गभर्नर पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
शुक्रबार अधिवक्ताहरू अनन्तराज लुइँटेल र विशाल थापाले लगायतले निवेदन पेस गरेका हुन् ।
पौडेलको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक अनुभवको अभाव, तथा राष्ट्र बैंक ऐनअनुसार शैक्षिक योग्यता नपुगेको जस्ता आधार उल्लेख गरिएको छ ।
साथै, उनी आफैँ गभर्नर सिफारिस समितिमा रहेका बेला नै राजीनामा दिएर प्रतिस्पर्धा नगरी नियुक्त हुनु प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण रहेको दाबी गरिएको छ ।
निवेदन पेस भएपनि सर्वोच्च अदालत प्रशासनले हालसम्म दर्ता भने गरेको छैन । अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार निवेदन पेस भइसके पनि दर्ता नभएको हो । पेस भएको निवेदनलाई अध्ययन गरी दर्ता गर्ने–नगर्ने निर्णय प्रक्रिया अगाडि बढ्ने कुइँकेलले बताए । प्रशासनले त्यसबारे आवश्यक जाँच गरिरहेको उनको भनाई छ ।
यसअघि पनि डा. पौडेलको नियुक्ति रोक्न माग गर्दै अदालतमा निवेदन पेस गरिएको थियो, जुन दरपिठ भएको थियो । दरपिठविरुद्ध पेश भएको निवेदन इजलासमा पुगे पनि न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ ६ गते दरपिठ निर्णयलाई सदर गरिसकेको छ ।
डा. पौडेल जेठ ६ गते मन्त्रिपरिषद् बैठकबाट गभर्नरमा नियुक्त भई कार्यभार सम्हालिसकेका छन् ।