आइएमई ग्रुपको ऐतिहासिक पहल, नेपालकै पहिलो अटोमेटेड फाइबर बोर्ड उद्योग संचालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी स्रोत, कच्चा पदार्थ र सीपको अधिकतम उपयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको निर्माण सामग्री नेपालमै उत्पादन सम्भव भएको बताएका छन्।
आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बुधवार साँझ एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्योगको उद्धघाटन गरेका छन् ।
नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने उद्देश्यले डेढ अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग स्थापना गरिएको जानकारी दिए ।
‘हामीले स्वदेशमै पाइने कच्चा पदार्थ, स्थानीय स्रोत र नेपाली सीपको प्रयोगमार्फत यस्तो उद्योग स्थापना गरेका छौं, जसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव छ भन्ने सन्देश दिएको छ’ ढकालले भने ।
उनका अनुसार उद्योगको स्थापना मार्फत निर्माण क्षेत्रमा आत्मनिर्भरता बढाउने बताए । रोजगारी सिर्जना गर्ने र ठूलो मात्रामा हुने आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको ढकालको भनाई छ।
आयात घट्दा विदेशी मुद्रा बाहिरिनबाट जोगिने र समग्रमा मुलुकको अर्थतन्त्र सुदृढ हुने अध्यक्ष ढकालको विश्वास छ ।
‘देशको आर्थिक विकासका लागि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ’, ढकालले भने, ‘यस उद्योगले आत्मनिर्भर अर्थतन्त्रको दिशामा ठोस पाइला चालेको छ।’
उनले उद्योगको सफलताले निजी क्षेत्रको नेतृत्वमा स्वदेशी स्रोत र सम्भावनाको प्रयोग गर्दै देशमै उच्च गुणस्तरको उत्पादन सम्भव छ भन्ने स्पष्ट प्रमाण पेश गरेको उल्लेख गरे ।
ढकालले आगामी दिनमा पनि यस्ता उद्योगमार्फत स्वदेशी उत्पादनमा लगानी बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
आइएमई समूहले करिब डेढ अर्ब रुपैयाँको लगानीमा रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि.’ सञ्चालनमा ल्याएको छ । यो नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग हो ।
पूर्ण अटोमेटेड प्रविधिमा आधारित उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट बोर्ड उत्पादन गर्न सक्छ । ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्मका यी बोर्डहरू लचकदार, टिकाउ, अग्निप्रतिरोधी, मौसम–प्रतिरोधी र वातावरणमैत्री छन् ।
बाहिरी पर्खाल, पार्टिशन, फल्स सिलिङ, इको प्यानल, मोडुलर किचनदेखि इँटाको विकल्पमा समेत प्रयोग हुने बोर्डबाट १०–१५ दिनमै संरचना निर्माण सम्भव हुन्छ ।
आपत्कालीन पुनर्निर्माणका लागि पनि छिटो, सस्तो र प्रभावकारी समाधान हुने विश्वास गरिएको छ । हाल उद्योगमा करिब २०० जनाले रोजगारी पाएका छन् ।