सिमेन्ट उत्पादन बढ्यो : इँटा र डन्डीको घट्यो, किन वर्षेनि घट्दैछ नेपाली उद्योगको क्षमता ?
काठमाडौं । नेपाली उद्योगहरुको औसत क्षमता उपयोगमा संकुचन देखिएको छ । पछिल्लो समय उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनै कठिन परेको देखिन्छ ।
नेपालका उद्योगहरुको क्षमता उपयोग वर्षेनि घट्दै गएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाउँछ । मुलुकको गहिरिँदो आर्थिक शिथिलताका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, त्यसमा माथि आर्थिक सङ्कटका कारण उनीहरू थप मारमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८०–८१ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
गण्डकी र लुम्बिनीमा सिमेन्ट, प्रशोधित दूध लगायतका केही उत्पादन वृद्धि भएको छ । तर, फलामे छड तथा पत्ति, चाउचाउ लगायतका उत्पादन भने घटेका छन् ।
लुम्बिनीमा झन्डै १० प्रतिशत घट्यो उद्योग उपयोग क्षमता, बिजुलीको तार सर्वाधिक उत्पादन
लुम्बिनी प्रदेशमा एकै वर्षको अवधिमा नै उद्योगहरुको औसत क्षमता उपयोग झन्डै १० प्रतिशत घटेको छ । लुम्बिनीका उद्योगहरुको क्षमता उपयोग एकै वर्ष ९.९५ प्रतिशत गिरावट आएको छ ।
अध्ययनमा समेटिएका २७ वटा उद्योगहरुको औसत उपयोग क्षमता ४६.४१ प्रतिशत रहेको छ । तर, गत वर्ष (अघिल्लो आवको प्रतिवेदन) मा यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।
अध्ययनमा समेटिउको उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन उद्योगको क्षमता उपयोग ९२.४३ प्रतिशत छ । त्यसपछि चाउचाउ, कागजग, ट्याबलेट, आल्मुनियम, गहुँको मिठो, लिक्युड, सिमेन्ट, मदिरा, पशुदाना, तोरिको तेल लगायत उद्योगहरु छन् । सबैभन्दा कम उपयोग क्षमता भने साबुन उद्योगको देखिन्छ ।
केन्द्रिय बैंकका अनुसार साबुन, सिन्थेटिक कपडा, मदिरा, फलाम छड, पत्ति, तोरिको तेल लगायत झन्डै एक दर्जन उद्योगको उत्पादन घटेको छ । सबैभन्दा धेरै साबुन उद्योगको उत्पादन क्षमता ८५.६४ प्रतिशत घटेको देखिन्छ ।
यस्तै, सिन्थेटिक कपडा उत्पादन १५.२२ प्रतिशत, मदिरा उत्पादन १३.९८ प्रतिशत, फलामको छड र पत्ति १३.५५ प्रतिशत, कागज उत्पादन १३.५१ प्रतिशत गिरावट आएको छ । यता, ड्राई सिरप ९.१८ प्रतिशत, चाउचाउ ८.९८ प्रतिशत, प्लाष्टिकका सामान ९.३८ ओईन्टमेन्ट ५.०६ प्रतिशत र तोरि तेलको उत्पादन ४.५ प्रतिशत घटेको देखिन्छ ।
तर, अध्ययनमा समेटिएका उद्योगमध्ये बिजुलीको तार उत्पादन भने उच्च वृद्धि भएको छ । गत वर्ष यस्तो तार उत्पादन ५५.३९ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्लाईउड उत्पादन पनि ४२ प्रतिशत वृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ ।
त्यसैगरि चामल उत्पादन पनि ३८.१ प्रतिशत, गहुँको पिठो ३२.९५ प्रतिशत, लिक्युड २४.५१४, रोजिन १३.५५ प्रतिशत, आल्मुनियम ११.०४ प्रतिशत, क्यापसुल ९.३७ प्रतिशत र ट्यावलेट ९.१९ प्रतिशत वृद्धि भएको छ ।
गण्डकीमा पनि ३.२ प्रतिशत घट्यो, सिमेन्ट उत्पादन बढ्यो, अन्य उत्पादन कस्तो ?
गण्डकीमा उद्योगहरुको औसत उपयोग क्षमता ३.२ प्रतिशत घटेको छ । गत आव २०८०–८१ मा गण्डकीका १५ उद्योगहरु छनोटमा समेटिएका थिए । गत वर्ष गण्डकीका उद्योगहरुको औसत क्षमता उपयोग २९.२ प्रतिशत कायम भएको छ ।
औसत क्षमता उपयोग भन्दा बढी उत्पादन क्षमता भएका उद्योगहरुमा बिस्कुट उद्योगको ६९.४९ प्रतिशत रहेको छ । त्यसपछि वियरको ५७.५४ प्रतिशत, लिक्विड औषधीको ५०.७९ प्रतिशत, तोरीको तेलको ५०.०९ प्रतिशत छ ।
प्रतिवेदन अनुसार चुरोटको ४९.६३ प्रतिशत, चकलेटको ४९.०६ प्रतिशत, सिमेन्ट उद्योगको ४५.६३ प्रतिशत र ईटा उद्योगको ४१.०२ प्रतिशत रहेका छन् । औसतभन्दा कम उत्पादन क्षमता भएकाहरुमा ट्याब्लेट औषधीको ३६.६३ प्रतिशत, क्याप्सुल औषधीको ३४.४९ प्रतिशत, प्रशोधित दुध २५.४१ प्रतिशत, चाउचाउको २१.७१ प्रतिशत, ओइन्टमेन्ट औषधीको ११.२८ प्रतिशत र ड्राई सिरप औषधीको ६.०९ प्रतिशत रहेको देखिन्छ ।
गण्डकीमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन वृद्धि भएको देखिन्छ । गत वर्ष सिमेन्ट उत्पादन १२.१० प्रतिशत वृद्धि भएको छ । यस्तै, ओइन्टमेन्ट औषधी ११.०७ प्रतिशत, विस्कुट उत्पादन १०.६५ प्रतिशत, प्रशोधित दूध ४.६१ प्रतिशत, तोरिको तेल ३.११ प्रतिशत र चरोट उत्पादन २.३२ प्रतिशत वृद्धि भएको छ ।
यी बाहेकका ईटा उत्पादन ३६.४६ प्रतिशत, ड्राइ सिरप १८.७३ प्रतिशत, चाउचाउ २५.९५, चकलेट ३४.२०, लिक्विड औषधी ७.८४ प्रतिशत, ट्याब्लेट औषधी ८.६३, वियर उत्पादन ९.९३, क्यापसुल औषधी उत्पादन ३.६५ प्रतिशत घटेको छ ।
कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग पनि साढे ३ प्रतिशत घट्यो, औद्योगिक उत्पादनको अवस्था कस्तो ?
राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशको उद्योगहरुको क्षमता उपयोगमा पनि गिरावट आएको छ । एकै वर्ष झन्डै साढे ३ प्रतिशत घटेको प्रतिवेदनले देखाउँछ ।
अघिल्लो आवमा कर्णालीका उद्योगहरुको यस्तो क्षमता ५२.२९ प्रतिशत रहेको थियो । तर, गत वर्ष आइपुग्दा भने ३.४८ प्रतिशत घटेर ४८.५१ प्रतिशत कायम भएको छ ।
प्रतिवेदन अनुसार कर्णाली प्रदेशका उद्योगहरुको उपयोग क्षमतामा प्लाष्टिकका सामान सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ । सबैभन्दा कम अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता १५.० प्रतिशत रहेको छ ।
त्यसैगरी, कागज उत्पादन, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), अन्य (अन्य लत्ता कपडा) र पशुदाना उत्पादन गर्ने उद्योगहरु अन्तर्गत चामल उत्पादन सम्बन्धी उद्योग, प्रशोधित दूध उत्पादन सम्बन्धी उद्योग र पशुदाना सम्बन्धी उद्योगको उपयोग क्षमता क्रमशः ९०.० प्रतिशत, ५२.० प्रतिशत, ५१.११ प्रतिशत, ४८.९४ प्रतिशत, ४१.६७, २१.२३ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ ।
सो प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरुले गर्दा ठूला उद्योगहरुको सञ्चालन हुन सकेको देखिदैन । घरेलु, साना तथा मझौला उद्योगहरु मध्येबाट केही उद्योगहरु अध्ययनमा नमुना छनोटको रुपमा लिईएको केन्द्रिय बैंकले जनाएको छ ।
समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये अधिकांश उद्योगहरुको उत्पादनमा वृद्धि आएको देखिन्छ भने प्रशोधित चिया र प्लाष्टिकका समान उत्पादनमा कुनै पनि परिवर्तन भएको छैन । त्यसैगरी, चिरेको काठ उत्पादनमा कमी आएको देखिन्छ ।
प्रशोधित दुध उत्पादनमा ३.३३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगहरु अन्तर्गत चामल, गँहुको पिठो र पशुदाना उत्पादन क्रमशः ६६.६७ प्रतिशत, २८.५७ प्रतिशत र १५.३८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, समीक्षा वर्षमा लत्ता कपडा शीर्षक अन्तर्गत अन्य लत्ता कपडा शिर्षक र कागज तथा कागजका उत्पादनमा क्रमशः १५.० प्रतिशत र १२.५० प्रतिशतले कमी आएको छ । काठ तथा काठका सामान शीर्षक अन्तर्गत चिरेको काठको उत्पादनमा १३.३३ प्रतिशतले कमी आएको छ । त्यसैगरी, प्लाष्टिक उत्पादन शीर्षक अन्तर्गत प्लाष्टिकजन्य सामानको उत्पादनमा र प्रशोधित चियाको उत्पादनमा भने कुनै परिवर्तन आएको छैन ।