मुलुकको ढुकुटीमा साढे २२ खर्ब विदेशी मुद्रा, कति समयका लागि आयात धान्न पुग्छ ? « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

मुलुकको ढुकुटीमा साढे २२ खर्ब विदेशी मुद्रा, कति समयका लागि आयात धान्न पुग्छ ?



काठमाडौं । विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा यस्तो संञ्चिति ११.४ प्रतिशत वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको मंसिर मसान्तसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । यो गत असार मसान्तसम्मको तुलनामा भने ११.४ प्रतिशत बढी हो ।

गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । तर, मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि १० प्रतिशत वृद्धि भएको छ । चालु आवको पाँच महिनामा २० खर्ब ३३ अर्ब २७ करोड पुगेको केन्द्रिय बैंकले जनाएको छ । गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २४.६ प्रतिशतले वद्धि भई २ खर्ब ४०अर्ब कायम भएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्