परिवार र डायस्पोरालाई जोड्न ‘आधुनिक हुलाक’ले कसरी काम गरिरहेको छ ?

पुरानो हुलाकको नयाँ विकल्पका रुपमा आएको कुरियर सेवाले विश्वभर डायस्पोरा विस्तार गरिरहेको नेपाली समुदायलाई पृथ्वीका हरेक कुनासम्म जोड्न मद्दत गरिरहेको छ । लामो समय विदेशी ब्राण्डेड कुरियरको जगजगिलाई चुनौती दिँदै स्थानीय कम्पनीहरु पनि सेवा ब्यापारमा उत्रिएका छन् । तर विस्वासिलो संस्था छान्नु चाहीँ अझै पनि सेवाग्राहीको चुनौती छ ।
काठमाडौं । काठमाडौंकी प्रिस्टिना सापकोटालाई ब्रुनाईमा रहेको आफन्तलाई खाद्यान्न तथा सामान पठाउनु थियो । उनी विश्वसनीय अन्तर्राष्ट्रिय कार्गो र कुरियर सेवाको खोजीमा थिइन् । छिटो र भरपर्दो कुरियर सेवा उनलाई चाहिएको थियो ।उनले ठमेलमा रहेको नाइन स्टार कार्गोबाट ब्रुनाईमा खाद्यान्न र व्यक्तिगत सामानहरूको पार्सल पठाइन् । जहाँबाट उनले तोकिएकै समयमा सामान आफन्त कहाँ पुर्याउन सफल भइन् । उनी भन्छिन्, ‘कसरी समान पुर्याउने भन्ने चिन्ता थियो । तर सहजै भरपर्दो, कुशल र झन्झटमुक्त सेवा प्राप्त गरें ।’
नाइन स्टार कार्गोले अमेरिका, क्यानडा, एशिया प्रशान्त र मध्य पूर्व, हङकङ, जापान, ताइवान, दुबई, दक्षिण कोरिया, दक्षिण अफ्रिका आदि जस्ता धेरैजसो देशहरूसहित विश्वका लगभग सबै भागहरूमा हवाई माल ढुवानी कार्गो प्रदान गर्दै आएको छ ।
नाइन स्टार कार्गोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामशरण ढकाल पछिल्लो समय व्यक्तिगत रूपमा कुरियर गर्नेको संख्या बढेको बताउँछन् ।न कहिँ बोकेर हिड्नुपर्ने झन्झट, न टाढा छ भन्ने नै पिर । दैलोदेखि दैलोसम्म अर्थात् सेवाग्राहीको घरदेखि पुर्याउनु पर्ने ठाउँसम्म नै यस्ता संस्थाले सामान ढुवानी (डेलिभरी) गर्छन् । त्यसो हुँदा अचेल कुरियर सेवा प्रयोग गर्नेको संख्या बढ्दो छ ।
अहिले संस्थागत कुरियर भने केही घटेको ढकाल बताउँछन् । वैदेशिक रोजगार र अध्ययनमा जानेको संख्या बढेसँगै व्यक्तिगत कुरियर गर्नेको बढेको उनको बुझाइ छ । बेलायत, जापान, अमेरिका, युरोपियन देशहरूमा बढी सामान पठाउने गरेको ढकालले बताए ।काठमाडौंको गैह्रीधारा बस्दै आएकी मन्जु तामाङ जापानमा रहेको आफ्नो छोरालाई औषधिलगायत अत्यावश्यक सामान पठाउन चाहन्थिन् । तर उनलाई कुरियर सेवाबारे थाहा थिएन । छोराले नै उनलाई कुरियरबारे जानकारी दिए । चिन्दै नचिनेको मान्छेलाई कसरी समान पठाउने भन्ने डर उनमा थियो ।
अर्को विकल्प नै नभेटिएपछि उनले बालुवाटारमा रहेको सजिलो कार्गोमार्फत छोरालाई समान पठाउने निधो गरिन् । औषधि भएकाले उनलाई सकभर छिटो पठाउनुपर्ने थियो । ६ दिनभित्र समान पुग्ने आश्वासनपछि उनले समान पठाइन् । उनको सामान निर्धारित समयभित्र छोरासम्म पुग्यो ।
आफ्नै दैलोबाट लागेको समान जापानमा भएको छोराको दैलोसम्म पुग्दा उनी दंग परिन् । ‘सुरुमा त विश्वास नै लागेन । पैसा खाएर सामान फाल्दिने होकी जस्तो लाग्यो । तर भनेकै समयभित्र सामान पुर्याइदिने रहेछ’ उनले भनिन् । अब सामान पठाउन कुरियर नै रोज्ने उनले बताइन् ।
सजिलो कार्गोले मन्जु जस्तै धेरैलाई सजिलो बनाइसकेको छ । करिब २ वर्ष अगाडिदेखि कुरियर सेवाको काम गर्न थालेको सजिलो कार्गोले अहिलेसम्म धेरै सेवाग्राहीलाई सेवा दिइसकेको छ । व्यक्तिगत र व्यावसायिक सबैखाले सेवा प्रदान गर्ने सजिलो कार्गोका सञ्चालक रोहित श्रेष्ठ बताउँछन् ।
ग्राहकको विश्वास र सेवा टुट्न नदिन उनी हरसम्भव प्रयास गर्छन् । उनी आफै ग्राहकको दैलोसम्म पुग्छन् । सकेसम्म समयमा सामान डेलिभरी गराउने उनको कोसिस रहन्छ ।
यहाँका कुरियर सेवा प्रदायकहरू मध्यस्तकर्ताको रूपमा रहन्छन् । विदेशमा प्राप्त गर्ने र पुर्याउने मान्छेहरू हुन्छन् । उनीहरूले सम्बन्धित ठाउँको गेटसम्म नै समान पुर्याईदिन्छन् ।
कहिलेकाही ठ्याक्कै ठेगाना नमिल्दा समान फिर्ता आउनेसम्मको तितो अनुभव समेत बटुल्नुपर्ने हुन्छ । त्यसैले सामान पठाउँदा त्यहाँको ठेगाना सहि हुनुपर्ने श्रेष्ठ बताउँछन् ।
सजिलो कार्गोले जापान, कोरिया, बेलायत, अमेरिका, अष्ट्रेलिया, युएई, कतार, मलेसियादेखि युरोपियन देशहरू सामान कुरियर गर्दै आइरहेको छ ।
पछिल्लो समय रोजगारीको खोजीमा परदेशिनेको संख्या दिनप्रतिदिन बढ्दो छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय दैनिक करिब तीन हजार नेपाली युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन्। कामका अलावा अध्ययनका लागि विदेशिने नेपालीको संख्या पनि उत्तिकै बढ्दो छ ।
त्यसो हुँदा कुरियर व्यवसाय पनि दिन प्रतिदिन फस्टाउँदै गइरहेको छ । अहिले काठमाडौं मात्रै होइन देशका मुख्य सहरहरूमा कुरियर सेवा प्रदायकहरू प्रसस्त भेटिन्छन् । जसका माध्यमबाट जुनसुकै देशमा रहेका आफन्त वा साथीभाइलाई जुनसुकै समान सजिलै पठाउन सकिन्छ ।
यस्ता कम्पनीहरूले लत्ताकपडा, औषधिदेखि विभिन्न घरायसी समानहरू एक देशबाट अर्को देशमा पुर्याउने गरेका छन् । तर चोक चोक गल्लिगल्लीमा खुलेका कुरियर कम्पनीहरूदेखि भने ग्राहक आफैं समाधान हुनुपर्छ ।