घरजग्गा कारोबार गर्न अब व्यावसायिक लाइसेन्स, नयाँ कानुनी संरचनाको तयारी

काठमाडौं । अबदेखि घरजग्गा कारोबार गर्न व्यावसायिक लाइसेन्स अनिवार्य हुने भएको छ ।
सरकारले आगामी ६ महिनाभित्र घरजग्गा कारोबार गर्न अनिवार्य व्यवसायिक लाइसेन्सको व्यवस्था लागू गर्ने तयारी थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यस्तो विषय समेटिएको छ । पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्न यस्तो योजना अघि सारिएको हो ।
कार्ययोजना अनुसार अब कुनै पनि व्यक्तिले व्यवसायिक अनुमति बिना घरजग्गा किनबेच गर्न पाउने छैनन् । यो नियम लागू गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जिम्मा दिइएको छ । अनुगमन र सहजीकरण भने प्रधानमन्त्रीको कार्यालयले गर्नेछ ।
साथै, अपार्टमेन्ट स्वामित्वबारे पनि कानुन बन्ने भएको छ । अपार्टमेन्ट खरिदकर्ताहरूको स्वामित्वबारे धेरै समयदेखि चलिरहेको अन्योल पनि दुई वर्षभित्र समाधान गर्ने लक्ष्य लिइएको छ ।
विशेषगरी एउटै भवनभित्र रहेका एक भन्दा बढी आवास इकाइका स्वामित्व र अधिकार सुनिश्चित गर्न भूमि व्यवस्था र सहकारी विकास मन्त्रालयलाई कानुन निर्माणको जिम्मेवारी दिइएको छ ।
भू–उपयोग ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन हुने भएको छ । नियमावलीको कार्यान्वयन पनि आगामी ६ महिनाभित्र सम्पन्न गरिनेछ । यसका लागि आवश्यक बजेटको व्यवस्था गर्दै संघ, प्रदेश र स्थानीय तहका निकायको कार्यक्षमता अभिवृद्धि गरिने कार्ययोजनामा उल्लेख छ ।
यस्तै घरकर्जा निश्चित अवधिसम्म स्थिर ब्याजदरमा उपलब्ध हुने भएको छ । घरकर्जाको ब्याजदर अस्थिर रहेको भन्दै यस्तो नीति अघि सारिएको हो ।
स्थिर आय भएका व्यक्तिहरूले लिने पहिलो घरकर्जा निश्चित अवधिसम्म स्थिर ब्याजदरमा उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्नेछ । जसबाट निश्चित अवधिसम्म ब्याजदर स्थिर भएको हुने १ वर्षभित्र कर्जा र निक्षेपको ब्याजदर अन्तर कम भएको हुने आशा गरिएको छ ।
सर्वसाधारणले भोग्दै आएको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले निश्चित अवधिसम्म स्थिर ब्याजदरमै कर्जा उपलब्ध हुने नीति बनाउने कार्ययोजनामा छ । घरजग्गा बजारलाई व्यवस्थित गर्नुका साथै सर्वसाधारणको लगानी सुरक्षामा समेत टेवा पुग्ने अपेक्षा छ । घर खरिद गर्न चाहने ग्राहकलाई भविष्यको आर्थिक योजना बनाउन सहज हुने विश्वास लिइएको छ ।