कफी संस्कृतिमा बदलाव ल्याउने ‘हिमालयन जाभा’ : त्यो अठोट, यो सफलता « Arthapath.com
२० बैशाख २०८२, शनिबार

कफी संस्कृतिमा बदलाव ल्याउने ‘हिमालयन जाभा’ : त्यो अठोट, यो सफलता



काठमाडौं । अचेल शहरका प्रेमिल जोडीहरु अक्सर कफीशपका ‘कर्नर’हरुमा भेटिन्छन् । उनीहरु एकअर्काको भावना र प्रेमको गहिराईमा मात्रै होइन, तीतो कफीको मीठो स्वादमा पनि उस्तै डुब्छन् र सुस्तारै हराउँछन् ।

हेर्दा कालो र चाख्दा तीतो हुने कफी युवा पुस्ताको ‘साथी’ नै बन्न थालेको छ । अब त पुरानो पुस्ता पनि कफी कल्चरमा पुरापुर अभ्यस्त देखिन्छ । तर यो चिज हाम्रो समाजमा कालान्तरदेखि यति प्रिय बनेको थिएन ।

नेपालमा कफी संस्कृतिको इतिहास खासै लामो छैन । दुई दशक अघिसम्म पनि कफी नेपालको प्रमुख पेय पदार्थको रूपमा स्थापित थिएन । प्रायः चिया र दूधको परम्परागत पेय पदार्थले नेपाली समाजमा आफ्नो वर्चस्व जमाइरहेको थियो ।

कफीको नाम धेरैलाई थाहा थियो, तर त्यो प्रचलनमा थिएन । कफी केवल सीमित प्रतिष्ठानहरूमा पाइन्थ्यो । सामान्य जनता कफीको स्वाद र यसको विविधता थाहा पाउनबाट टाढा थिए । कफी भन्ने बित्तिकै हुनेखाने वर्गले मात्र पिउने भन्ने भाष्य थियो । कफीलाई एक महँगो र परदेशी पेयको रूपमा पनि लिइन्थ्यो ।

जसरी अहिले हामी साथीभाइ भेट्दा ‘कफी खाउँ न’ भनेर प्रस्ताव गरिन्छ, त्यो बेला अवस्था त्यस्तो थिएन । ‘हिमालयन जाभा’को स्थापनासँगै नेपालमा कफी संस्कृतिमा एउटा ठूलो बदलाव आयो । गगन प्रधान र आनन्द गुरुङजस्ता दुई युवा उद्यमीहरूको दृष्टिकोण र परिश्रमले नेपालमा कफीको स्वाद र संस्कृतिको परिभाषा नै बदलिदियो ।

सन् १९९९ मा सुरु भएको हिमालयन जाभाको सानो क्याफे नेपालमा कफीको बजारको विकासको निम्ति क्रान्तिकारी साबित बन्न पुग्यो । यसका संस्थापकहरूले नेपालको कफी बजारलाई अर्गानिक र स्वस्थ कफीको माध्यमबाट सस्तो एवम् सुलभ बनाउने निर्णय गरेका थिए ।

कफीलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने परिदृश्य नभएको अवस्थामा सुरुवाती चरणमा हिमालयन जाभाले पनि संघर्ष गर्नुपर्यो । उसको त्यो संघर्षपछि अहिले नेपालमा ‘कफी कल्चर’को विकास भएको छ ।

आजभन्दा २ दशकअघि अर्थात् यो देशमा लोकतन्त्र स्थापनाको समयताका कतैकतै मात्रै पाइने कफी अहिले सर्वत्र उपलब्ध छ । सामान्य दोकानदेखि तारे होटलहरूमा अनेक खालका कफीको स्वाद चाख्न पाइन्छ ।

त्यति मात्र होइन, कुनै बेला ‘प्रतिष्ठा’ मानिने कफी अब ‘साधारण सत्कार’को विषय बनेको छ ।

फरक पृष्ठभूमिका साझेदार

गगन प्रधान हस्पिटालिटी अर्थात् आतिथ्य सेवामै काम गरेका व्यक्ति हुन् । तर उनका साझेदार आनन्द गुरुङ भने मेकानिकल इन्जिनियर । प्रधानले अष्ट्रेलियाबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक (बीएचएम) गरेका छन् । त्यस्तै गुरुङले अष्ट्रेलियाबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

भिन्न पृष्ठभूमिका यी दुई साथी नेपाल फर्किएर कफी उद्योगमा होमिए । उनीहरू दुवैले अष्ट्रेलियाबाट आफ्नो अध्ययन पूरा गरेपछि नेपाल फर्के र कफीको उद्योगमा आफ्नो यात्रा आरम्भ गरे ।

गगन प्रधानले अष्ट्रेलियामा अध्ययन गर्दा कफी संस्कृतिमा विशेष रुचि राख्थे । त्यही बेला उनलाई थाहा भयो कि– कफी केवल एक पेय मात्र होइन, त्यो एउटा अनुभव र जीवनशैली हो ।

अष्ट्रेलियामा उनले कफीको महत्व र संस्कृति गहिरो रूपमा बुझ्न सफल भए । त्यसबाटै प्रेरित भएर गगन र आनन्दले नेपाल फर्केपछि आफ्नो सपना पुरा गर्ने निर्णय गरे । यसरी उनीहरूले हिमालयन जाभा खोले र नेपालमा कफी संस्कृतिको विकासमा योगदान पुर्याए ।

कफी संस्कृतिको विकासका क्रममा नेपालले केही चुनौतीहरू पनि भोगेको छ । नेपालका कफी कृषकहरूले शुरूवातमा कफी उत्पादनको सही विधि र प्रविधिहरू जान्दैन थिए । उच्च गुणस्तरीय कफी बिऊको अभाव, कृषकहरूको तालिमको कमी, र कफीको बजारको अभावजस्ता चुनौतीहरू थिए । यस्ता समस्याले नेपाली कफीको बजारलाई सस्तो र प्रविधि अनुकूल बनाउन बाधा पुर्याएको थियो ।

तर, हिमालयन जाभाले यी सबै चुनौतीलाई अवसरको रूपमा परिणत गरेको छ । उसले कफी कृषकलाई आधुनिक उत्पादन विधि र प्राकृतिक प्रविधिहरूमा प्रशिक्षित गरिदियो । यसबाट कृषकहरूको उत्पादन बढाउनमा मद्दत पुर्यायो ।

त्यसका साथै, कफीको मार्केटिङ र ब्रान्डिङमा नयाँ युगको सुरुवात जाभाले गर्यो । यसले नेपाली कफीको उपभोक्ता वर्गको माग पुरा गर्न सघायो ।

हिमालयन जाभाको सफलता केवल यसको कफीको स्वादमा होइन, यसका सेवा र वातावरणमा पनि निर्भर छ । कफी पिउँदा उपभोक्ताले गफिने स्थान र त्यसै किसिमको वातावरणलाई समेत यसले प्राथमिकता दिएको छ ।

पारम्परिक चियाको प्रतिस्पर्धाकै बीच हिमालयन जाभाले कफीलाई मात्र एक पेयको रूपमा नभई कफी र गफको रमाइलो सांस्कृतिक पहिचानलाई अँगालेको छ । यसले पिउने र बाँच्ने कला मात्र होइन, सम्वाद र मनोरञ्जनको परिभाषालाई पनि नयाँ ढंगले प्रकट गरेको छ ।

जाभाका दुई मालिक यसलाई आफूहरुको सफलता मान्छन् ।

आक्रामक विस्तार

कफी संस्कृतिमा नयाँ युगको शुरुआत गर्नेवाला हिमालयन जाभाको दायरा दिन–प्रतिदिन फैलिँदै गएको छ । विभिन्न आरोह, अवरोहबीच हिमालयन जाभाले पछिल्लो समय जादुयी उडान भरिरहेको छ ।

हिमालयन जाभा नेपाल भरिका विभिन्न स्थानहरूमा फैलिएको छ । यसका शाखाहरू काठमाडौँ उपत्यका, पोखरा, भैरहवा लगायतका प्रमुख शहरहरूमा रहेका छन् । अन्तर्राष्ट्रिय रूपमा क्यानडा, अमेरिका लगायतका स्थानहरूमा पनि यसको शाखाहरू सञ्चालनमा छन् ।

सन् २०२५ भित्र १०० वटा शाखा पुर्याउने लक्ष्य राखेको हिमालयन जाभा हालसम्म ७० स्थानमा उपस्थित भइसकेको छ । सन् २०१७ सम्म १५ वटा आउटलेट भएको हिमालयन जाभाले सन् २०२० पछि भने आक्रामक विस्तार गरेको छ ।

कफी बजारको विस्तार हुँदै गर्दा हिमालयन जाभाको व्यवसाय विस्तार पनि तीव्र हुन थालेको छ । कफी खाने प्रवृत्ति र कफी पारखी बढेसँगै हिमालयन जाभाको उचाई थप चुलिएको संस्थापक प्रधान बताउँछन् ।

करिब १० लाखको लगानीबाट सुरू भएको हिमालयन जाभा अहिले अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । यसको पोर्टफोलियो ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

आजको दिनमा हिमालयन जाभा कफी पारखीहरुका लागि ज्यादै उपयुक्त थलो बनेको छ । साथीभाइ भेट्दा होस् या थकान मेट्न अथवा कफीको अर्गानिक स्वाद चाख्न नै किन नहोस्, हिमालयन जाभा अधिकांशको पहिलो रोजाई बनेको छ ।

कफीको अग्र्यानिक स्वाद र गुणस्तरमा अडिग हिमालयन जाभाले ग्राहकको मन जितिरहेको छ । हिमालयन जाभाले ८०० भन्दा बढीलाई रोजगारी मात्र दिएको छैन, कफी कृषकलाई समेत प्रोत्साहित गरिरहेको छ । नेपाली कफी कृषकको जीवनस्तर सुधार गर्दै उसलेले नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा एक अधिकार जमाएको छ ।

गल्ली–गल्लीमा कफी शप खुलेको दृश्य अब नेपालमा नौलो रहेन । राजधानीदेखि पर्यटकीय शहरहरूसम्म हरेक कुनामा कुनै न कुनै क्याफे देखिन थालिसकेको छ । तर यतिधेरै विकल्पबीच पनि हिमालयन जाभाको पहिचान भने आफ्नै खालको छ— छुट्टै, विशिष्ट र सुसंस्कृत ।

यो सफलताको मूल कारण भनेको नै स्वाद, सेवा र गुणस्तर हो ।

हिमालयन जाभाले अर्गानिक नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति दिएको छ । यहाँको कफी केवल पेय होइन, अनुभव हो । जहाँ स्वादले कथा सुनाउँछ, र प्रत्येक चुस्कीमा माटोको सुगन्ध मिसिएको हुन्छ ।

सस्तो लोकप्रियताको भीडमा गुम्नुभन्दा एक्लो धरहरा झौँ खडा भएर उसले आफ्नै मूल्य र आत्मा जोगाएको छ । यही कारण, गल्ली–गल्लीमा कफी पाइए पनि हिमालयन जाभा भने सधैं ‘पहिलो रोजाइ’ को सूचीमै रहन्छ ।

आईपीओ जारी गर्ने तयारी

कफी कल्चर स्थापित गर्ने हिमालयन जाभा अब आफ्नो नाफा र स्वामित्व आम नेपाली जनातामा पनि साझा गर्न उत्प्रेरित छ । त्यसका लागि कम्पनी अब प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीमा जुटेको छ ।

यो योजना केवल पूँजी संकलनका लागि नभई कफी प्रेमीहरूलाई आफ्नै रोजाइको ब्रान्डमा हिस्सेदार बनाउने सपना पनि हो । यो योजना हिमालयन जाभाको पारदर्शीता र दीर्घकालीन दिगोपनप्रतिको प्रतिबद्धताको संकेत हो ।

संस्थागत संरचना थप सुदृढ बनाउँदै, लगानीकर्तासँगको प्रत्यक्ष सहभागितामार्फत ब्रान्डको मूल्यमा जनस्तरको विश्वास मिसाउने यो प्रयासले नेपाली स्टार्टअप र उद्यमशीलता संस्कृतिमा पनि एउटा उदाहरणीय मोडल दिने आशा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्