शिथिलताबाट उठ्ने चेष्टामा महँगो मूल्यका ‘घर–घडेरी’ कारोबार, कहाँ–कहाँ कस्तो चल्दैछ किनबेच ?
काठमाडौं । समग्रमा घरजग्गा कारोबार अझै पनि सुस्ताउँदो नै छ । आर्थिक शिथिलताले सुस्ताएको कारोबारले गति लिन सकिरहेको छैन् । यद्यपि, पछिल्लो समय केही बौरिने संकेत भने गरेको देखिन्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको गत मंसिर मसान्तसम्मको आँकडाले पनि विस्तारै घरजग्गा कारोबार सकरात्मक लयमा फकिर्ने संकेत गरेको छ ।
केही समयअघिसम्म आर्थिक शिथिलताकै कारण महँगा मूल्यका घरजग्गा भने करिब ठप्प नै थियो । ग्रामिण भेगमा केही कारोबार बढे पनि मुख्य शहरी इलाकामा भने कारोबार सुस्ताएको थियो । तर, वर्तमान अवस्थमा भने महँगो मूल्यका घरघडेरी किनबेच पनि बढ्न थालेको विभागको आँकडाले देखाउँछ ।
विशेषगरि महँगो मूल्यमा घरजग्गा कारोबार हुने काठमाडौं उपत्यकामा पनि केही सुधार आएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काठमाडौं उपत्यकाको तीन जिल्लामा १७ हजार १०९ वटा घरजग्गा किनबेच भएको छन् । यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने ३.४५ प्रतिशत बढी हो । गत आवको सो पाँच महिनामा भने १६ हजार ५३८ वटा घरजग्गाको लिखत पारित भएको थियो ।
कारोबारमा आएको सुधारसँगै त्यसबापत सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि भएको छ । उपत्यकाको घरजग्गा कारोबारबाट सरकारलाई जाने राजश्व १०.८१ प्रतिशत वृद्धि भएको छ । चालु आवको ५ महिनामै ७ अर्ब ७ करोड ४४ लाख ८५ हजार रुपैयाँ राजश्व उठेको छ ।
विभागका अनुसार समग्रमा देशभर पाँच महिनामा १ लाख ८४ हजार बढी घरजग्गा खरिदबिक्री भएको छ । त्यसको १० प्रतिशत हाराहारीमा काठमाडौं उपत्यकामा हुने गरेको छ । हाल काठमाडौं उपत्यकामा ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।
विभागको आँकडाले पनि उपत्यकामा घरजग्गा कारोबारले बढ्ने संकेत गरेको देखाउँछ । चालु आवको पहिलो महिनामा उपत्यकामा ३ हजार ९२१ वटा घरजग्गाको लिखत पारित भएको थियो । त्यसपछि भदौमा ३ हजार ६२३, असोजमा ३ हजार १९४ र कात्तिकमा २ हजार ७०९ वटा मात्रै घरजग्गा किनेबच भएको थियो । तर, मंसिरमा भने केही सुधारिएको छ । यद्यपि, कारोबारको ग्रोथ भने दबाबमै रहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा दरबारमार्ग, डिल्लीबजार, नक्साल, न्यूरोड, नयाँ बानेश्वर, थापाथली, बबरमहल, रातोपुल, लैनचौर, पुतलीसडक लगायत क्षेत्र महँगोमा पर्छन् । यसबाहेकमा बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज लगायतका क्षेत्रमा पनि महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।
यस्तै रिङरोडभित्र ललितपुर र कलंकी क्षेत्रबाट अधिकांश ठाउँको घरजग्गा पनि महँगो मूल्यमा किनबेच हुने गर्छ । यी क्षेत्रमा पछिल्लो समय कारोबार बढ्न थालेको हो । यता, चावहिल आसपासमा भने ९.४१ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा सो क्षेत्रमा २ हजार २३ वटा किनबेच भएका छन् ।
विभागका अनुसार कलंकी क्षेत्रमा भने घरजग्गा कारोबार थप बढ्न सकेको छैन् । चालु आवको पाँच महिनामा २ हजार ८१३ वटा मात्रै किनबेच भएका छन् । विभागका अनुसार सबैभन्दा धेरै भक्तपुरमा कारोबार भएको छ । चालु आवको पाँच महिनामा भक्तपुरमा ४ हजार १२ वटा घरजग्गाको लिखत पारित भएको छ ।
यस्तै, ललितपुरको लगनखेल मालपोत कार्यालय मार्फतपनि ३ हजार ७५५ वटा घरजग्गा किनबेच भएको छ । महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुने काठमाडौंको डिल्ली बजारमा मार्फत भने ८७९ वटा लिखत पारित भएको छ । यो गत आवको तुलनामा २.५६ प्रतिशत बढी हो ।
यस्तै, काठमाडौंको साँखु क्षेत्रमा पनि पाँच महिनामा १ हजार ६२३, मनमैजुमा १ हजार २७१ वटा घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । यी क्षेत्रको कारोबारमा बढोत्तरी देखिए पनि दबाबमै छन् । यता, टोखा आसापसमा भने झन्डै १० प्रतिशत बढेको देखिन्छ । समिक्षा अवधिमा सो क्षेत्रमा ६७३ वटा घरजग्गा खरिदबिक्री भएको छ ।
उपत्यकामा चालु आवको पाँच महिनामा भएको कारोबार संख्या