अर्थपथको छ वर्षे आरोह अवरोह  « Arthapath.com
२० पुष २०८१, शनिबार

अर्थपथको छ वर्षे आरोह अवरोह 



प्रिय पाठक वृन्द, 

आजभन्दा ठिक छ वर्षअघि हामीले एउटा सपनालाई साकार पार्ने यात्रामा पाइला चालेका थियौँ । त्यो सपना थियो– तपाईँहरूसम्म सत्य, तथ्य र निष्पक्ष समाचार, विचार र विश्लेषण पुर्‍याउन कोसिस गर्ने । यही दायित्वलाई इमानदारीपूर्वक निभाउने प्रयास गर्दागर्दै आधा दशक त पार भई नै सकेछ। 

समयको धारा त कति छिट्टै बितिसक्दो रहेछ । यही धारले तपाईँ र हामीबिचको भावनात्मक एवम् व्यवहारिक सम्बन्धको गाँठोलाई दिनानुदिन झन् कसिलो पार्दै लगेको छ । 

आज, यस छैटौँ वार्षिकोत्सवको पावन अवसरमा हामी तपाईँ सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । हामी आज जहाँ र जुन अवस्थामा छौँ, यो तपाईँहरूको विश्वास र साथबिना सम्भव थिएन र छैन। यो छोटो विगत र अनन्त भविष्यमा तपाईँको साथी र सारथि बनिरहनु नै हाम्रो धर्म हो । तपाईँको यही न्यानो माया एवम् प्रगाढ प्यार हिजोभन्दा आज बढी र आजभन्दा भोलि झन् बढी हुँदै जाओस् । 

हाम्रो समाचारले सधैँ सत्यको साथ दिन्छ र समाजलाई उज्ज्वल भविष्यतर्फ लम्कन प्रेरित गर्ने कोसिस गर्छ। हामी कुनै पक्षधरतामा अडिनु भन्दा निष्पक्षता, विश्वसनीयता र तथ्यपरकतामा सतिसाल झैँ अडिग छौँ। तपाईँहरूको यही भरोसाले हामीलाई सदैव आफ्नो प्रतिबद्धताहरूमा खरो उत्रन निरन्तर प्रेरणा दिन्छ । हाम्रा समाचारलाई जिम्मेवार ढङ्गले प्रस्तुत गर्न ऊर्जा थप्छ। यस यात्रामा तपाईँहरूको विश्वास र सहभागिता हाम्रो ठुलो सम्पत्ति हो। 

हाम्रो उद्देश्य केवल समाचार पुर्‍याउनु मात्र होइन । हामी सत्यका पहरेदार पनि हौँ। खुला, उदार र प्रतिस्पर्धी समाज एवम् त्यही ढाँचाको अर्थव्यवस्था निर्माणमा हाम्रो कलमले सधैँ इमानको रङ भर्दै आएको छ। यही कामका लागि साना–ठुला सबै आवाजलाई समान रूपमा प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता अझ बलियो बनाउने प्रण गर्छौँ। 

हामीलाई थाहा छ– कुनै कोरा सूचना मात्र पर्याप्त हुँदैन। सामाजिक सञ्जालले यस युगमा तपाईँसामु सूचनाको वेग अत्यन्त तीव्र छ । तर त्यस सूचनामाथिको विश्लेषण र त्यसको विवेचना अबका दिनमा समाचार संस्थाहरूको प्रस्तुतिको शैली बन्दै छन् । यही सुन्दर छटामा सिङारिने कोसिस रहेकोले गरेका हुन्छन्, त्यही रङ्गमञ्चमा आफ्नो क्षमताले भ्याएसम्म हामी पनि खरो उत्रने कोसिस गरिरहेका छौँ । 

हामी सदैव आफ्नो भूमिकाप्रति जिम्मेवारीपूर्वक प्रस्तुत छौँ । हामी तपाईँका हरेक सल्लाह र सुझावलाई शिरोधार्य गर्दै, आफ्नो कार्यशैलीलाई सुधार्न सदा तत्पर छौँ । तपाईँहरूको प्रतिक्रिया नै हाम्रा लागि आफूलाई थप परिष्कृत गर्ने र तपाईँसँग अझ निकट भएर उभिने आधार हो। 

हामी केवल समाचार संस्था होइनौँ, यो समाजको एक अभिन्न अंश पनि हौँ। हामी एकै परिवारका सदस्य हौँ । त्यसैले त तपाईँसँगै हामी पनि उद्यमशीलता, पारदर्शिता र दिगोपनका पक्षमा उभिँदै आएका छौँ। भविष्यका चुनौतीहरूसँग जुध्न, समाजलाई अघि बढाउन र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन, हामी जहिले पनि कटिबद्ध छौँ। 

यिनै प्रयासको जगमा खडा भएको यस अर्थपथ परिवारले आज आफ्ना स्वर्णिम ५ वर्ष पुरा गरेको छ । यो छैटौँ वर्षगाँठ तपाईँहरूप्रति कृतज्ञता अर्पण गर्ने समय हो। हामी हाम्रा सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, सूचनादाता र हामीलाई सन्मार्गमा हिँड्न प्रेरित गरिरहने तपाईँ सबैप्रति हार्दिक कृतज्ञता एवम् आभार प्रकट गर्दछौँ । 

अन्तमा, तपाईँहरूको माया, विश्वास र समर्थनले हामीलाई अझ बढी ऊर्जा मिलेको छ र हाम्रा पदहरू अझै सशक्त बनाएको छ। यो उत्साहलाई हामी अनवरत राख्ने वाचा आज तपाईंहरुसामु गर्दछु । तपाईँ सबैमा छैटौँ वार्षिकोत्सवको भारी भारी शुभकामना । धन्यवाद।

– अर्थपथ परिवार


प्रतिक्रिया दिनुहोस्