गभर्नरले किन भने ‘मैले छाडेपछि जे सुकै होस्’ ?

काठमाडौँ । जसोतसो ५ वर्ष अवधि पुरा गरेर गभर्नर महाप्रसाद अधिकारीले बालुवाटार छाड्दै गर्दा वित्तीय स्थायित्व नै गम्भीर समस्यामा फसेको छ ।
यसबीच कर्णाली डेभेलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ ।
राष्ट्र बैंककै अधिकारीहरुका अनुसार कर्णालीमा एकदेखि डेढ अर्ब रुपैयाँ पैसा नउठ्ने अवस्थामा पुगेको देखिन्छ । राष्ट्र बैंकका दुई जना अधिकृतहरुले नेपालगञ्ज गएर काम गरिरहेका छन् ।
त्यहाँ निक्षेपकर्ताहरु र लगानीकर्ताले पुरा पैसा फिर्ता पाउँछन् कि पाउँदैनन् भन्ने अझैसम्म निक्र्योल हुन सकेको छैन । तर योभन्दा ठूलो जोखिम चाहीँ अरु फाइनान्स कम्पनीहरुमा भएको छ ।
अहिले पोखरा फाइनान्स र नारायणी फाइनान्स पनि ‘समस्याग्रस्त’ घोषणा हुने लाइनमै छन् । यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपर्ने भनेर राष्ट्र बैंकको सञ्चालक समितिमा छलफल पनि भइसकेको थियो ।
गभर्नर अधिकारीको ‘गैरजिम्मेवारीपूर्ण’ तर्कले यी संस्थाहरु समस्याग्रस्त घोषणा हुनबाट जोगिएका छन् ।
यसअघि नै राष्ट्र बैंकको सञ्चालक समितिमा यो विषयले प्रवेश पाएपछि गभर्नर अधिकारीले ‘आन्दोलित’ शैलिमा फाइल पन्छाएका थिए । स्रोतका अनुसार गभर्नर अधिकारीले ‘म यहाँ रहुञ्जेल यो फाइन नल्याउनुस्, मैले छाडेपछि जे सुकै होस्’ भनेका थिए ।
उनले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्नेमात्रै होइन, अरु पनि केही गम्भीर फाइलहरु त्यसैगरी पञ्छाएका थिए । आफू ‘रिटायर्ड’ भएपछिमात्रै यस्ता फाइलमाथि निर्णय प्रक्रिया अघि बढाउन सम्बन्धित विभागहरुलाई निर्देशन दिए ।
सञ्चालक समितिको अध्यक्षको कुर्सिमा बसेर यस प्रकारको अभिव्यक्ति दिएपछि सञ्चालक रविन्द्र पाण्डेले गभर्नरको यो भनाइमा आपत्ति जनाएका थिए । उनले बैठकमै ‘गभर्नरले त्यसो भन्न मिल्दैन’ भनेका थिए ।
बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले पनि ‘बचेखुचेको थोरै पैसा समेत समाप्त भएपछि त्यस्ता संस्था सम्हाल्न राष्ट्र बैंकलाई झन् कठीन पर्ने’ भन्दै तत्काल समस्याग्रस्त घोषणा गर्नु उपयुक्त हुने बताएकी थिइन् ।
ती संस्थाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व र अन्तरबैंक सापटीको पैसा समेत नगद निकालसकेको पाइएको भनेर केन्द्रिय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले व्यवस्थापन समितिमा ‘रिपोर्टिङ’ गरेको छ ।
यी संस्थालाई कारबाही गर्न ढिलाई गर्दा दोषि उम्कन मौका पाउने, संस्था झन् जर्जर हुने र त्यसलाई सम्हाल्न अझ कठीन पर्ने अवस्था छँदै छ । त्यसमाथि यसको अर्को जोखिम चाहीँ दोस्रो बजारको कारोबार हो ।
दुई महिनाअघि ३४० रुपैयाँसम्म झरेको पोखरा फाइनान्सको सेयरमूल्य गत विहीबार ४२४ रुपैयाँमा बन्द भएको छ । यसबीचमा सेयरमूल्य बढेर ५२० रुपैयाँसम्म पुगेको थियो । यो संस्था जोखिमपूर्ण बाटोमा अघि बढेपछि चार महिनाअघि सेयरमूल्य ७९५ रुपैयाँसम्म पुगेको थियो ।
सेयर बजारमा योभन्दा ज्यादा जोखिमपूर्ण चाहीँ नारायणी विकास बैंक हो । गत जनवरी १ देखियताका ३ महिनामा जम्मा ११ दिनमात्रै मूल्य ‘करेक्सन’ भएको छ । डिसेम्बर अन्तिममा ९३६ रुपैयाँमा बन्द भएको यो कम्पनीको सेयर मूल्य विहीबार १९७८ रुपैयाँ पुगेको छ ।
नारायणीको सेयरमूल्य १३ असोज अर्थात् ६ महिनाभन्दा पनि कम समय अघि ५३० रुपैयाँमा थियो । यही मूल्य गत बुधबार २६० रुपैयाँसम्म पुगेको थियो । यसरी समस्याग्रस्त घोषणा हुनका लागि ‘गभर्नरको हठ’मात्रै अवरोध बनेर बसेको संस्थाको सेयर मूल्यमा यो बढोत्तरी किन आइरहेको छ ?
यसले दोस्रो बजारमा भइरहेको ‘ठगी’लाई गभर्नर अधिकारीले देखादेखि नजरअन्दाज गर्नुलाई राष्ट्र बैंककै अधिकारीहरुले सन्देहास्पद नजरमा हेरिरहेका छन् । ‘यहाँ त जे पनि हुन सक्छ । कोही कसैले म सेयर बेचिसक्छु, त्यतिञ्जेलका लागि समस्याग्रस्त घोषणा नगरिदिनू भनेर पो यसो गरिएको हो कि ?’ एक अधिकारीले भने ।
केन्द्रिय बैंकले समस्याग्रस्त घोषणा गरिदियो भने कम्पनीको सेयर कारोबार बन्द हुन्छ । त्यसपछि पैसा फस्ने डरले आफ्नो सेयर महँगो मूल्यमा बेच्नका लागि केही व्यक्तिले ‘लाभको लोभ’ देखाएनन् होला भनेर ‘विस्वास गर्ने अवस्था नरहेको’ ती अधिकारी बताउँछन् ।
यद्यपि, हामीले यस प्रकारकाण नियोजित षडयन्त्र छ की छैन भनेर पुष्टि गर्न सकेका छैनौँ । तर पर्याप्त आधार हुँदाहुँदै गभर्नरले समस्याग्रस्त घोषणा गर्न इन्कार गरेका हुन् भने त्यो उनको ‘गम्भीर गल्ति’ हुने छ ।