मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उछाल, चम्कियो बैंकिङ समूह

काठमाडौं । बिहीबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको हो ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशत बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २८१५ विन्दुमा पुगेको छ ।
यसपटक लचक मौद्रिक नीति आएको छ । बैंक–वित्तीय संस्थालाई असल कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाएर मुनाफा वृद्धि गर्न सहयोग पुग्ने गरी मौद्रिक नीतिको समीक्षा आएको छ । असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको हो । यसअघि यस्तो दर १.१० प्रतिशत थियो । यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढाउन सहयोग पुर्याउनेछ । प्रोभिजन राख्नुपर्ने रकम कम भएपछि त्यसको सकारात्मक प्रभाव नाफामा पर्नेछ ।
यस व्यवस्थाबाट समग्रमा सेयर बजारमा समेत फाइदा पुग्ने विश्वास गरिएको छ । त्यसो हुँदा लगानीकर्ता समेत उत्साहित देखिएका छन् । मौद्रिकं नीतिको समीक्षापछि बैकिङ समूह चम्किएको छ । यस दिन बैंकिङ समूहमा ३.३२ प्रतिशतको बढोत्तरी देखिएको छ । यो सँगै अन्य सबै सूचकमा हरियाली छाएको छ ।
यसदिन कारोबार रकम समेत ११ अर्ब नाघेको छ । कारोबार अवधिभर ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७७० कित्ता सेयर खरिदबिक्री बुँदा ११ अर्ब ३९ करोड २४ लाख ४० हजार रुपैयाँ बराबर कारोबार भएको छ ।
सेयर बजार बढ्दा १८६ कम्पनीको सेयर मूल्य बढेका छन् । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो ।