घट्दै छ विदेशी ‘पेन्सन’, अर्थतन्त्रमा के पर्छ असर ?

काठमाडौं । नेपालीहरूले वैदेशिक रोजगारीबाट अवकाशपछि पाउने पेन्सन रकममा आधारित विदेशी मुद्रामा केही गिरावट आएको छ । पेन्सन बापत नेपाल भित्रने विदेशी मुद्रा केही घटेको देखिन्छ ।
लामो समयदेखि भारत, सिंगापुर लगायत विश्वा धेरै मुलुकको सेनादेखि अन्य सरकारी सेवा तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरी पेन्सनमा बसेका नेपालीहरूबाट विदेशी मुद्रा नियमित रूपमा नेपाल भित्रिरहे पनि यसपटक त्यो प्रवाह दोहोरो अंकले घटेको हो ।
नेपाल राष्ट्रबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि बैशाख मसान्तसम्म यस्तो शीर्षकमा ५० अर्ब ५ करोड ७५ लाख रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा भने १०.५० प्रतिशत कमी हो । गत आवको बैशाख मसान्तसम्म यस्तो शीर्षकमा ५५ अर्ब ९२ करोड ९९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।
विश्वव्यापी आर्थिक मन्दी र बेरोजगारीको दर बढ्दै जानुले नेपाली कामदारहरूको आम्दानी र त्यसको आधारमा पेन्सन कोषमा हुने योगदानमा कमी आएकाले पनि यस्तो रकम घटेको हुन सक्ने अनुमा गरिएको छ । अर्कोतर्फ विदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावले पनि नेपालमा परिणत हुने कुल रकममा असर पारेको हुने बताइन्छ ।
नेपालीहरू विशेषगरी भारतको गोर्खा रेजिमेन्ट तथा अन्य सुरक्षा निकायमा सेवा र्पुयाएर अवकाशमा बसेका हुन्छन् । ती अवकाश प्राप्त कर्मचारीहरूले मासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पेन्सन प्राप्त गर्दछन् । जुन रकम नेपाल भित्रिने गरेको छ । भारतबाट मात्रै पेन्सनका रूपमा नेपाल भित्रिने रकम ठूलो हिस्सा ओगट्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
पेन्सन शीर्षकमा भित्रिने विदेशी मुद्रा नेपालको अर्थतन्त्रमा स्थायीत्व र विदेशी मुद्रा सञ्चितिको सुदृढीकरणमा सकारात्मक भूमिका खेल्दै आएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यो रकम देशको बाह्य क्षेत्र व्यवस्थापनमा सघाउने एक महत्वपूर्ण स्रोत हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पेन्सन कोषमा योगदान र्पुयाउन थालेको इतिहास धेरै पुरानो नभए पनि पछिल्लो एक दशकमा यसले राम्रो उपस्थिति देखाएको थियो । पछिल्ला सात आर्थिक वर्षको विवरण हेर्दा मात्रै पनि नेपालमा पेन्सन शीर्षकमा भित्रिएको रकम झन्डै पाँच खर्ब रुपैयाँको हाराहारीमा पुगेको देखिन्छ ।
आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ को बैशाखसम्म नेपालमा पेन्सनमार्फत ४ खर्ब ८७ अर्ब ९५ करोड ३१ लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
गत आव २०८०/८१ मा पनि यस्तो रकम ६८ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ आएको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने ७५ अर्ब २५ करोड ७६ लाख रुपैयाँ नेपाल आएको देखिन्छ ।
यस्तै, आव २०७८/७९ मा ६१ अर्ब ९६ करोड २१ लाख, आव २०७७/७८ मा ५८ अर्ब ५९ करोड ५१ लाख, २०७६/७७ मा ५७ अर्ब ८१ करोड ८० लाख, आव २०७५/७६ मा ६१ अर्ब ५२ करोड ८१ लाख र आव २०७४/७५ मा ५४ अर्ब १५ करोड ४७ लाख रुपैयाँ भित्रिएको थियो ।