ऋणमै अडिएको अर्थतन्त्र : खर्च धान्न सरकारले उठायो ४ खर्ब ऋण, ब्याज भुक्तानीमै गयो ३ खर्ब ८ अर्ब

काठमाडौं । नेपालको अर्थतन्त्र ऋणको साहारामा टिकिरहेको छ । पछिल्ला वर्षहरूमा विकास योजनादेखि प्रशासनिक खर्चसम्म धान्न सरकार पटक–पटक ऋणको साहारा लिएको छ ।
तर, ऋण लिने क्रमजति तीव्र छ, त्यसको साँवा–ब्याज तिर्ने चाप पनि झनै बढ्दो छ । चालु आर्थिक वर्ष २०८१-८२ मा पनि यो प्रवृत्ति दोहोरिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालसालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको विवरणले यस्तो देखाएको छ ।
सरकारले १० महिनाको अवधिमा ४ खर्ब रुपैयाँ बराबरको ऋण उठाएको छ । गत साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा सरकारले ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण लिएको हो । तर, सोही अवधिमा सरकारले ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च गरेको देखिन्छ ।
आर्थिक वर्षको सुरुमा मुलुकको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । वैशाख मसान्तसम्ममा एक खर्ब ८८ अर्ब ३० करोड थपिएको छ । योसँगै हाल कुल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यो कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.९४ प्रतिशत बराबर हो ।

कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यो जीडीपीको आधारमा २३.७६ प्रतिशत हुन् । यता, आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यो जीडीपीको २२.२० प्रतिशत हुन आउँछ ।
वैशाख महिनामा सरकारको ऋण प्राप्तिभन्दा ऋण भुक्तानी (साँवा) बढी भएकाले कुल ऋण दायित्व अघिल्लो महिनाको तुलनामा केही घटेको देखिएको छ । चैत मसान्तसम्ममा कूल ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ थियो ।
लक्ष्य अनुसार आन्तरिक ऋण उठ्यो, बाह्य ऋणमा भने सुस्तता
सरकारले चालु आर्थिक वर्षमा उठाउने भनेको आन्तरिक ऋण लक्ष्य अनुसार नै देखिएको छ । सरकारले चालु वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो ।
वैशाख मसान्तसम्ममा आइपुग्दा ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ, जुन लक्ष्यको ७१.४५ प्रतिशत हो । अब १ खर्ब ५६ अर्ब १६ लाख रुपैयाँ प्राप्ति गर्न बाँकी छ । त्यसमध्ये, आन्तरिक ऋणको संकलन दर ९१.२५ प्रतिशत रहेको छ । सरकारले राखेको ३ खर्ब ३० अर्ब रुपैयाँको लक्ष्यमध्ये ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँ उठाइसकेको छ । अब २८ अर्ब ८५ करोड रुपैयाँ मात्र संकलन गर्न बाँकी छ ।

तर, बाह्य ऋण संकलनको गति सुस्त देखिएको छ । बाह्य तर्फ सरकारले चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्बको वार्षिक लक्ष्य राखेको छ । तर, हालसम्म ८९ अर्ब ६८ करोड रुपैयाँ मात्र उठाइएको छ । यो लक्ष्यको ४१.३३ प्रतिशत प्रगति मात्र हो ।
अहिलेसम्म उठेको कूल ऋणमा ७७.०५ प्रतिशत आन्तरिक र २२.९५ प्रतिशत बाह्य स्रोतबाट जुटाइएको हो ।
सरकारले चालु वर्षको बजेटमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ छुट्याएको थियो । वैशाख मसान्तसम्ममा त्यसको ७६.४९ प्रतिशत खर्च भइसकेको छ । सो अवधिमा कुल ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ । यो खर्च कूल गार्हस्थ्य उत्पादनको ५.०५ प्रतिशत हुन आउँछ ।