घर-जग्गा बजारमा उत्साह: तीन वर्ष यताकै उच्च कारोबार, के लगानीकर्ताको भरोसा फर्किएको हो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

घर-जग्गा बजारमा उत्साह: तीन वर्ष यताकै उच्च कारोबार, के लगानीकर्ताको भरोसा फर्किएको हो ?



काठमाडौं । विगत तीन वर्षदेखि निरन्तर सुस्ताएको घरजग्गा कारोबार पुनः सकरात्मक दिशा तर्फ उन्मुख देखिएको छ ।

पछिल्लो समय घट्दो ब्याजदर, पूर्वाधार विस्तार र नीतिगत लचकता लगायतको समिश्रणले घरजग्गा बजारमा सकारात्मक संकेत देखाएको छ । गत बैशाख महिनामा २०७८ यताकै उच्च कारोबार भएको छ ।

कोरोनापछिको आर्थिक अनिश्चितता अब केही हदसम्म सामान्य बन्दै गएको छ । आर्थिक गतिविधिमा पुनःगति लिन थालेको छ, लगानीकर्ताहरूमा पनि विश्वास बढ्न थालेको देखिन्छ ।

पछिल्लो केही महिनामा बजारमा सकारात्मक संकेत देखिन थालेको छ । ब्याजदर घट्नु, सहज कर्जा सुविधा र केही नीतिगत लचकताले घरजग्गा बजारलाई विस्तारै लयमा फर्किने संकेत देखाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । गत बैशाखमा देशभर ५२ हजार ४२३ वटा घरजग्गा कारोबार भएका छन् । यो चालु आर्थिक वर्षकै उच्च हो । पछिल्लो तीन वर्ष यताकै धेरै कारोबार गत बैशाखमा भएको देखिन्छ ।

अघिल्लो वैशाखको तुलनामा समग्र कारोबार ५.३० प्रतिशत बढी हो । गत चैतको तुलनामा पनि ५.२० प्रतिशत बढी हो । समग्र कारोबारको वृद्धिदर पनि ५ प्रतिशत हाराहारीमा देखिएको छ । पछिल्ला मासिक कारोबारको आँकडाले पनि विस्तारै चलायमान हुने संकेत गरेको छ ।

तीन वर्षको लगातार सुस्त अवस्थापछि बैशाख महिनामा देखिएको सुधारले घरजग्गा बजार फेरि सक्रिय बन्ने आशा देखाएको छ । पछिल्लो समय कारोबार र राजस्व दुवैमा देखिएको वृद्धि, नीतिगत समर्थन र आर्थिक लचकताले आगामी दिनमा अझ सुधार आउने विश्वास दिलाएको व्यवसायीहरु बताउँछन् ।

विभागका अनुसार गत चैत महिनामा पनि देशभर ४९ हजार ८३२ वटा घरजग्गा किनबेच भएको छ । यस्तै, फागुनमा ४६ हजार ६१ वटा, माघमा ४६ हजार ६९ वटा, पुसमा ४८ हजार १५६, मंसिरमा ४३ हजार ३७९, कात्तिकमा ३३ हजार ५१४, असोजमा ३० हजार ५२७, भदौमा ३२ हजार ७९८ र साउनमा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए ।

चालु आर्थिक वर्षको १० महिनामा देशभर कुल ४ लाख २६ हजार ५९४ वटा घरजग्गा किनबेच भएको छ । यद्यपि, गत आवको सोही अवधिमा पनि ४ लाख २९ हजार बढी घरजग्गा किनबेच भएको देखिन्छ ।

कारोबारसँगै राजश्व पनि वृद्धि भएको छ । अघिल्लो वर्षको बैशाखमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, यो गत बैशाखसम्म भने ११.३४ प्रतिशत वृद्धि भई ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार रुपैयाँ राजश्व उठेको छ । चालु आर्थिक वर्षको १० महिनाा भने ३७ अर्ब ७६ करोड ६७ लाख १७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको तुलनामा भने १४.२४ प्रतिशत बढी हो । गत आवको साउनदेखि बैशाखसम्म ३३ अर्ब ५ करोड ७४ लाख ८५ हजार रुपैयाँ राजश्व उठेको थियो ।

हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको छ । ब्याजदर एकल अंकमा झरेको छ, जसले आवास कर्जालाई सहज बनाएको छ । केही बैंकहरूले घरजग्गा कर्जाका लागि सस्तो ब्याजदरका विशेष स्किमसमेत ल्याएका छन् । यी लगायत धेरै विषयहरुले पनि घरजग्गा कारोबार बढाउन थप टेवा पुगेको छ ।

यता, सडक, विद्युत्, खानेपानीलगायत आधारभूत पूर्वाधार विस्तार भएकाले विभिन्न क्षेत्रको जग्गा आकर्षक बनेको छ । नयाँ सहरी क्षेत्रहरूमा समेत माग वृद्धिका संकेत देखिन थालेका छन् ।

अर्को तर्फ, सरकारले बजेट तथा नीति कार्यक्रममार्फत रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन थुप्रै नीतिगत लचकता अपनाएको छ । मालपोत प्रणालीको डिजिटलीकरण, नक्सा प्रमाणीकरणको सजिलो प्रक्रिया र लगानीमैत्री कानुनी सुधारका प्रयासले पनि समग्र कारोबारलाई सकरात्मक दिशामा अगाडि बढाउने व्यवसायीहरुको अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्