बजेटको नयाँ भन्सार नीति : अब कुन वस्तुको मूल्य बढ्छ, कसको घट्छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न आयात वस्तुहरूमा लाग्दै आएको भन्सार दरमा हेरफेर गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उपभोग्य, कृषि, मदिरा र कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क पुनरावलोकन गरिएको जानकारी गराएका हुन् ।
सरकारले उपभोग्य खाद्य सामग्रीमा भन्सार दर घटाउने निर्णय गरेको छ भने विलासी तथा मदिराजन्य वस्तुहरूमा शुल्क वृद्धि गरेर आयात सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।
सरकारको यस निर्णयले खाद्य र सामान्य उपभोग्य वस्तुको मूल्यमा केही सहजता ल्याउने अनुमान गरिएको छ । विलासी वस्तुहरूमा नियन्त्रण ल्याउने उद्देश्य लिइएको देखिन्छ । साथै, आन्तरिक राजस्व सन्तुलन र आयात व्यवस्थापनतर्फ पनि बजेटले स्पष्ट सन्देश दिएको अर्थमन्त्रीले पौडेलले बताए ।
योसँगै अब किसमिस, चुकन्दरको चिनी, सख्खर र खुँदोजन्य पर्दाहरु सस्तो हुनेछन् । सार्क मुलुकबाट आयात हुने किसमिसमा भन्सार दर ७.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाइएको छ ।
यस्तै, अन्य मुलुकबाट ल्याइने किसमिसमा लाग्ने दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । यसले आगामी दिन भाउ सस्तो पार्नेछ । यता, सार्कबाहेक मुलुकबाट आयात हुने चुकन्दरको चिनीमा लाग्ने ३० प्रतिशत भन्सार घटाएर १५ प्रतिशतमा झारिएको छ । सार्क मुलुकबाटको दर भने ६ प्रतिशत यथावत राखिएको छ ।
यस्तै, सख्खर र खुँदोजन्य पदार्थहरूको आयातमा लाग्दै आएको ३० प्रतिशत भन्सार दर घटाएर १५ प्रतिशत बनाइएको छ ।
महँगो हुने वस्तुहरू
करको दर हेरफेरसँगै अब बियर, ब्रान्डी, ह्विस्की लगायतका वस्तुहरु महँगो हुने भएको छ । बियर (माल्टबाट बनेको) यसअघि प्रतिलिटर २ सय रुपैयाँ भन्सार लाग्दै आएकोमा अब मूल्यको ८० प्रतिशतको दरले भन्सार निर्धारण गरिनेछ ।
यस्तै, हाल प्रतिलिटर २ हजार रुपैयाँ भन्सार लाग्दै आएको ब्रान्डीमा अब १०० प्रतिशत भन्सार दर लागु हुनेछ ।
ह्विस्की बनाउन प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क प्रतिलिटर १,५०० रुपैयाँबाट बढाएर मूल्यको ८० प्रतिशत बनाइएको छ भने स्पिरिट प्रतिलिटर ६० रुपैयाँको ३० प्रतिशत भन्सार दर कायम गरिएको छ ।
तर, बजेट मार्फत विभिन्न मुलुकबाट आयात हुने बोधिचित्त दानामा हाल लाग्दै आएको ६ प्रतिशत भन्सार यथावत छ । यस्तै, अन्य मुलुकबाट आयात हुँदा लाग्ने १० प्रतिशत दर पनि यथास्थानमै छ ।