बैंकमै थुप्रियो लगानीयोग्य रकम, कर्जा प्रवाहका लागि कुन बैंकसँग कति पैसा ? « Arthapath.com
५ चैत्र २०८१, मंगलवार

बैंकमै थुप्रियो लगानीयोग्य रकम, कर्जा प्रवाहका लागि कुन बैंकसँग कति पैसा ?



काठमाडौं । पछिल्लो समय बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । बैंकहरुले कर्जा प्रवाह बढाउन थालेका छन् ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले बैंकहरुमा निक्षेप र कर्जा दुवै वृद्धि भएको देखिन्छ ।

संघका अनुसार फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ६.१२ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा आइपुग्दा निक्षेप संकलन पनि ५.६२ प्रतिशत वृद्धि भएको देखिन्छ । फागुनमा मात्रै बैंकहरुमा ४० अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । तर, २२ अर्ब ७४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्युन छ । निक्षप थपिने सिलसिला बढी रहेको छ । तर, कर्जा प्रवाह भने सुस्त नै देखिन्छ ।

बैंकहरुमा लगानीयोग्य रकम बढीरहँदा कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो भने लगातार घटीरहेको अवस्था छ । हाल बैंकहरुको सीडी रेसियो ८० प्रतिशत भन्दा कम छ ।

बैंकर्स संघका अनुसार हाल वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.२९ प्रतिशत कायम भएको छ । यसका आधारमा बैंकहरुसँग ऋण लगानी गर्न ६ खर्ब ४६ अर्ब ५६ करोड ७० लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकहरुमा सो बराबरको रकम लगानीयोग्य छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । हाल बैंकहरु कर्जा प्रवाहका लागि एकदमै सहज अवस्था छन् । तर, कर्जाको माग नहुँदा बैंकमा अधिकत तरलता थुप्रिएको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै लगानीयोग्य रकम राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । फागुन अन्तसम्म बैंकको कुल निक्षेप ४ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ छ । तर, २ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको सीडी रेसियो ६३.८६ प्रतिशत छ ।यसका आधारमा बैंकसँग कुल १ खर्ब १६ अर्ब ९८ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

यस्तै, ग्लोबल आइएमई बैंकसँग ६४ अर्ब २५ करोड रुपैयाँ लगानीयोग्य रकम छ । समिक्षा अवधिमा बैंकले ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरि ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको सीडी रेसियो ७७.९५ प्रतिशत छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)को सीडी रेसियो ७६.७६ प्रतिशत छ । यसका आधारमा हाल बैंकसँग ५९ अर्ब ९२ करोड रुपैयाँ लगानीयोग्य रकम छ । समिक्षा अवधिमा बैंकले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, ऋण दिनका लागि हाल नेपाल बैंकसँग ५३ अर्ब ३७ करोड, प्रभूसँग ४७ अर्ब ३ करोड, नबिलसँग ३८ अर्ब ५४ अर्ब, कृषि विकाससँग ३२ अर्ब ९५ करोड, लक्ष्मी सनराइजसँग ३१ अर्ब ३७ करोड, स्ट्याण्डर्ड चार्टर्डसँग २६ अर्ब ९७ करोड, कुमारीसँग २६ अर्ब ४५ करोड, र नेपाल एसबिआईसँग २५ अर्ब २७ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

यता, सीडी रेसियोको आधारमा हिमालयन बैंकसँग २३ अर्ब ६३ करोड, सानिमा बैंकसँग २० अर्ब १० करोड, एनआइसी एशियासँग १९ अर्ब ८ करोड, एनएमबिसँग १७ अर्ब ७९ करोड, एभरेष्टसँग १७ अर्ब ३५ अर्ब, सिद्धार्थसँग १५ अर्ब ६४ करोड, प्राइमसँग १२ अर्ब १५ करोड, सिटिजनसँग ११ अर्ब ४६ करोड, माछापुच्छ्रेसँग ७ अर्ब ३१ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

हेर्नुहोस्, कुन बैंकको निक्षेप संकलन, कर्जा लगानी र सीडी रेसियो कति ?

स्रोतः नेपाल बैंकर्स संघ, (रकम अर्बमा)


प्रतिक्रिया दिनुहोस्