धान खेती : वर्षेनी घट्दै रोपाँइको क्षेत्रफल, उत्पादनमा भने कसरी नयाँ कीर्तिमान ?
काठमाडौं । नेपालमा धान उत्पादन बढेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटेपनि उत्पादन भने वृद्धि भएको देखिन्छ ।
पछिल्लो पाँच वर्ष यताकै धेरै धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा कीर्तिमानी धान उत्पादन भएको हो ।
मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष आव २०७६–७७ यताकै उच्च हो । मन्त्रालयका अनुसार पछिल्लो ६ वर्षमा ३ करोड २४ लाख ६९ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको छ । सो अवधिमा औसत वर्ष ५४ लाख ११ हजार ५६५ मेट्रिक टन उत्पादन भएको छ । सो अवधिमा औसत १४ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ भने औसत उत्पादकत्व ४.०४ प्रतिशत छ ।
कृषि मन्त्रालयले सातै प्रदेशका कृषिसँग सम्बन्धित मन्त्रालयहरूबाट जिल्लागत रूपमा प्राप्त भएका प्रारम्भिक आँकडा, आइसीआइएमओडीसँगको सहकार्यमा स्याटलाइट इमेजको प्रयोगबाट धान बालीको क्षेत्रफल तथा चालु आवमा भएको रोपाइँको आँकडालाई प्रमुख आधार मानी उत्पादनको अनुमान तयार गरेको हो ।
मन्त्रालयका अनुसार धान उत्पादन बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको देखिन्छ । गत आवमा भने १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । तर, यो वर्ष भने १८ हजार ३५३ हेक्टर क्षेत्रफल कम अर्थात् १४ लाख ४२ हजार ६३६ हेक्टर कायम भएको छ ।
चालु आवमा मनसुन औसत भन्दा तीन दिन अगाडि नै सक्रिय हुँदा र सो अवधिमा औसत वर्षा गत आवको सरदर भन्दा उच्च रहेकाले वर्षे धान बालीका लागि ठुलो टेवा पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, रासायनिक मल र उन्नत जातको धानको आयात बढेकाले पनि यो वर्ष उत्पादन बढेको हो ।
विशेष गरी यो वर्ष धानको उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा आएको कमीले नै उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यस्तै, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलताका कारण उत्पादनमा बढोत्तरी आएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार २०७६–७७ मा कुल ५५ लाख ५० हजार, आव २०७७–७८ मा ४६ लाख २१ हजार, आव २०७८–७९ मा ५१ लाख ३० हजार, आव २०७९–८० मा ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यी आवहरुमा क्रमशः १४ लाख ५८ हजार, १४ लाख ७३ हजार, १३ लाख ७७ हजार १४ लाख ७७ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो ।
मन्त्रालयका अनुसार चालु आवमा वर्षे धान ५४ लाख ११ हजार मेट्रिक टन उत्पादन भएको छ । यो वर्षको तुलनामा भने ३.९९ प्रतिशत बढी हो । गत वर्ष ५२ लाख ३ हजार मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो । यता, यो वर्ष चैत धान उत्पादन पनि .५२ प्रतिशत बढेर ५ लाख ४४ हजार मेट्रिक टन कायम भएको छ । यो वर्ष कुल १ लाख ९ हजार हेक्टर जमिनमा चैते धान लगाइएको थियो । वर्षे धान भने कुल १३ लाख ११ हजार हेक्टर क्षेत्रफलमा लगाइएको थियो ।
कहाँबाट कति उत्पादन भयो धान ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै धान मधेश प्रदेशमा उत्पादन भएको छ । कुल ३ लाख ७४ हजार ११७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो वर्ष मधेशमा कुल १४ लाख ८० हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो गत आवको तुलनामा भने १०.७० प्रतिशत बढेको हो ।
यस्त, कोशी प्रदेशमा पनि २.१६ प्रतिशत वृद्धि भएको छ । यो वर्ष कोशीमा कुल १४ लाख ६६ हजार मेट्रिक टन धान उत्पादन भएको हो । यता, कर्णाली प्रदेशमा पनि धान उत्पादन १०.२५ प्रतिशत वृद्धि भई १ लाख ३० हजार मेट्रिक टन कायम भएको छ ।
लुम्बिनी प्रदेशमा पनि ४.०६ प्रतिशत वृद्धि भई १३ लाख ६४ हजार मेट्रिक टन कायम भएको छ ।
यो वर्ष बागमती, गण्डकी प्रदेशमा भने धान उत्पादन १.१३ प्रतिशत र ३.२२ प्रतिशत घटेको देखिन्छ । यो वर्ष बागमतीमा ४ लाख ९८ हजार र गण्डकीमा ३ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यता, सुदुरपश्चिममा भने ६.१९ प्रतिशत बढेर ६ लाख ३६ हजार मेट्रिक टन कायम भएको छ ।
यो वर्ष धान खेती गरिएको जमिनको क्षेत्रफल भने कोशी प्रदेशमा मात्रै बढेको छ । ती बाहेकका सबै प्रदेशमा भने घटेको देखिन्छ ।