महँगो मूल्यमा पनि किन तात्दैछ काठमाडौंको घरजग्गा बजार ? कहाँ कहाँ कति बिक्यो ‘घर–घडेरी’ ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

महँगो मूल्यमा पनि किन तात्दैछ काठमाडौंको घरजग्गा बजार ? कहाँ कहाँ कति बिक्यो ‘घर–घडेरी’ ?



काठमाडौं । तीन वर्षको कठिन आर्थिक मन्दी र महामारीको चुनौतीपछि घरजग्गा बजारमा नयाँ उत्साह र गतिशीलता देखिन थालेको छ । अहिले काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरी बस्तीहरूमा घरजग्गाको कारोबारमा बढोत्तरी देखिएको हो ।

यसले सम्पूर्ण क्षेत्रमा सकारात्मक उर्जा भरेको छ भने लगानीकर्ताहरूको विश्वास पनि बलियो बनाएको छ । व्यापारिक र व्यक्तिगत प्रयोजनका लागि घर र जग्गाको माग बढ्न थालेको छ, जसको परिणामस्वरूप महँगो मूल्यका घरजग्गा बिक्री र खरिदको प्रक्रिया तीव्र भएको छ ।

घरजग्गाको कारोबारमा गएको केहि महिनामा निकै सुधार आएको छ । विशेषगरी काठमाडौंको मुख्य शहरी क्षेत्रहरूमा यस्तो संकेत देखिएको छ । अहिले आर्थिक मन्दी र चर्को ब्याजको असर घटेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै हुनु, कानुनी सुधार र मालपोत प्रणालीको डिजिटलीकरणले घरजग्गा कारोबारमा नयाँ उत्साह देखिन्छ ।

फलस्वरुप विभिन्न क्षेत्रका महँगो मूल्यमा घरजग्गा खरिद–बिक्री भइरहेको छ । नयाँ सहरी क्षेत्रहरूमा पनि माग बढ्दै गएको छ ।विशेषगरि काठमाडौंमा हुने यस्तो कारोबार पनि बढेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत जेठमा काठमाडौंमा २ हजार ५६१ वटा घरजग्गाका लिखत पारित भएका छन् । यो गत बैशाखको तुलनामा भने १५ प्रतिशत धेरै हो । गत बैशाखमा काठमाडौंमा कुल २ हजार २२७ वटा घरजग्गा किनबेच भएका थिए ।

काठमाडौंका मुख्य शहरी क्षेत्रहरू दरबारमार्ग, डिल्लीबजार, नक्साल, न्यूरोड, नयाँ बानेश्वर र थापाथलीमा महँगो मूल्यमा घरजग्गा खरिद–बिक्री हुने गरेको छ । यसका साथै, बालाजु बाइपास, बनस्थली, ढुंगेधारा र महाराजगञ्ज जस्ता क्षेत्रमा पनि उच्च मूल्यमा घरजग्गा कारोबार भइरहेको छ । कलंकी क्षेत्रमा खासगरी महँगो मूल्यमा घरजग्गा किनबेच हुने गर्दछ । पछिल्लो समय यी क्षेत्रहरूमा घरजग्गा कारोबारमा पनि सुधार देखिएको छ ।

काठमाडौं कार्यालय मार्फत चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा भने कुल २२ हजार ५८० वटा घरजग्गा किनबेच भएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४.९७ प्रतिशत धेरै हो । काठमाडौंमा घरजग्गा कारोबार वृद्धिदर सकरात्मक रहेको देखिन्छ । जबकि, गत आवको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा काठमाडौंमा कुल २१ हजार ७६८ वटा घरजग्गाको लिखत पारित भएका थिए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा पनि सस्तो कर्जा योजनाहरू ल्याइएका छन्, जसले आवास कर्जा लिन सजिलो बनाएको छ । साथै, ब्याजदरको निरन्तरको गिरावट र नक्सा प्रमाणीकरणको प्रक्रिया सरल भएकाले घरजग्गाको कारोबार थप गतिशील भएको छ । मालपोत प्रणालीको डिजिटलीकरण र भू–उपयोग नीतिमा आएको लचकता पनि बजारको वृद्धि कारण बनेका छन् ।

काठमाडौंका हुन कुन क्षेत्रमा भए धेरै जग्गा खरिदबिक्री ?

काठमाडौं उपत्यकामा घरजग्गा कारोबार फेरि गतिशील बन्दैछ । विशेषगरी कलंकी, चावहिल, साँखु र टोखा जस्ता क्षेत्रहरूमा खरिद–बिक्रीको चहलपहल देखिएको छ ।

विभाग अनुसार शाठमाडौंको कलंकी आसपासमा धेरै घरजग्गा खरिदबिक्री हुने गरेको छ । पछिल्लो समय यो क्षेत्र घरघडेरी खरिदबिक्रीको केन्द्र जस्तै बनेको छ ।

विभागका अनुसार चालु आवको ११ महिनामा कलंकी क्षेत्रमा ६ हजार ८४० वटा घरजग्गा किनबेच भएका छन् । गत आवको सोही अवधिमा पनि यस क्षेत्रमा ७ हजार १३ वटा घरजग्गा किनबेच भएका थिए ।

यता, चावहिल क्षेत्रमा पनि कारोबार दर बढ्दैछ । यस क्षेत्रको कारोबार वृद्धिदर ५.९८ प्रतिशत छ । गत आवको साउनदेखि जेठसम्म चावहिल आसपासका क्षेत्रमा कुल ४ हजार ६६१ वटा घरजग्गा किनबेच भएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ४ हजार ९४० पुगेको छ ।

पछिल्लो समय काठमाडौंको साँखु क्षेत्रमा पनि घरजग्गा किनबेचका लागि आकर्षण बन्दै गएको छ । साँखु क्षेत्रको कारोबार अचाल्की बढेको छ ।विभागका अनुसार चालु आवको ११ महिनामा साँखु मालपोत कार्यालय मार्फत ४ हजार १७६ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत आवको तुलनामा भने ९३.१६ प्रतिशत बढी हो । जबकि, गत आवको साउनदेखि जेठसम्म आइपुग्दा सो क्षेत्रमा २ हजार १६२ वटा मात्रै किनबेच भएका थिए ।

यता, काठमाडौंको मनमैजु क्षेत्रमा पनि ३ हजार ७७ वटा घरजग्गा किनबेच भएको विभागको तथ्याङ्क छ । यद्यपि, यो गत आवको तुलनामा भने २७.८५ प्रतिशत कमी हो ।

विभागका अनुसार काठमाडौंको सबैभन्दा महँगो मानिने डिल्लीबजार क्षेत्रमा पनि कारोबार सकरात्मक नै छ । ११ महिनामा सो क्षेत्रमा २ हजार ८४ वटा घरजग्गा किनबेच भएको छ । जबकि, गत आवको सोही अवधिमा भने २ हजार ९७ वटा लिखत पारित भएको थियो ।

यता, पछिल्लो समय टोखा क्षेत्रमा पनि कारोबार निरन्तर बढ्दो नै देखिएको छ । यस क्षेत्रमा घरजग्गा किनबेच दोहोरो अंकमा बढेको देखिन्छ । विभागका अनुसार गत आवको ११ महनिामा टोखा आसपासका क्षेत्रमा १ हजार ५७० वटा घरजग्गा किनबेच भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा १०.३८ प्रतिशत बढेर १ हजार ७३३ वटा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्