‘रिभाइभ’ मोडमा अर्थतन्त्र, के अब चमक आउँदैछ ? « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

‘रिभाइभ’ मोडमा अर्थतन्त्र, के अब चमक आउँदैछ ?



काठमाडौं । लामो समयदेखि मन्दी र अस्थिरताले ग्रस्त नेपाली अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । मुलुकको अर्थतन्त्र अहिले पुनःस्थापनाको चरणमा प्रवेश गरेका देखिन्छन् । पछिल्लो समय आर्थिक सूचकहरू क्रमशः सकारात्मक बन्दै गएका छन्।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको मुलुकको वर्तमान वित्तीय स्थिति सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांक (मुद्रास्फीति) वाञ्छित सीमा भित्रै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति साढे ५ प्रतिशत भित्रै सीमित राख्ने लक्ष्य लिएको छ, जबकि चैत मसान्तसम्म मुद्रास्फीति ३.३९ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ । खाद्य तथा उपभोग्य वस्तुहरूमा केही दबाब रहेपनि समग्र मुद्रास्फीतिको दर लक्ष्यअनुसार रहनुले अर्थतन्त्रका लागि सकारात्मक संकेत दिएको राष्ट्र बैंकले जनाएको छ ।

देशको कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा १७ अर्ब ६३ करोड बराबर हो । यो सञ्चिति हालको आयात परिमाणअनुसार १७.२ महिनासम्मको वस्तु आयात र १४.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । वैदेशिक ऋण र वस्तु आयात भुक्तानीमा यो सञ्चितिले महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् ।

निर्यातमा उल्लेखनीय सुधार, भारतसँगको व्यापार बढ्दो

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट भएको कुल वस्तु निर्यातमा ६५.२ प्रतिशतको वृद्धि देखिएको छ । यो अवधिमा कुल १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने निर्यात ३.७ प्रतिशतले घटेको थियो ।

देशगत आधारमा भारततर्फको निर्यात ९२.६ प्रतिशतले वृद्धि भएको छ । यस्तै, चीनतर्फ ६.७ प्रतिशत वृद्धि भएको छ भने अन्य मुलुकहरूतर्फ ५.८ प्रतिशतको सुधार देखिएको छ ।

वस्तुगत रूपमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामग्री, खोटो आदि वस्तुको निर्यात बढेको देखिन्छ । तर, पाम तेल, जिंक शिट, अदुवा, जुश र तयारी पोशाकहरूको निर्यात भने घटेको छ ।

आयातमा पनि वृद्धि, तर व्यापार घाटा अझै उच्च

नौ महिनाको अवधिमा कुल वस्तु आयात १२.२ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा कुल आयात १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा आयात २.८ प्रतिशत घटेको थियो । केन्द्रिय बैंकका अनुसार मुलुकगत आधारमा भारतबाटको आयात ७.७ प्रतिशत वृद्धि भएको छ । यता, चीनबाट १४.४ प्रतिशत र अन्य मुलुकहरूबाट २४.९ प्रतिशतले बढेको देखिन्छ ।

वस्तुगत रूपमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारीसाधन, खाने तेल, स्पन्ज आइरन आदिको आयात बढेको छ । विपरीत रूपमा पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाज पार्टपुर्जा, रासायनिक मल, छपाइ कागज आदि वस्तुको आयातमा गिरावट आएको छ । आयात प्रतिस्थापनमा केन्द्रित सरकारी रणनीतिले यस्तो परिणाम ल्याएको मानिन्छ ।

यद्यपि, निर्यातमा सुधार देखिए पनि व्यापार घाटा अझै ठूलो नै छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशत बढेको छ । योसँगै मुलुकले ९ महिनआमा ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

निर्यात वृद्धिको अनुपातमा आयात अझै धेरै छ । त्यसकारण सरकारलाई व्यापार घाटा गहिरिन नदिने उपाय खोज्नका लागि विज्ञहरुको सुझाव छ ।

रेमिट्यान्स वृद्धि र त्यसको प्रभाव

नेपाल भित्रने रेमिट्यान्सको वृद्धिदर उच्च नै छ । समिक्षा अवधिमा रेमिट्यान्स १० प्रतिशत बढेको देखिन्छ ।

केन्द्रिय बैंकको आँँकडा अनुसार ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यसले देशको उपभोग मात्रै नभई स्थानीय लगानी र उत्पादनमा समेत सकारात्मक असर पारेको देखिएको छ । विशेषतः कृषिमा यान्त्रीकरण, लघु उद्यम प्रवद्र्धन, र पर्यटन क्षेत्रमा सुधार हुँदै गएको बताइन्छ ।

सुधारको संकेत, तर चुनौती कायमै

सामान्यतः नेपाली अर्थतन्त्र सुधारको मार्गमा अग्रसर देखिन्छ । मौद्रिक र वित्तीय सूचकहरू सन्तुलनतर्फ उन्मुख छन् । तर, दीर्घकालीन स्थायित्वका लागि नीति कार्यान्वयनमा प्रभावकारिता आवश्यक देखिन्छ । साथै, व्यापार घाटा नियन्त्रण, रोजगारी सिर्जना र उद्योगमैत्री पूर्वाधार विस्तारमा अझ गहिरो ध्यान पु¥याउनु पर्ने विज्ञहरूको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्