा नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्दो क्रममा नै थियो । तर, पछिल्ला महिनाहरुमा भने निरन्तर घटेको राष्ट्र बैंकको आँकडाले देखाउँछ । विशेषगरि आर्थिक शिथिलताले पनि असर गरिरहेको छ । नेपालमा नेपालमा ठुला ठुला आयोजना लगायतका निर्माणका गतिविधि करिब करिब ठप्प नै छ । पूर्वाधार विकास निर्माणका काम वृद्धि हुन नसक्दा नै विदेशी कामदारले नेपालबाट लैजाने रेमिट्यान्स घटेको हो ।

नेपाल भित्रने रेमिट्यान्स ९ प्रतिशत बढ्यो, चार महिनामा ५ खर्ब भित्रियो

नेपालबाट बाहिरिने रेमिट्यान्स घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढ्दो नै छ ।

चालु आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ९.१ प्रतिशत बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

गत असोज मसान्तसम्ममा पनि ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । राष्ट्र बैंकका अनुसार कात्तिकमा मात्रै १ खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत भदौमसान्तसम्ममा पनि २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ र साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत भदौमा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्