७ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा कति भित्रियो ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

७ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा कति भित्रियो ?



काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ७.३ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७.३ प्रतिशतले बढेको हो ।

माघ महिनासम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्