आजबाट गभर्नर अधिकारी बिदा बस्दै, नयाँ गभर्नरको छैन टुंगो « Arthapath.com
४ चैत्र २०८१, सोमबार

आजबाट गभर्नर अधिकारी बिदा बस्दै, नयाँ गभर्नरको छैन टुंगो



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट बिदामा बस्ने भएका छन् । कार्यकाल समिन १८ दिन बाँकी छँदा उनी बिदामा बस्न लागेका हुन् ।

गभर्नर अधिकारीले मंगलबारदेखि १० दिनका लागि बरिष्ठ डुपुटी गभर्नर निलम ढुंङ्गाना तिमिल्सिनालाई ‘कार्यवाहक’ जिम्मेवारी तोकेर सोमबार नै पत्र दिइसकेको गभर्नरको सचिवालयले जनाएको छ ।

अधिकारीले १५ चैतसम्मका लागि मात्रै कार्यवाहकको चिठी दिएको गभर्नर कार्यालयले जानकारी दिएको छ । उनको कार्यकाल २३ चैतसम्म छ । त्यसपछिको एक साता चाहीँ कार्यालयमा हाजिर हुने वा पुनः बिदामा बस्ने भन्ने अहिले टुङ्गो नभएको अधिकारीहरुले बताएका छन् ।

सामान्यतया गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै सरकारले नयाँ गभर्नर नियुक्त गरिसक्ने र पहिलेको गभर्नर पनि एक महिना अघिबाटै विदामा बस्ने प्रचलन थियो ।

कार्यकालको अन्तिम समयमा आएर कुनै ‘महत्वपूर्ण’ र स्वार्थ बाझिने खालका निर्णयहरु नगरुन् भनेर यस्तो अभ्यास गरिएको हो । समयमै उत्तराधिकारी सुनिश्चित हुँदा उसले पनि कार्यकाल सम्हाल्नु अघि नै मुलुकको वित्तीय अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरेर आफ्नो धारणा स्पष्ट पार्न तथा नवीन नीतिहरु तर्जुमा गर्ने बारेमा सोच्न समय पाउँछ ।

तर पछिल्लो समय सरकारले गभर्नर नियुक्तिमा ढिलाई गर्दा यी सबै कुरामा त समस्या भएका छन् नै, पदासिन गभर्नर बिदामा बस्ने समय पनि तन्किएको छ ।

गभर्नरको कार्यकाल सकिनै लाग्दा समेत उत्तराधिकारी नियुक्तिको प्रक्रिया सुरु हुन सकेको छैन । दुई दर्जनभन्दा बढी मानिसहरु उक्त पदका लागि आकांक्षि देखिए पनि अहिलेसम्म सरकारका घटक दलहरुबीच त्यो पदमा कसले आफ्नो पक्षको उमेदवारलाई पठाउँछ भन्ने पनि स्पष्ट छैन ।

यस्तो बेला अर्थमन्त्री र प्रधानमन्त्री पनि नेकपा एमालेबाटै भएका कारण उसैले गभर्नर नियुक्त गर्नसक्ने संभावना ज्यादा रहेको ‘नजरिया’ बजारमा देखिन्छ ।

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए। अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले नयाँ गभर्नर छनौटका लागि समिति गठन गरिसकेको छ ।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन गरिसकेको छ। तर उक्त समितिले पूर्णता पाएर काम थाल्नमा भने ‘अनौठो’ तरिकाले ढिलाइ भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्