आईएमएफले गर्यो नेपाली अर्थतन्त्रको प्रशंसा, ईसीएफको अर्को किस्ता निकासी हुँदै « Arthapath.com
१२ असार २०८२, बिहीबार

आईएमएफले गर्यो नेपाली अर्थतन्त्रको प्रशंसा, ईसीएफको अर्को किस्ता निकासी हुँदै



काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई उपलब्ध गराउने भनेको विस्तारित कर्जा सुविधा (इसीएफ) बापत ४ करोड १८ लाख अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ।

आइएमएफले नेपाललाई इसीएफबाट चार वर्षमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ऋण सुविधा उपलब्ध गराउने भनेर सन् २०२२ को जनवरी १२ मा उक्त संस्थाको कार्यकारी बोर्डले निर्णय गरेको थियो।

हालैमात्र इसीएफको पाँचौं समीक्षा सम्पन्न भएपछि थप रकम निकासा गर्न विश्व बैंक समूह अन्तर्गतको उक्त निकाय सहमत भएको हो।

अबको किस्तामा निकासा गर्ने भनिएको उक्त रकम विद्यमान विनिमय दर अनुसार ५ अर्ब ८३ करोड रुपैयाँभन्दा धेरै हो। शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय (विक्री) दर १३९ रूपैयाँ ५० पैसा तोकेको छ।

अहिलेसम्म आइएमएफले उक्त सुविधा अन्तर्गत २८ करोड ९१ लाख डलर निकासा गरिसकेको छ।

नेपालमा केही व्यक्तिहरूको सानो एउटा अनौपचारिक समूहले विश्व बैंक र आइएमएफ सहित यस अन्तर्गतका निकायहरू विरुद्ध विरोधका आवाज गुन्जाउन थालेकै बेला उक्त ऋण सहायता निकासा हुने भएको हो।

आइएमएफको कार्यकारी बोर्डको बैठक पश्चात् गत शुक्रबार जारी एक प्रेस विज्ञप्तिमा राजनीतिक अस्थिरता र प्रकोप जोखिमहरूका बावजुद पनि नेपालले उल्लेख्य प्रगति गरेको भनिएको छ।

उक्त बहुपक्षीय विकास साझेदार संस्थाले नेपालमा पछिल्लो समय पुँजीगत खर्चमा वृद्धि हुन थालेकोप्रति सन्तोष जनाएको छ।

त्यस्तै भूकम्प तथा बाढी पहिरोको पुन:निर्माण, लचक एवं सहुलियतपूर्ण मौद्रिक नीति, ऊर्जा उत्पादनमा भएको वृद्धि र हरित अर्थतन्त्रलाई दिएको राष्ट्रिय प्राथमिकता लगायतका विषयको पनि उक्त निकायले प्रशंसा गरेको छ।

यसका बावजुद नेपाली अर्थतन्त्रले पछिल्ला केही वर्ष यता समष्टिगत मागमा कमी र अन्य कैयौँ चुनौतीहरूको सामना गर्नुपरेको प्रति सजग गराएको छ।

आन्तरिक माग, बजारको गतिशीलता, सरकारी खर्च तथा अन्तर्राष्ट्रिय परिस्थितिहरूको मूल्याङ्कन गर्दै यस संस्थाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.२% पुग्ने अनुमान अघि सारेको छ।

यद्यपि, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले हालै मात्र नेपाललाई खैरो सूची (ग्रे-लिस्ट)मा राखेको स्मरण गराउँदै आइएमएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने भनेर औँल्याएको छ।


प्रतिक्रिया दिनुहोस्