आज आउँदै अर्थतन्त्रको ‘रोडम्याप’, नयाँ बजेटमा के-के समेटिएला ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

आज आउँदै अर्थतन्त्रको ‘रोडम्याप’, नयाँ बजेटमा के-के समेटिएला ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट आज सार्वजनिक गर्दैछ ।

नेपालको संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित भइसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकताहरूलाई कार्यान्वयनमा लैजान आवश्यक स्रोत र योजनाको खाका बजेटमार्फत सार्वजनिक गरिँदैछ ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री पौडेलले आज दिउँसो १ः३० बजे आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण संसदमा पेस गर्ने छन् । त्यसपछि दिउँसो १ः४५ बजे आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसपछि दिउँसो ३ बजे बजेट प्रस्तुत गरिनेछ ।

बजेटप्रति सर्वसाधारणदेखि निजी क्षेत्र, लगानीकर्ता, अर्थशास्त्री र विकास साझेदारहरूबीच चासो बढेको छ । आर्थिक वृद्धि, रोजगारी सिर्जना, महँगी नियन्त्रण, सामाजिक सुरक्षा, उत्पादनशील क्षेत्रको प्रवद्र्धन, संघीयता कार्यान्वयन र कर सुधार जस्ता विषय बजेटको मूल एजेण्डा बन्न सक्ने अपेक्षा गरिएको छ ।

महँगीको मार, राजस्व संकलनको लक्ष्य, वैदेशिक ऋणको व्यवस्थापन र सार्वजनिक खर्चको प्रभावकारिता सुधार गर्नुपर्ने चुनौतीबीच प्रस्तुत हुन लागेको बजेटले देशको आर्थिक नीति कुन दिशा लिन्छ भन्नेमा चासो चुलिएको छ । अर्थतन्त्रलाई गति दिने खालका कार्यक्रम, कमजोर क्षेत्रलाई सम्बोधन गर्ने उपाय र नागरिकको जीवनस्तरमा सकारात्मक असर पार्ने कार्ययोजना समेटिएला भन्ने आशा गरिएको छ ।

बजेटमार्फत सरकारको आर्थिक दृष्टिकोण, प्राथमिकता र प्रतिबद्धता स्पष्ट हुने भएकाले आजको बजेट प्रस्तुतिलाई अर्थतन्त्रको रोडम्यापको रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्