विदेश छाडेर कृषिकर्ममा रमाउँदै अगस्ती

काठमाडौं । रोजगारीको खोजीमा परदेशिनेको संख्या दिनप्रतिदिन बाक्लिँदै गइरहेको छ । आफ्नो खेतबारी बाझै राखेर सहर पस्नेको संख्यामा पनि कमि छैन । पछिल्लो समय गाउँका उर्भर भुमि झाडीमा परिणत हुँदै गइरहेको छ । मानो रोपेर मुरी फलाउनेहरू आयातित वस्तुमा रमाउन थालेका छन् । फलस्वरूप कृषि प्रधान देश कहलिएको नेपालले वर्षेनी अर्बौ रुपैयाँको खाद्यान्न आयात गरेर बस्नुपरेको छ ।
तर केही यस्ता युवा पनि छन् जसले विदेश छाडेर स्वदेश रोजेका छन् । सहर छाडेर गाउँ । यसैमध्येका एक हुन् नुवाकोटको लिखु गाउँपालिका ४, चौघडाका रामचन्द्र अगस्ती । उनी कोरियाको ३ लाख रुपैयाँ तलब छाडेर स्वदेशमै बसेर कृषिमा रमाइरहेका छन् ।
काठमाडौंमा रहेको घर बेचेर जन्मथलोमा कृषिकर्म गरिरहेका छन् । अगस्ती कृषिमा नयाँपन खोजिरहेका छन् । हरेक कामलाई सहज र छिटोछरितो रुपमा कसरी गर्न सकिन्छ भनेर खोजी गरिरहन्छन् । रैथाने र गाउँघरमा खेर जाने वस्तुलाई मोहोर बनाउन लागिरहेका छन् । युवापुस्तामा देखिएको कृषिप्रतिको वितृष्णा र विदेशप्रतिको मोहलाई चिर्न खोजिरहेका छन् ।
‘विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने यहाँ सम्भावनाका मार्गहरू आफ्नै खुल्दै जानेछन्’ उनी भन्छन् । विदेशको दुख बुझेको उनलाई आफ्नै माटोको सुगन्ध प्यारो लाग्ने उनी बताउँछन् ।

गाउँघरमा यतिकै खेर जाने कुभिन्डो र केराको बुङ्गोलाई उनले ब्राण्ड बनाइरहेका छन् । हरेक शनिबार काठमाडौंको दरबारमार्गस्थित रैथाने हाटबजारमा उनी गाउँघरमा यतिकै खेर जाने कुभिन्डो र केराको बुङ्गोलाई बिक्री गर्न ल्याउँछन् । यसबाट आफूमात्र नभई गाउँघरमा मान्छेलाई समेत आर्थिक लाभ पुगेको उनी बताउँछन् । यो त उनको दैनिकीभित्र पर्छ ।
यो बाहेक उनी सिजन अनुसारको तरकारी उत्पादन गरिरहेका हुन्छन् । चौघडा आलु खेतीको लागि प्रशिद्ध ठाउँ हो । केही समयदेखि उनी आलुखेती गरिरहेका छन् । उनले यसबाट मनग्गे आम्दानी पनि गरेका छन् । उनले ६ रोपनी जग्गामा आलुखेती गरेका थिए । जसबाट करिब ३ महिनामा साढे २ लाख आम्दानी गर्न सफल भए । ‘आलु खेतीमा पनि नयाँ शैली अपनाए । खर्च कम पनि काम धेरै होस् भन्ने सोचेर नै परम्परगत भन्दै भिन्न शैली अपनाएको हुँ’, उनले भने । उनले साढे ८ हजार केजी आलु फलाएका थिए ।
व्यवसायिक कुभिन्डो खेती गरिँदै
गाउँघरमा कुफल भनेर चिनिएको कुभिन्डोलाई ब्राण्ड बनाउने उनको योजना छ । त्यसैले उनले कुभिन्डोको व्यावसायिक खेती गर्ने योजना बनाएका छन् । आलु खनेर लगाइएको मकै खेतीमा कुभिन्डो लगाएका छन् । उनले कुभिन्डो र मकैको मिश्रित खेती गरेका छन् । ‘पहिला पहिला कुभिन्डोलाई कुफल भनेर यतिकै फाल्नुहुन्थ्यो । अहिले यसको महत्व बुझ्न थाल्नुभएको छ । यसको महत्व बुझाउन सकेको खुशी लाग्छ’ उनले भने, ‘अब बिस्तारै यसको व्यावसायिक खेति गर्नेछु । अहिले अहिले मकै र कुभिन्डो एकै ठाउँमा लगाएको छ । एक एक मिटरको ग्याप राखेर मकै र कुभिन्डो रोपेको छु ।’ कृषिमा विविधीकरण र व्यवसायीकरण खोज्ने हो भने विदेशमा भन्दा राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन् ।

कुभिन्डो बहुउपयोगी भएकोले पनि यसको ब्रान्डिङका गर्नुपर्ने उनी बताउँछन् । अगस्तीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग कुरा गरेर यसको बीउ जोगाउन र ब्रान्डिङका लागि परिरहेका छन् ।
कुभिन्डोको धेरै तरिकाले प्रयोग गर्न सकिने उनी बताउँछन् । कुभिण्डोको बाहिरको सेतो धुलो क्यान्सर उपचारको रुपमा प्रयोग हुने उनी बताउँछन् । भित्री भागलाई पिठो बनाएर सुगरका बिरामीले दैनिक खाँदा औषधिको काम गर्ने विभिन्न अनुसन्धानबाट पत्ता लागिसकेको छ । यसको अलावा कुभिन्डोको बियाँलाई अचारको लागि छोपको रूपमा प्रयोग गर्न सकिन्छ ।
चाना बनाएर खल्पी अचार र तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसको मस्यौरा पनि विश्वबजारमा प्रख्यात छ । अगस्तीले एक सिजनै डेढ लाख रुपैयाँ कुभिन्डो बिक्री गरेका छन् । आउने सिजनमा ८ लाख रुपैयाँ बराबरको कुभिन्डो बिक्री गर्ने लक्ष्य राखेका छन् । हजारौं युवाको सपना बनेको कोरिया छाडेर आएकोमा पश्चाताप छैन ।
कुभिन्डोलाई भारतका आयुर्वेद कम्पनीहरूले जुस बनाएर विश्वबजारमा महँगो मूल्यमा बेचिरहेका उदाहरणहरू छन् । यसलाई व्यावसायिक खेतीको रूपमा लगाउने हो भने नेपालले मनग्गे आम्दानी गर्न सकिने उनी बताउँछन् ।