गणतन्त्र पछि कति फेरियो नेपाली अर्थतन्त्रको चित्र ?

काठमाडौँ । २०६५ जेठ १५ गते गणतन्त्र घोषणा हुँदा नेपालको अर्थतन्त्र अहिलेको हालतमा थिएन । २०५७ सालपछि द्वन्द्वका कारण विस्थापितहरुले शहरी क्षेत्र भरिन थालेको थियो । तर गाउँ रित्तिएको थिएन ।
मानिसहरु गाउँमै बस्थे । लेखपढ गर्थे । गाउँका ज्यादा घरहरुमा खर, पराल र छ्वालीको छानो हुन्थे । हरेक घरका गोठमा गाईवस्तु भरिभराउ हुन्थे ।
भर्खरै मान्छेहरु विदेश जान थालेका थिए । वैदेशिक रोजगारीमा । त्यसताका धेरै मानिस मलेसिया जान्थे । युवा पुस्ताको सपना भनेको सकेसम्म काठमाडौँ, नभए नजिकको शहरमा बसोबास गर्ने थियो । रोजगारी खोज्ने र कृषि बाहेकको क्षेत्रबाट आम्दानी गर्ने मुख्य चासो एवम् चिन्ता रहन्थ्यो ।
युरोप, अमेरिका र अस्ट्रेलिया त ज्यादै कम मान्छेको सपनामात्रै हुन्थ्यो । बहुसंख्यक नवयुवाहरु त्यति टाढाको गन्तव्य सोच्दैन थिए ।
मोबाइल फोन त २०६३ सालको सुरुमा लोकतन्त्र स्थापना पश्चात् नै आएको थियो । तर इन्टरनेट चलाउन साइबर जानुपर्ने बाध्यता थियो । त्यसताका विदेशमा रहेका आफ्ना आफन्तसँग कुराकानी गर्न नेपालीहरु ज्यादातर ‘स्काइप’ चलाउँथे ।
साइबरमा गएर इन्टरनेटमा कुरा गर्ने प्रचलन थियो । त्यसलाई ‘नेट कल’ भनिन्थ्यो । देशभरका मानिसहरु काठमाडौँमा उच्चशिक्षा र रोजगारीका लागि आएका हुन्थे । उनीहरुले चामल र तरकारी घरबाटै ओसार्थे । गाउँगाउँमा ‘हाइब्रिड’ धान भर्खर भित्रिएको थियो ।
एउटामात्रै बिऊ रोप्नुपर्ने भएकाले किसानहरु सबै खाले हाइब्रिड बिऊलाई ‘एक्ले धान’ भन्थे । त्यो धानले मल (युरिया) अलि बढी नै खान्थ्यो । उब्जनी पनि पुराना स्थानीय जातको तुलनामा दोब्बर वा त्योभन्दा पनि बढी हुन थालेको थियो ।
त्यसैले गाउँमै पनि खेत हुने किसानको परिवारले ढिँडो छाडेर भात खान थालेका थिए ।
त्यो जुग अर्कै थियो । अहिलेजस्तो गाउँगाउँमा सडक, पक्कि पुलहरु त पुगेको थिएन नै, झोलुंगे पुलको पनि असाध्यै अभाव थियो । मानिसहरु बर्खामा खोलो तर्दा वर्षेनी बगाएर मर्थे । असारमा खोलो बढेपछि असोजसम्मै लामो यात्रा र ठप्पप्रायः हुन्थ्यो ।
यस्ता परिस्थितिमात्रै होइन, त्यस बखत देशको अर्थतन्त्र र यसका सूचकहरु पनि उत्तिकै कमजोर थिए ।
अहिले पनि हामीलाई विकास पुगेको छैन । तर गाउँमा बढ्दो विकासको उपयोग गर्ने मानिस अहिले छैन । हामी एक शताब्दी अघि नै विकसित भएका पश्चिमा सम्भ्रान्त अर्थतन्त्रलाई आफ्नो देशसँग तुलना गर्छौँ ।
त्यही हेरेर यहाँका राजनीतिक नेतृत्व र नीति निर्मातालाई गालीगलोज गरिरहेको हुन्छौँ । तर गणतन्त्रपछिका १५–१६ वर्षमा यो देशले रूप–रङ्ग बदलिसकेको छ । अहिले मानिसहरुको आर्थिक, सामाजिक धरातल बदलिएको छ । विकासका पूर्वाधारमा पहूँच असाधारण रफ्तारमा बढेको छ ।
इतिहासको निम्ति १५ वर्ष कुनै लामो कालखण्ड होइन । तर यसबीच नेपालको वस्तुस्थिति र आर्थिक सूचकहरु दुबैमा भव्य बदलाव देखिन्छ ।
वितेको डेढ दशकमा यो देशको अर्थतन्त्र ७ गुणा ठूलो भएको छ । अर्थात् २०६५ सालमा गणतन्त्र स्थापना हुँदा देशको अर्थव्यवस्थाको आकार जति थियो, त्यस्ता अरु ६ वटा अर्थतन्त्र यसबीचमा थपिएको छ । अमेरिकी डलरसँग तुलना गर्ने हो भने चाहीँ पहिलेजस्ता ३ वटा अर्थतन्त्र थपिएको देखिन्छ ।
मानिसहरुको खर्चयोग्य आम्दानी पनि ७ गुणा बढी भएको छ । प्रतिव्यक्ति आय करीब साढे ६ गुणा (डलरको अनुपातमा ३ गुणा) बढेको छ । नेपालीले विदेशमा श्रम गरेर पठाउने रेमिट्यान्स (विप्रेषण) १० गुणाभन्दा धेरै भएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को अंकलाई हेर्ने हो भने पनि सरकारी बजेटको आकार साढे १० गुणा बढिसकेको छ । विहीबार प्रस्तुत आगामी आर्थिक वर्षको बजेट आकारसँग दाँज्ने हो भने त साढे ११ गुणाभन्दा पनि बढी भइसकेको छ ।
सरकारी राजस्व २०८०÷८१ मै १० गुणाभन्दा धेरै उठिसकेको छ । विदेशी अनुदान खासै बढ्न नसकेपनि विदेशी ऋण झण्डै १४ गुणा पुगेको छ । आन्तरिक ऋण पनि साढे ११ गुणा बढेको छ । तर तिर्नबाँकी सार्वजनिक ऋण एक वर्ष अघिसम्म ७ गुणाभन्दा कममात्रै बढेको छ ।
वित्तीय प्रणालीमा कर्जा तथा निक्षेपको आकार १५ गुणाभन्दा ज्यादा भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा पनि वित्तीय प्रणालीको कारोबार डेढ दशक अघिको तुलनामा दोब्बर बढेको छ । गणतन्त्र आउँदा जीडीपीको ५१ प्रतिशत निक्षेप र ४१ प्रतिशत कर्जा थियो । गत साल नै यो आँकडा ११३ प्रतिशत र ९१ प्रतिशत पुगिसकेको छ ।
गणतन्त्र घोषणा भएको साल र पोहोर सालको अर्थतन्त्रका सूचकहरु (रकम रू. लाखमा) :
