के नेपाली अर्थतन्त्र सुधारको मार्गमा अघि बढिरहेको छ ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

के नेपाली अर्थतन्त्र सुधारको मार्गमा अघि बढिरहेको छ ?



काठमाडौं । नेपाली अर्थतन्त्र सुधारको मार्गमा अग्रसर देखिन्छ । मौद्रिक र वित्तीय सूचकहरू सन्तुलनतर्फ उन्मुख छन् ।

विशेषगरि नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको मुलुकको वर्तमान वित्तीय स्थिति सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।

लामो समयदेखि मन्दी र अस्थिरताले ग्रस्त नेपाली अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । विगत केही वर्षदेखि मन्दी, महँगी र असन्तुलनको चपेटामा परेको अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिन थालेका छन् ।

राष्ट्र बैंकका अनुसार अहिले मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ । मूल्य स्थिरता उपभोक्ताको क्रयशक्तिमा सुधार ल्याउने प्रमुख संकेतक हो । यो स्थितिले बजारमा स्थायित्व र उपभोगको वातावरण सिर्जना गर्न मद्दत गर्छ । बैशाखको उपभोक्ता मूल्य सूचकांक (मुद्रास्फीति) वाञ्छित सीमा भित्रै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति साढे ५ प्रतिशत भित्रै सीमित राख्ने लक्ष्य लिएको छ । समग्र मुद्रास्फीतिको दर लक्ष्यअनुसार रहनुले अर्थतन्त्रका लागि सकारात्मक संकेत दिएको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको छ । यसले नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको संकेत गर्छ । यस्तै, नेपालमा विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशत वृद्धि भएको छ । गत बैशाख मसान्तसम्म आइपुग्दो यस्तो सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सो सञ्चिति १८ अर्ब ४० करोड रहेको छ ।

यता, राष्ट्र बैंकको सञ्चिति २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ सञ्चिति देखिएको छ । यो सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

पछिल्लो समय नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । गत साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा आइपुग्दा निर्यात ७२.७ प्रतिशत वृद्धि भएको छ भने आयात पनि १३.१ प्रतिशत बढेको छ ।

नेपालले १० महिनामा कुल २ खर्ब १७ अर्ब ९१ करोड बराबरको वस्तु निर्यात गरेको छ । भारततर्फको निर्यात १०४.७ प्रतिशत, चीनतर्फ ५.१ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ४.२ प्रतिशत बढेको छ । समिक्षा अवधिमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना आदिको निर्यात उल्लेख्य रूपले बढेको छ । तर, पाम तेल, जुश, तयारी पोशाक, अलैंची लगायतको निर्यात घटेको छ ।

केन्द्रिय बैंक १० महिनामा कुल १४ खर्ब ७४ अर्ब १९ करोड बराबरको वस्तु आयात भएको छ । चीनबाटको आयात १५.१ प्रतिशत र अन्य मुलुकबाटको आयात २८.३ प्रतिशत बढेको भए पनि भारतबाटको आयात ७.९ प्रतिशत घटेको छ ।
भटमासको कच्चा तेल, चामल, खाने तेल, सवारी साधन, स्पन्ज आइरनजस्ता वस्तुको आयात बढेको छ भने पेट्रोलियम, सुन, मल, विद्युत उपकरणजस्ता वस्तुको आयातमा कमी आएको छ । प्रमुख नाकाबाट आयातमा वृद्धि देखिएको छ ।

यद्यपि निर्यात र आयात दुबै बढेपनि व्यापार घाटा अझै उच्च छ । समिक्षा अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ ।

नेपाल भित्रने रेमिट्यान्सको वृद्धिदर उच्च नै छ । समिक्षा अवधिमा रेमिट्यान्स १३.२ प्रतिशत बढेको छ । विप्रेषणले उपभोग तथा आयातमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा यसमा देखिएको वृद्धिले आन्तरिक माग सुदृढ हुँदै गएको संकेत देखिन्छ । चालु आकको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत चैतसम्म भने ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसले देशको उपभोग मात्रै नभई स्थानीय लगानी र उत्पादनमा समेत सकारात्मक असर पारेको देखिएको छ । विशेषतः कृषिमा यान्त्रीकरण, लघु उद्यम प्रवद्र्धन र पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिन्छ ।

यस्तै, सरकारी खर्च पनि बैशाखसम्म ११ खर्ब ५७ अर्ब ८९ करोड पुगेको छ भने राजस्व संकलन ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ सीमित छ । खर्च र आम्दानीबीचको अन्तर अझै कायमै भए पनि राजस्व संकलन दरमा सुधार देखिन थालेको छ, जसले वित्तीय अनुशासनमा सुधारको सम्भावना देखाउँछ ।

नेपालमा मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरूमा सुधार देखिएको छ । आन्तरिक ऋण, निक्षेप र कर्जा प्रवाहमा वृद्धि भएको छ भने ब्याजदर घटेको छ । यता, आन्तरिक ऋण २.१ प्रतिशत बढेको छ भने वार्षिक बिन्दुगत रूपमा ५.४ प्रतिशत वृद्धि देखिएको छ । सोही अवधिमा सरकारमाथिको मौद्रिक क्षेत्रको खुद दाबी २४.१ प्रतिशत घटेको छ ।

निक्षेप र कर्जामा उल्लेखनीय वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६.२ प्रतिशत वृद्धि भई ३ खर्ब ९९ अर्ब ८१ करोड पुगेको छ । समिक्षा अवधिमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह ७.३ प्रतिशत वृद्धि भई ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

ब्याजदरमा पनि उल्लेखनीय गिरावट आएको छ । वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर घटेर ४.३७ प्रतिशत कायम भएको छ । यता, कर्जाको औसत ब्याजदर ८.११ प्रतिशत कायम भएको छ । ब्याजदर घटेसँगै कर्जा प्रवाहमा सहजता आएको देखिन्छ । यसले निजी क्षेत्रको लगानी तथा आर्थिक गतिविधिमा सकारात्मक संकेत दिएको छ ।

विस्तारै नेपाली अर्थतन्त्र स्थायीतर्फ उन्मुख भएको देखिन्छ । मौद्रिक स्थिरता, वैदेशिक क्षेत्रमा सुदृढीकरण र वित्तीय प्रणालीको सन्तुलनले अर्थतन्त्र सुधारोन्मुख छ । यद्यपि, उत्पादनमूलक क्षेत्रको सुदृढीकरण, निजी लगानीको प्रोत्साहन र नीति स्थायित्व कायम गर्नुपर्ने विज्ञहरु बताउँछन् । यसले दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित गर्ने उनीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्