असार महिनाका लागि नयाँ ब्याजदर : अधिकांश बैंकको यथावत, पाँच वटाले घटाए, कसले कति तोके ?

काठमाडौं । वाणिज्य बैंकरुको ब्याजदर निरन्तर घटी रहेको छ । बैंकहरुले असार महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।
असार महिनामा बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दु घटेर ५.९०२ प्रतिशत कायम भएको छ । जबकि, जेठ महिनामा भने बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औषत ५.९५२ प्रतिशत ब्याज दिएका थिए ।
अधिकांश बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, असारमा भने पाँच वटा बैंकले भने घटाएका छन् ।
असार महिनामा लागू हुने गरि बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार एभरेष्ट, कृषि विकास, एनएमबि, कुमारी, एनआइसी एशिया बैंकले घटाएका हुन् ।
एभरेष्ट बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेप तर्फ ६.५५ प्रतिशत र संस्थागत तर्फ ५.६४ प्रतिशत ब्याज दिने भएको छ । एभरेष्टले जेठ महिनामा व्यक्तिगतमा ६.६४ प्रतिशत र संस्थागतमा ५.६५ प्रतिशत ब्याज दिएको थियो ।
कृषि विकासले व्यक्तिगत तर्फ ५.४५ प्रतिशत र संस्थागत तर्फ ४.४५ प्रतिशत ब्याज दिने भएको हो । जेठ महिनामा बैंकले व्यक्तिगत र संस्थागतमा क्रमशः ५.५१ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिएको थियो ।
यस्तै, कुमारी बैंकले व्यक्तिगतमा ५.७१ प्रतिशत र संस्थागतमा ४.५१ प्रतिशत, एनएमबिले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत र एनआइसी एशियाले व्यक्तिगतमा ६.५५ प्रतिशत र संस्थागतमा ५.५५ प्रतिशत ब्याज तोकेको छ । यो ब्याजदर जेठको तुलनामा भने कम हो ।
यी बाहेकका अन्य सबै बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असारमा नेपाल बैंकले व्यक्तिगत मुद्दित निक्षेपमा ५.५५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले व्यक्तिगत तर्फ समान ५.५ प्रतिशत ब्याजदर दिने भएका छन् । संस्थागत तर्फ भने यी बैंकहरुले क्रमशः ४.५ प्रतिशत, ४ प्रतिशत र ४.५ प्रतिशत ब्याज तोकेका छन् ।
यता, सिद्धार्थ, लक्ष्मी सनराइज र नबिल बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपमा समान ब्याज ५.७५ प्रतिशत तोकेका छन् । यी बैंकले संस्थागत मुद्दति निक्षेपमा भने क्रमशः ४.७५ प्रतिशत, ४.५ प्रतिशत र ४.०५ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यसैगरि असार महिनाका लागि ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगत तर्फ समान ब्याजदर ६ प्रतिशत तोकेका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४.२५ प्रतिशत, ४ प्रतिशत र ४ प्रतिशत ब्याजदर दिने भएका छन् ।
यस्तै, प्रभू बैंकले व्यक्तिगतमा ६.१ प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ६.२५ प्रतिशत र सानिमाले ६.३३ प्रतिशत ब्याजदर तोकेको छ । यी बैंकहरुले असारमा संस्थागत मुद्दति निक्षेप तर्फ भने क्रमशः ५प्रतिशत, ३.३५ प्रतिशत, ३ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएका छन् ।