गभर्नर पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता, सुनुवाइ कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।
अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा लगायतले रिट दायर गरेका हुन् । रिटमा पौडेलको नियुक्ति प्रक्रिया संविधान, सुशासन र कानुनी मापदण्डविपरीत भएको दाबी गरिएको छ ।
पौडेलको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक अनुभवको अभाव, तथा राष्ट्र बैंक ऐनअनुसार शैक्षिक योग्यता नपुगेको जस्ता आधार उल्लेख गरिएको छ ।
रिटमा पूर्व सिफारिस समिति सदस्यले राजीनामा दिएर आफूलाई नै अगाडि सारेको शैलीलाई नीहित स्वार्थको संज्ञा दिँदै गम्भीर आपत्ति जनाइएको छ ।
साथै, मुद्दा टुंगिनुअघि गभर्नरको हैसियतमा नोटमा हस्ताक्षर गर्ने लगायतका कुनै पनि दूरगामी निर्णय नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।
यसअघि पनि पौडेलको नियुक्तिमा प्रश्न उठाउँदै रिट पेस गरिएको थियो, जसलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
तर, यसपटक रिट दर्ता भई बुधवारका लागि पेसी तोकिएको छ ।
डा. पौडेल जेठ ६ गते मन्त्रिपरिषद् बैठकबाट गभर्नरमा नियुक्त भई कार्यभार सम्हालिसकेका छन् ।