पुस १५ मा मनाइँदै च्याउ दिवस, भृकुटीमण्डपमा चल्दै छ मेला « Arthapath.com
१५ पुष २०८१, सोमबार

पुस १५ मा मनाइँदै च्याउ दिवस, भृकुटीमण्डपमा चल्दै छ मेला



काठमाडौँ । राष्ट्रिय च्याउ दिवसको अवसर पारेर काठमाडौँको भृकुटी मण्डपमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना भएको छ । च्याउ उत्पादक किसान सङ्घको आयोजनामा च्याउको उत्पादन, उपयोगिता, महत्व र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

यो साल ‘च्याउ किसानको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला आयोजना गर्न लागिएको सङ्घले जानकारी दिएको छ ।

नेपालमा वार्षिक १५ अर्ब रुपियाँ हाराहारीको च्याउ उत्पादन र विक्री हुने गरेको सङ्घको आँकडा छ । सङ्घले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपालको गण्डक क्षेत्रमा पुस १५ लाई ‘जाडो भगाउने’ पर्वको रुपमा मनाइन्छ । यस दिन अनदी धानको चामल कुटेर घ्यूमा पकाएर ‘चाम्रे’ खाने, सेल पकाएर खाने, वनमा गएर ‘वनभात’ खाने जस्ता भिन्नभिन्न तौरतरिकाले यो पर्व मनाइन्छ ।

यसै दिनलाई च्याउ दिवस पनि मनाउन थालिएको छ । हिउँदको मौसम च्याउ उत्पादन हुने मुख्य समय हो । यही कारण यस दिनलाई च्याउ दिवस मनाउन थालिएको हो ।

यो सालको मेलामा ४० वटा स्टल राखिएकोे छ । च्याउका विभिन्न परिकार प्रदर्शनीमा राखिएको छ । मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि गरिएको छ ।

सङ्घको आँकडा हेर्ने हो भने मुलुकभरमा च्याउ खेतीमा ३५ हजार किसान आबद्ध छन् । च्याउको बिउ उत्पादन गर्ने ल्याबको सङ्ख्या अहिले ६७ वटा पुगेको छ। विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन हुने गरेको बताइएको छ ।

अहिले नेपालमा गोभ्रे च्याउमात्रै दैनिक ८ हजारदेखि १० हजार किलोग्राम उत्पादन हुने गरेको छ । सङ्घका अनुसार दैनिक १० हजार किलो गोलो च्याउ र ५० हजार किलो कन्ये च्याउ उत्पादन भइरहेको छ। नेपालमा च्याउको वार्षिक कारोबार लगभग १५ अर्ब रुपैयाँको सङ्घका पदाधिकारीहरुको अनुमान छ ।

मेलामा निःशुल्क प्रवेश गर्न पाइन्छ । च्याउका परिकारहरू निःशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान आयोजकको छ।


प्रतिक्रिया दिनुहोस्