‘दिगो बचत खाता’मार्फत हरित अर्थतन्त्रमा नबिल बैंकको सशक्त पहल

काठमाडौं । पछिल्लो समय पर्यावरणसम्बन्धि मुद्दा पेचिलो र जटिल बन्दै गइरहेको छ । वातावरणीय संकट दिन प्रतिदिन गहिरिँदै जाँदा यो अब विश्वव्यापी बहसको विषय बनेको छ । विगत केही दशकमा जलवायु परिवर्तन केवल वैज्ञानिक बहसको विषय नभई दैनिक जीवनका साना–ठूला संकटहरूको कारक बन्दै आएको छ ।
आज विश्वभर आर्थिक नीति, ऊर्जा स्रोत र जीवनशैलीलाई कार्वन न्यूनीकरणतर्फ मोड्ने आवश्यकता देखिएको छ । नेपालले सन् २०४५ सम्म ‘शून्य कार्बन उत्सर्जन’ को महत्वाकांक्षी लक्ष्य लिएको छ । यति महत्वाकांक्षी लक्ष्य पूरा गर्न सरकार नीतिगत रूपमा अगाडि बढिरहेको छ भने निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाहरूले पनि आआफ्नो स्तरबाट सक्रियता बढाइरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले ‘शून्य कार्बन उत्सर्जन’ का लागि हातेमालो गर्न थालेका छन् । बैंकहरूले ग्रीन फाइनान्सिङ (नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, वातावरणमैत्री निर्माण र इलेक्ट्रिक सवारी साधन जस्ता परियोजनाहरूमा प्राथमिकता दिन थालेका छन् ।
पर्यावरण, सामाजिक उत्तरदायित्व र सुशासनको आधारमा लगानी निर्णय गर्ने अभ्यास बढाउदै लागेका छन् । केही बैंकहरूले अन्तर्राष्ट्रिय गठबन्धन जस्तै, नेट–जीरो बैंकिङ अलायन्समा सदस्यता लिएर सन् २०५० भित्र कार्बन न्यूट्रल हुने लक्ष्य राखेका छन् ।
नबिल बैंकले दिगो विकास र वातावरणमैत्री बैंकिङमा अग्रसरता मात्र देखाएको छैन, सशक्तरूपमा काम समेत गरिरहेको छ । बैंकले आफ्नो कार्बन उत्सर्जन कम गर्ने योजना बनाउँदै, हरित प्रविधिमा लगानी गर्दै र सामाजिक–आर्थिक विकास प्रवर्धन गर्ने परियोजनाहरू अघि बढाउने प्रतिबद्धतासहित काम गरिरहेको छ । नबिल बैंकले सुरु गरेको ‘नबिल दिगो बचत खाता’ त्यही यात्राको नयाँ अध्याय हो ।
बैंकले हालसालै ल्याएको ‘नबिल दिगो बचत खाता’ योजना बैंकिङ उत्पादन मात्र नभएर बचतको माध्यमबाट वातावरणीय उत्तरदायित्व निर्वाह गर्ने अभ्यास हो । बैंकको पहलले फाइनान्स र ‘सस्टेनेबिलिटी’ बीचको पुलको काम गर्ने विश्वास बैंकको रहेको छ ।
बचत खातामा नयाँ आयाम
परम्परागत बैंकिङ प्रणालीमा ग्राहकले निक्षेप राख्ने, ब्याज प्राप्त गर्ने र अन्य वित्तीय सेवा लिने गर्छन् । तर ‘दिगो बचत खाता’ले यस प्रणालीमा नयाँ आयाम थपेको छ । जसले ग्राहकको बचतको एक अंश वातावरण संरक्षणमा प्रयोग हुनेछ ।
बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण एवम् नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाताको सुरुवात गरेको जनाएको छ ।
विशेषगरी, यो योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ । बैंकले उक्त रकम वन पुनःस्थापना, वृक्षारोपण, नवीकरणीय ऊर्जा प्रवद्र्धन, फोहोर व्यवस्थापन, स्वच्छ पानी र अन्य दिगो परियोजनाहरूमा लगानी गर्नेछ ।
यस खालको नविन प्रणालीले ‘हरित बचत’लाई व्यवहारमा उतार्ने विश्वास बैंकको छ । ‘दिगो बचत खाता’ले बचतको अर्थलाई परम्परागत ‘आर्थिक सुरक्षाको साधन’बाट फराकिलो बनाउँदै भविष्यको वातावरण सुरक्षित गर्ने कदमको रूपमा परिभाषित गरेको छ । अब बैंकमा पैसा राख्नु भनेको केवल ब्याज कमाउनु मात्र नभई पर्यावरणमा समेत योगदान पुर्याउनु हो ।
यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा ५० हजार राख्ने ग्राहकका नाममा टोकन स्वरुप एक पटकका लागि वृक्षारोपण गरिनेछ । ‘दिगो बचत खाता’ले ग्राहकलाई वातावरणीय दायित्व निर्वाह गर्ने अवसर दिन्छ भने साथसाथै विविध वित्तीय लाभहरू पनि उपलब्ध गराउने विश्वास बैंकको छ ।
यस खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार आवश्यक पर्नेछ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ ।
यो खाता खोल्ने ग्राहकले पहिलो वर्ष निःशुल्क डेबिट/क्रेडिट कार्ड प्राप्त गर्नेछन् । त्यसैगरी, न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू (एनबैंक र एनबैंक वेभ) आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकहरूले ३ लाख ७५ हजारसम्मको बीमा सुविधा प्राप्त गर्नेछन् ।
दिगो बैंकिङमा नबिलको अग्रणी भूमिका
नबिल बैंकको ४० वर्षे इतिहासमा नविन प्रयासहरू गर्नेजस्ता थुप्रै उदाहरण छन् । बैंकले दिगो बैंकिङको विभाग नै खडा गरेर काम गरिरहेको छ । ‘दिगो बचत खाता’को सुरुवात पनि यसै रणनीतिक सोचको निरन्तरता भएको बैंकले जनाएको छ ।
हाल बैंकले २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ । यति ठूलो संरचनालाई हरित दिगो दिशातर्फ मोड्नु स्वाभाविक रूपमा सकारात्मक वातावरणीय प्रभाव पर्नेछ ।
नबिलको यो कदम अन्य बैंकहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ । कार्वन न्यूनीकरणका लागि काम गर्न चाहने तर प्रत्यक्ष क्षेत्रमा संलग्न हुन नसक्ने ग्राहकहरूको लागि, यस्ता खाता प्रणाली सहभागिताको माध्यम बन्न सक्ने बैंकले जनाएको छ ।
त्यसैले, वित्तीय संस्थाहरूले अब मात्र लाभांश वितरण वा बजार हिस्सा बढाउनेभन्दा दिगो अर्थतन्त्र निर्माणमा आफ्नो उत्तरदायित्व पनि आत्मसात् गर्नुपर्ने बेला आएको छ ।