साञ्जेनको व्यावसायिक उत्पादनसँग हर्षोल्लास « Arthapath.com
१७ असार २०८२, मंगलबार

साञ्जेनको व्यावसायिक उत्पादनसँग हर्षोल्लास



धुन्चे । अयोध्याले वनवास गएका श्रीरामलाई कुरेजस्तै रसुवाले पनि साञ्जेनको विजुली उत्पादन गर्न १४ वर्ष प्रतीक्षा गर्नु पर्यो । तर ढिलै भए पनि यो आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । यसले आयोजना सम्बद्ध कर्मचारीमात्रै होइन, पुरा देशलाई नै हौसला थपेको छ ।

चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा यसै हप्तादेखि जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह भएको छ ।

साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।

सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइन्जिनियर रविन कोइरालाले जानकारी दिए ।

‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना वि.सं. २०८० भदौ मसान्तमा सम्पन्न गरी वि.सं. २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।

कुल ११ केभी क्षमताको आपत्कालीन प्रसारणलाइनमार्फत व्यापारिक रूपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२÷११ केभी सबस्टेसन निर्माण गरेको थियो ।

चिलिमे त्रिशूली ६६ केभी प्रसारणलाइन मार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो ।

साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड– १९, नाकाबन्दी, राष्ट्रिय प्रसारणलाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । आभन्दा १४ वर्ष अघि कम्पनी स्थापना गरेर निर्माण थालिएको यो आयोजनाले निर्धारित समयभन्दा निकै ढिलो गरी विजुली उत्पादन सुरु गरेको हो ।

हालै चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन सम्पन्न हुनेबित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमुना आयोजनाका रूपमा साञ्जेन रहेको कम्पनीले जनाएको छ ।

साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिन्छ ।

नेपालमा भएका क्यास्केड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना हो ।

नेपालमा नमुना प्रविधिका रूपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यास्केड आयोजनाले जडान गरी क्यास्केडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिन्छ ।

जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रूपमा ठुलो राहत मिल्नेछ । सोही विशेषताका कारण काठमाडौँ विश्वविद्यालयले उक्त आयोजनाको नमुना आफ्नो प्रयोगशालामा समेत सञ्चालन गरेको छ ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमुना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकासलगायत विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन–अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने आयोजनाले जनाएको छ ।

कम्पनीले निर्माणाधीन ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्