घरजग्गा खरिद-बिक्रीमा अब बैंक स्टेटमेन्ट नचाहिने, हट्यो केवाईसीको व्यवस्था

काठमाडौं । नेपालमा घरजग्गा कारोबारका गरिएको केही व्यवस्थामा हेरफेर गरिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आताङ्कवादी क्रियाकलाप वित्तीय लगानी निवरण सम्वन्धमा जारी गरिएको निर्देशन, २०८२’ को पहिलो संशोधन गरेको हो ।
घरजग्गा कारोबारलाई थप सरल र पारदर्शी बनाउन संशोधन गरिएको हो ।
संशोधन व्यवस्था अनुसार अब घरजग्गा खरिद–बिक्री गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरिएको छैन् ।
यसअघि गत मंगलबार (जेठ २० ) जारी गरिएको निर्देशनमा बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । तर, एक साता नहुँदै विभागले यस्तो व्यवस्था संशोधन गरेको हो ।
यस्तै, केवाईसी फारामको अनिवार्यता हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता र एजेन्ट कम्पनीका सञ्चालकले केवाईसी फाराम भर्नुपर्ने व्यवस्था हटाइएको विभागले जनाएको छ ।
यसअघि बैनाबट्टाको कारोबार गर्दा बैंक स्टेटमेन्ट अनिवार्य थियो । विभागका अनुसार बैनाबट्टाको कारोबारमा बैंक स्टेटमेन्टको अनिवर्या आवश्यकता हटाइएको छ ।
यसअघि १० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
त्यस्तै ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
तर, १० लाख रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्दा भुक्तानी बैंकिङ उपकरणमार्फत गरिएको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका कारोबारमा गुड फर पेमेन्ट चेक, बैंक ग्यारेन्टी, ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी तीन करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको थियो । यसलाई पनि संशोधन गरिएको छ । हाल यस्तो सीमालाई तीन करोडबाट एक करोडमा झारिएको छ ।
1749358343संशोधित-निर्देशन