नेप्सेमा सूचीकृत ८९ वटा जलविद्युत कम्पनी, कुन हाइड्रोपावरले कतिको बेचे बिजुली ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत अधिकांश जलविद्युत कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएको छ ।
कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेप्सेमा ९१ वटा कम्पनीहरु सूचीकृत छन् । ती मध्ये ८९ वटाले मात्रै दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् ।
विवरण अनुसार ती कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी औसतमा ८.२२ प्रतिशत वृद्धि भई २१ अर्ब ४९ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको दोस्रो त्रैमासमा १९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ बराबरको मात्रै विद्युत बिक्री गरेका थिए ।
समिक्षा अवधिमा ४५ वटा कम्पनीहरुको विद्युत बिक्री आम्दानी वृद्धि भएको छ भने ३० वटाको भने घटेको देखिन्छ । गत वर्ष विद्युत उत्पादन नथालेका ९ वटा कम्पनीहरुले पनि यो वर्षदेखि उत्पादन थालनी गरेका छन् । हालसम्म सूचीकृत मध्ये ५ वटा कम्पनीले भने विद्युत बिक्री गरेका छैनन् ।
समिक्षा अवधिमा अपर तामाकोशी एक्लैले ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बराबरको विद्यूत बिक्री गरेको छ । यद्यपि, यो गत आवको दोस्रो त्रैमासको तुलनामा ३७.४८ प्रतिशत कमी हो । गत असोजमा आएको बाढीले उक्त आयोजनामा ठुलो क्षति पुर्याएको छ । निकै लामो समय विद्युत उत्पादन नै बन्द अवस्थामा थियो । त्यसकारण पनि कम्पनीको यस्तो आम्दानी घटेको हो ।
अपर तामाकोशीपछि साहस उर्जाले धेरै विद्युत बिक्री गरेको छ । ६ महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । यता, सानिमा मिडल तमोरले पनि १ अर्ब ७ करोड ३ लाख बढीको विद्युत बिक्री आम्दानी गरेको छ ।
यस्तै, ग्रीन भेन्चर्सले पनि ९९ करोड ५८ लाख, अपि पावरले ८५ करोड ८० लाख, माउनटेन इनर्जीले ७९ करोड ८१ लाख, चिलिमेले ६४ करोड ९ लाख, सुपर मादीले ६० करोड ६० लाख, पिपुल्स हाइड्रोपावरले ५३ करोड ३७ लाख, स्वेतगंगाले ५१ करोड २६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् ।
विद्युत बिक्री आम्दानी सर्वाधिक बढाउनको पहिलो सूचीमा भने अरुण भ्याली हाइड्रोपावर छ । कम्पनीको यस्तो आम्दानी ३४१.२६ प्रतिशत बढेर १४ करोड १२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, माया खोला हाइड्रोपावरको विद्युत बिक्री आम्दानी पनि २६०.१२ प्रतिशत, पिपुल्स हाइड्रोपावरको २३९.१६ प्रतिशत, साञ्जेन जलविद्युतको १९९.४८ प्रतिशत, रिदी पावरको १२०.०४ प्रतिशत, रावा इनर्जीको १०८.०५ प्रतिशत वृद्धि भएका छ ।
यता, हिमालय उर्जा विकासको ९५.३० प्रतिशत, मकर जितुमाया सुरीको ९३.५० प्रत्शित, हिमालयन पावरको ८४.४३ प्रतिशत, राप्ती हाइड्रो ८०.४३ प्रतिशत, जोशीको ७६.८० प्रतिशत, छ्याङ्दीको ७०.०७ प्रतिशत, मोदी इनर्जीको ६१.४३ प्रतिशत र अपर हेवाखोलाको ५५.४४ प्रतिशत वृद्धि भएको छ ।
सानिमा मिडलसहित अरुण कावेली, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी, बरुण, शिभम पावर लगायत वटा कम्पनीले पनि यो वर्षदेखि विद्युत बिक्री आम्दानी गर्न थालेका छन् । तर, त्रिशुली जलविद्युत, ग्रीन लाइफ, मध्यभोटेकोशी, पाँचथर पावर, मेन्छ्यिाम हाइड्रोपावरले भने अझै पनि विद्युत उत्पादन गरेका छैनन् ।

