उठ्न सकेन घरजग्गा कारोबार, तराईका केही जिल्लामा चाहीँ किन बढिरहेको छ ?

काठमाडौँ । सरकारका कयौँ प्रयास र वित्तीय प्रणालीको सुलभताका बावजुद घरजग्गा कारोबारको शिथिलता फागुन महीनामा पनि कायम रहेको देखिएको छ।
नेपालमा दुई वर्षदेखि यस्तै अवस्था रहँदै आएको छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिले ३–४ वर्षअघि किनेको मूल्यभन्दा पनि ३०–४० प्रतिशत सस्तो भाउमा घरजग्गा विक्री गर्नुपरेको बैंकरले बताइरहेका छन् ।
यसरी खरीद कर्ताको असाधारण कमीले यसको मूल्य र माग तथा कारोबारलाई पनि संकुचित पारिदिएको छ ।
घरजग्गा कारोबारबारे सरकारको निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत फागुनमा देशभरिका मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा घरजग्गाको किनबेच भएको छ। गत माघमा ४६ हजार ६९ वटा घरजग्गा किनबेच भएका थिए।
यस आधारमा माघमा भन्दा पनि फागुनमा घरजग्गाको किनबेच घटेको देखिएको छ । आजभन्दा ३ वर्ष अघितिर हरेक महिना ७० देखि ७५ हजार पल्ट कारोबार हुने गरेको घरजग्गा अहिले झण्डै आधाले घटेको छ । बैंकरहरुका अनुसार काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा विस्तारै जग्गाको माग फाटफुट देखिन थालेको भए पनि अन्यत्र यो गम्भीर समस्याको रुपमा देखिएको छ ।
कारोबारले उत्कर्ष छोएको बेलालाई त छाडिदिउँ, पोहोरको ‘मन्दी बेला’भन्दा पनि यस वर्ष कारोबार कमजोर देखिएको छ । पोहोर साल यही फागुन महिनामा ५१ हजार वटा घरजग्गा किनबेच भएका थिए। यो वर्ष अर्को ५ हजार कारोबार संख्या घटेको छ ।
विभागको आँकडा अनुसार गएको साउनदेखि फागुनसम्म जम्मा ३ लाख २४ हजार ३३९ वटा घरजग्गा किनबेच भएका छन्। पोहोर सालको यही अवधिमा ३ लाख २९ हजार ८३५ वटा घरजग्गा कारोबार भएको विभागले जनाएको छ । यसरी कारोबार ओरालो लागेको आँकडाले स्पष्ट पारेको छ ।
सबैभन्दा आकर्षक बजार मानिने काठमाडौँ उपत्यकामै पनि घरजग्गा कारोबार सुस्ताएको छ । कुनै बेला हरेक महिना ९ हजारको हाराहारीमा किनबेच हुने घरजग्गाको आँकडा अहिले झण्डै एक तिहाइको स्तरमा झरेको देखिन्छ ।
गएको फागुन महीनामा उपत्यका भित्र ३ हजार ८९० वटा घरजग्गा किनबेच भए। अघिल्ला महिनाहरु पुस र माघमा पनि उपत्यकाभित्रको घरजग्गा कारोबारको अवस्था उस्तै छ ।
बरु पछिल्लो समय मोरङ, झापा, धनुषा, सप्तरी, सर्लाही जस्ता जिल्लामा घरजग्गाको किनबेच धेरै देखिएको छ। यी क्षेत्रमा कारोबार किन बढिरहेको छ भन्ने बारेमा खासै हेक्का राखिएको पाइँदैन ।
विगतमा बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि भूमि अधिग्रहण गर्दा धादिङ र गोरखाका स्थानीयलाई खुब पैसा बाँडिएको थियो । त्यस बेला मानिसहरु तराइका विभिन्न जिल्लामा खेतियोग्य भूमिको खोजिमा गएका थिए ।
पछिल्लो समय चितवन, नवलपरासी, मकवानपुरमा थपिँदो जनसंख्याको चापले पनि घरजग्गाको कारोबार बढाएको थियो । अहिले मधेश प्रदेश र कोशीको तल्लो इलाकामा मधेशी समुदायका मानिसहरु ब्यापक मात्रामा वैदेशिक रोजगारीमा गएका छन् । यसले गर्दा त्यस क्षेत्रमा माग बढेको हुनसक्ने ठानिए पनि खास कारणबारे खासै खोजि भएको छैन ।
तर यसले तराइका जिल्लामा वसाइँसराई बढ्दै जाने क्रम अहिले पनि नरोकिने देखिएको छ । बरु पहाडी क्षेत्रमा जग्गा बाँझिने क्रम बढेको छ । सडक, जलविद्युत् आयोजना जस्ता अनेकौँ पूर्वाधार परियोजनाका कारण कुलो–नहरहरु मासिन थालेको, युवा उमेरका मानिसहरु कृषि छाडेर वैदेशिक रोजगारी वा सेवा क्षेत्रमा केन्द्रित भएको र अधिकतर पहाडी क्षेत्रमा बढ्दो जङ्गलका कारण जंगली जन्तुजनावरको कारण खेतिपाति ‘लगाउनै नसक्ने’ अवस्था सिर्जना भएको जस्ता कारणले मानिसहरु तराईमा केन्द्रित हुँदै गएका छन् ।
पहाडी क्षेत्रमा कृषि मजदूरको अभाव, आधुनिक प्राविधिका लागि अनुपयुक्त भूगोल र घट्दो जनसंख्याले मानिसहरुलाई पहाड खालि गर्ने अभियानमा अझ बढी उत्प्रेरित गरिरहेको छ । यसले पनि तराईमा घरजग्गाको कारोबार उकास्न मद्दत गरेको हुनसक्ने ठानिएको छ ।