तीन वर्षको सुस्तीपछि किन फेरी तात्दै छ घरजग्गा कारोबार ? « Arthapath.com
२ असार २०८२, सोमबार

तीन वर्षको सुस्तीपछि किन फेरी तात्दै छ घरजग्गा कारोबार ?



काठमाडौं । कुनै समय ठप्पजस्तै देखिएको नेपाली घरजग्गा बजार अहिले पुनः जागृत बन्दै गएको छ । तीन वर्षसम्म सुस्त गतिमा गुज्रेको यो क्षेत्र हाल फेरि तीव्र गतिमा अघि बढ्न थालेको छ ।

काठमाडौं उपत्यकादेखि पूर्वका सहरी बस्तीहरूसम्म निजी आवास निर्माण र भाडामा लगाइने घरहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । यसले समग्र कारोबारमा सकारात्मक ऊर्जा भरेको छ । लगानीकर्ताको आत्मविश्वास झनै बलियो बन्दै गएको छ ।

अहिले निजी आवास निर्माण र भाडामा लगाइने घरहरूको संख्यामा धमाधम वृद्धि भएको छ, जसले समग्र कारोबारलाई सकारात्मक दिशा दिएको देखिन्छ । अर्को तर्फ कित्ताकाट र जग्गा पास हुने दरमा आएको वृद्धिले बजारमा लगानीकर्ताको विश्वास बढेको संकेत मिलेको छ । साथै, निजी तथा व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदमा देखिएको चासोले पनि बजारमा गतिशीलता थपिएको छ ।

अहिले कित्ताकाट र जग्गा पासको प्रक्रिया समेत तीव्र छ । निजी तथा व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदप्रति देखिएको बढ्दो आकर्षणले बजारलाई थप गतिशील बनाएको छ । भू–उपयोग नीतिमा आएको लचकता, सस्तो कर्जा, ब्याजदरमा घट्दो ट्रेन्ड, र मालपोत प्रणालीको डिजिटलीकरणले यो वृद्धिमा थप गति ल्याएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै उपलब्ध गराएको चालु आर्थि वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार जेठ महिनामा यो वर्षकै उच्च कारोबार भएको छ । जेठ महिनामा देशभर ५६ हजार १० वटा घरजग्गा किनबेच भएको छ । यो गत बैशाखको तुलनामा ६.८४ प्रतिशत धेरै हो । गत बैशाख महिनामा देशभरका मालपोत कार्यालय मार्फत ५२ हजार ४२३ वटा घरजग्गा किनबेच भएको छ । गत चैतदेखि यता लगातार कारोबार बढेको छ । विभागका अनुसार गत चैतमा ४९ हजार ८३२ वटा घरजग्गा किनबेच भएको थियो ।

विभागका अनुसार इनरुवा, सुनसरी, मोरङ, जनकपुरधाम, झापा, सप्तरी, सिराह, सर्लाही, कैलाली, दाङ, बारा, भक्तपुर, लगायतका केही क्षेत्रमा उच्च कारोबार भएको छ । एकै महिना यी स्थानहरुमा १ हजारदेखि २ हजार हाराहारीमा घरजग्गा किनबेच भएको आँकडा छ ।

चालु आवको ११ महिनामा भने देशभर ४ लाख ८२ हजार ६०४ वटा घरजग्गा किनबेच भएको छ । यद्यपि, यो गत आवको तुलनामा भने १.७३ प्रतिशत कमी हो । गत आवको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा कुल ४ लाख ९१ हजार ११६ वटा घरजग्गा खरिदबिक्री भएको आँकडा छ ।

तर, पछिल्ला मासिक कारोबारको तथ्याङ्कले भने घरजग्गा कारोबार विस्तारै गतिशिल बन्दै गएको देखिन्छ । चालु आवको पहिलो महिना अर्थात् साउन ४३ हजार ८३५ वटा, भदौमा ३२ हजार ७९८ वटा, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६, माघमा ४६ हजार ६९ वटा र फागुनमा ४६ हजार ६१ वटा घरजग्गा किनबेच भएका छन् ।

तीन वर्षसम्म सुस्त रहेको यो क्षेत्र अब फेरि सक्रिय बन्दै गएको स्पष्ट देखिन्छ । ब्याजदर घट्नु, सहज कर्जा पहुँच, पूर्वाधारको विस्तार र सरकारले अपनाएको नीतिगत लचकताले बजारमा सुधार ल्याएको छ ।

पछिल्लो समय कारोबारसँगै त्यसवापत सरकारलाई जाने राजश्व पनि वृद्धि भएको छ । गत बैशाखको तुलनामा राजश्व पनि ४.०७ प्रतिशत वृद्धि भएकोछ । जेठमा एकै महिना ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार रुपैयाँ राजश्व उठेको छ । गत आवको जेठको तुलनामा भने राजश्व ८.९४ प्रतिशत धेरै हो ।

चालु आवको ११ महिनामा घरजग्गा कारोबारबाट सरकारले ४२ अर्ब ४९ करोड ४२ लाख ६९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । विभाग अनुसार गत बैशाखमा ४ अर्ब ५४ करोड २२ लाख, चैतमा ४ अर्ब ३९ करोड ४६ लाख, फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजश्व उठेको थियो ।

विभागका अनुसार चालु आवको पहिलो महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड २२ लाख र फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

कोरोनापछिको अनिश्चित वातावरण बिस्तारै सामान्य हुँदै गएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त हुनु, ब्याजदर एकल अंकमा झर्नु र नक्सा प्रमाणीकरण प्रक्रिया सरल हुनुले आवास कर्जा लिन सजिलो बनाएको छ ।

साथै बैंकहरूले ल्याएका विशेष सस्तो कर्जा योजनाहरू, मालपोत प्रणालीमा प्रविधिको प्रयोग र कानुनी सुधारले लगानीमैत्री वातावरण तयार गरिरहेका छन् । पूर्वाधार विस्तारका कारण नयाँ सहरी क्षेत्रहरूमा समेत घरजग्गाको माग बढ्दै गएको छ ।

नीति, पूर्वाधार र लगानीकर्ताको आत्मविश्वासमा आएको सुधारले बजारलाई दीर्घकालीन उकालोतर्फ लैजाने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्