दुई जलविद्युत आयोजना निर्माणका लागि जुट्यो २६ अर्ब लगानी, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो एक सातामै १५० मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
बैंक तथा वित्तीय संस्थाले १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी जलविद्युत र ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको लागि झन्डै २६ अर्ब बराबरको लगानी जुटेको हो ।
लमजुङमा रहेको अप्पर मर्स्याङ्दीको कुल लगात २१ अर्ब ४० करोड बराबरको हुनेछ । त्यसम ७४.७७ प्रतिशत बैंक र २५.२३ प्रतिशत लगानी प्रवद्र्धकले गर्ने छ । त्यसका आधारमा तीन ठुला बैंकले १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्नेछन् ।
विद्युत खरिदबिक्री सम्झौता, विद्युत उत्पादन अनुमतिपत्र समेत प्राप्त भईसकेको आयोजनामा लक्ष्मी सनराइज, ग्लोबल आइएमई र प्रभू बैंकले लगानी गर्ने भएका हुन् । प्रवर्द्धक कम्पनीका अनुसार यी तीन बैंकले क्रमशः ७ अर्ब, ६ अर्ब र ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । यो आयोजना आगामी चार वर्ष भित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक ५८३ .०३ मेगावाट गिगावाट विद्युत उत्पादन हुनेछ ।
यता, ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाका लागि पनि बैंकहरुले झन्डै १० अर्ब लगानी गर्ने भएका छन् । त्यसका लागि प्रवर्द्धक र बैंकबीच सम्झौता भइसेको छ ।
उक्त आयोजना सानिमा बैंकको नेतृत्वमा नबिल, सिटिजन्स, राष्ट्रिय वाणिज्य, कृषि विकास, नेपाल एसबिआई र एचआइडीसीएलले लगानी गर्ने भएका हुन् । ९ अर्ब ९६ करोड लगात लाग्ने अनुमान गरिएको उक्त आयोजनामा बैंकहरुले भने ७ अर्ब ४७ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । यता, प्रवर्द्धकहरुले भने २ अर्ब ४९ करोड लगानी व्यवस्थापन गर्नेछन् ।
उक्त आयोजनामा सानिमा बैंकले १ अर्ब ९७ करोड, नबिलले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । यता, सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास, नेपाल एसबिआई र एचआइडीसीएलले भने १–१ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् ।