सेयर धितो कर्जाको जोखिमभार घट्यो, अब ५० लाखभन्दा माथि पनि १०० प्रतिशत मात्र « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

सेयर धितो कर्जाको जोखिमभार घट्यो, अब ५० लाखभन्दा माथि पनि १०० प्रतिशत मात्र



काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ल्याइएको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै एकीकृत निर्देशनमा संशोधन गरेको छ ।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत मात्र कायम गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार कर्जाको रकम ५० लाख रुपैयाँभन्दा कम वा बढी भएको जुनसुकै अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरूले त्यस कर्जालाई १०० प्रतिशत जोखिमभारमा मात्र समावेश गर्नुपर्नेछ ।

यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिमभार लाग्दथ्यो भने सोभन्दा माथिका कर्जामा १२५ प्रतिशतसम्म जोखिमभार तोकिएको थियो । तर,अब उक्त उच्च जोखिमभार घटाएर समानरूपमा १०० प्रतिशतमा झारिएको छ । यसले बैंकहरूका लागि पूँजी पर्याप्तताको हिसाबले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

अनिवार्य मौज्दातमा कडाइ, अब ९० प्रतिशत दैनिक कायम गर्नैपर्ने

यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य मौज्दातको न्यूनतम दैनिक अनुपालत दर पनि बढाएको छ ।

अबदेखि वित्तीय संस्थाहरूले अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत भाग दैनिक रूपमा कायम गर्नैपर्नेछ । यसअघि यो सीमा ७० प्रतिशत मात्र थियो । जेठ १८ गतेदेखि लागू हुने गरि बैंक तथा वित्तीय संस्थाहरुले कूल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्नेछ।

नयाँ व्यवस्था अनुसार बैंकहरूले आफ्नो तरलता व्यवस्थापनमा अझ बढी सजग हुनुपर्नेछ, जसले वित्तीय स्थायित्वलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्