बिग्रियो म्युचुअल फन्डहरुको ब्यालेन्स सिट : कुनको न्याभ, नाफा र सेयर बजारमा लगानीको अवस्था कस्तो ? « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

बिग्रियो म्युचुअल फन्डहरुको ब्यालेन्स सिट : कुनको न्याभ, नाफा र सेयर बजारमा लगानीको अवस्था कस्तो ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूको वित्तीय प्रदर्शन कमजोर देखिएको छ ।

हालै सार्वजनिक भएका गत चैत महिनाको विवरणहरूअनुसार फन्डहरूको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा गिरावट आएको छ ।

हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ४३ वटा म्युचुअल फन्ड सूचीकृत छन्, तीमध्ये अधिकांशको ब्यालेन्ससिट सकरात्मक रहन सकेन । सेयर बजारमा देखिएको उतारचढावका कारण फन्डहरूको समग्र वित्तीय स्थितिमा नकरात्मक प्रभाव परेको देखिएको छ ।

गत फागुन महिनाको तुलनामा चैतमा फन्डहरूको औसत नाफा २७.५५ प्रतिशत घटेको छ । यस्तै, सेयर बजारमा गरिएको लगानी पनि ९ प्रतिशत बढी घटेको देखिन्छ । यता, फन्डहरूको औसत न्याभ ०.२६ रुपैयाँले घटेको छ।

सेयर बजारको अनिश्चितताले म्युचुअल फन्डहरूको लगानी प्रतिफलमा प्रत्यक्ष असर पारिरहेको हो । नाफा र न्याभमा आएको गिरावटले लगानीकर्ताको मनोबलमा समेत प्रभाव पारेको देखिन्छ ।

झन्डै चार अर्ब घट्यो सेयर बजारमा लगानी, कसले बढाए–कसले घटाए ?

चैतमा फन्डहरुले सेयर बजारमा लगानी झन्डै चार अर्ब घटाएका छन् । गत फागुनमा कुल ४२ अर्ब २७ करोड ७६ लाख ७२ हजार रुपैयाँ लगानी गरेका थिए । तर, चैतमा भने ३८ अर्ब ३९ करोड ४६ लाख ६६ हजार रुपैयाँमा झरेको छ । यो गत फागुनको तुलनामा ९.१८ प्रतिशत अर्थात् ३ अर्ब ८८ करोड ३० लाख रुपैयाँ रुपैयाँ कमी हो ।

झन्डै दुई दर्जन फन्डको लगानीमा गिरावट आएको छ । अन्यको भने सामान्य बढोत्तरी देखिन्छ । सेयर बजारमा सबैभन्दा धेरै लगानी एनएमबि सरल बचत फन्ड ईको २ अर्ब ६६ करोड ११ लाख रुपैयाँ छ । यो गत फागुनको तुलनामा ६.६५ प्रतिशत धेरै हो ।

१७ वटा फन्डको लगानी १ अर्ब माथि छ । सिद्धार्थ इक्विटी फन्डको १ अर्ब ४३ करोड ६३ लाख, प्रभू सेलेक्ट फन्ड १ अर्ब ४० करोड, सनराइज ब्लुचिप फन्डको १ अर्ब २८करोड, एनएमबि सुलभ फन्ड दोस्रोको १ अर्ब २७ करोड १२ लाख, एनआइबिएल समृद्धि फन्ड २ को १ अर्ब २५ करोड लगानी छ ।

चैतमा एनआइबिएल सहभागिता फन्ड, एनआइसी एशिया ब्यालेन्सड फन्ड र डायनामिक फन्ड, ग्रोथ फन्ड २ लगायतका फन्डहरुको लगानीमा गिरावट आएको छ ।

साढे २७ प्रतिशत घट्यो नाफा, आधा दर्जन फन्डहरु नोक्सानीमै

चैतमा फन्डहरुको नाफामा २७.५५ प्रतिशत अर्थात् १ अर्ब २९ करोड ६६ लाख रुपैयाँ घटेको छ । गत फागुनमा फन्डहरुले ४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ नाफा कमाएका थिए । तर, चैतमा भने ३ अर्ब ४० करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा पाँच वटा फन्डहरु नोक्सानीमा छन् । ‘एनआइविएल समृद्धि फन्ड–२’१९ करोड ११ लाख रुपैयाँ, मेगा म्युचुअल फन्ड–१ ५ करोड २५ लाख, एनआइबिएल स्टेबल फन्ड १ करोड ५५ लाख, गरिमा समृद्धि योजना ७१ लाख, र कुमारी सबल योजना १० लाख रुपैयाँ घाटामा छन् । चैतमा नाफा बढाउने एउटा पनि फन्ड छैनन्, सबैको नाफामा दोहोरो अंकमै गिरावट आएको छ ।

सो महिनामा सर्वाधिक नाफा भने प्रभू सेलेक्ट फन्डले नै कमाएको छ । फन्डले एकै महिना २२ कराड ८ लाख रुपैयाँ नाफा कमाएको हो । यस्तै, सिद्धार्थ इक्विटी फन्डले २० करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । चैतमा ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१, हिमालयन ८०–२०, प्रभू स्मार्ट फन्ड, नबिल ब्यालेन्सड फन्ड–२, ३, लगायतका फन्डहरु शीर्ष सूचीमा छन् ।

सबै फन्डको न्याभ खस्कियो, कसको कति घट्यो ?

चैतमा सूचीकृत सबै फन्डको न्याभ घटेको छ । सो महिनामा औसत ०.२६ रुपैयाँ घटेर १०.६२ रुपैयाँ कायम भएको छ ।
सो महिनामा सबैभन्दा उच्च न्याभ हिमालयन ८०–२० को १२.४६ रुपैयाँ छ । दोस्रो स्थानमा रहेको प्रभू स्मार्ट फन्डको १२.३८ रुपैयाँ छ ।

यता, प्रभू सेलेक्ट फन्ड १२.२७ रुपैयाँ, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड सेकेन्ड १२.२७, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड १ को १२.०१ रुपैयाँ कायम भएको छ ।

चैतमा १८ वटा फन्डहरुको न्याभ ११ रुपैयाँ बढी छ भने १६ वटाको १० रुपैयाँ बढी छ । सो महिनामा दुई वटा फन्डको न्याभ १० रुपैयाँ तल छ ।


प्रतिक्रिया दिनुहोस्